बस्नेतको खण्डकाव्य

काठमाडौँ — स्रष्टा बाबा बस्नेतको नयाँ खण्डकाव्य ‘सेतो फरिया’ सार्वजनिक गरिएको छ । राजधानीमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले खण्डकाव्य लोकार्पण गरे । कथा, उपन्यास, कविता, गीत, नाटकमा समेत कलम चलाएकी बस्नेतको यो सोर्‍हौं कृति हो ।

बस्नेतको खण्डकाव्य

कृतिमाथि टिप्पणी गर्दै समालोचक रामप्रसाद ज्ञवालीले जीवनका विविध आयामहरूको विम्ब खण्डकाव्यमा पाइने दाबी गरे ।

खण्डकाव्यमा रमाइलोसँग बाल्यकाल बिताइरहेकी ठूलीको जीवनमा उसको भाइ जन्मिएपछि आउने परिवर्तन र भाइको आगमनपछि परिवारले उनलाई गर्ने तिरस्कारको वर्णन गरिएको छ ।


त्यसैगरी विवाह पछि जँड्याहा लोग्नेसँग बस्नुपर्दाको ताडना र संघर्षका भोगाइहरू पनि खण्डकाव्यले विषय बनाएको उनले बताए । परम्परागत नेपाली समाजमा नारी चेतना सधैं दमित भएर रहनुपरेको अवस्थामा खण्डकाव्यमार्फत आफूले नारी सशक्तीकरणको आवाज उठाउन चाहेको बस्नेतले बताइन् । ‘जिन्दगीभर लोग्नेले सताउने, अनि त्यही लोग्ने मरेपछि विधवाको रूपमा समाजले सताउने क्रम चलिरहेकै छ,’ उनले भनिन्, ‘यही परिवेशलाई टिपेर खण्डकाव्य लेखेकी हुँ ।’


बस्नेतका यसअघि ‘उरालु’, ‘उन्यू फुलेपछि’, ‘गन्तव्य’ कथासंग्रह, ‘रातकी रानी’ उपन्यास, ‘जब दिन ढल्छ, चेखवा रुन्छ’ गीतसंग्रह, ‘नारी प्रश्नैप्रश्न’ निबन्ध, ‘युद्धको बाँसुरी’, ‘धर्तीको सुसेली’, ‘बालुवाको घर’ कवितासंग्रह, ‘योद्धा’ नाटकलगायतका कृति प्रकाशित छन् । ‘सेतो फरिया’ भने पाल्पा बुक्सले छापेको हो ।

प्रकाशित : माघ ४, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?