भिन्न आँखामा महेश्वर

काठमाडौँ — उमेरको खास चासो छैन उनलाई । नौ दशक पुग्नै लाग्दा पनि जोस उस्तै छ । ८८ वर्षीय साहित्यकार एवं विश्लेषक महेश्वर शर्मा हप्तैपिच्छे पत्रपत्रिकामा लागि नियमित स्तम्भ लेख्छन्, बर्सेनि पुस्तक निकाल्छन् ।

भिन्न आँखामा महेश्वर

तीन दर्जन कृति प्रकाशित भइसकेका छन् भने केही उपन्यास, कथा, निबन्ध, लेख र कविता संग्रह प्रकाशनको पर्खाइमा । उनै महेश्वरको व्यक्तित्व र कृतित्वमाथि विश्लेषणात्मक एवं संस्मरणात्मक कृति तयार भएको छ । राजधानीको महाराजगन्जस्थित चुनदेवी गणेशबस्तीमा आख्यानकार धु्रवचन्द्र गौतम र साहित्यकार रोचक घिमिरेले ‘भिन्न भिन्न आँखामा महेश्वर शर्मा’ पुस्तक सार्वजनिक गरे ।


समारोहमा कलमले आफूलाई निष्क्रिय हुन नदिएको महेश्वरले बताए । ‘लेख्नबाहेक अन्य केही गर्न आउँदैन,’ उनले भने, ‘तास खेल्न आउँदैन, रक्सी खान जानेको छैन । यही लेख्न आउँछ, लेखिरहन्छु ।’ उनी विभिन्न पत्रपत्रिकाकालाई स्तम्भ पनि लेख्छन् । कहिलेकाहीँ स्तम्भ रोक्न सम्पादकलाई आग्रह गर्छन् । पाठक प्रतिक्रियाले उर्जा दिइहाल्छ । भन्छन्, ‘यस्तो मायाले लेखिरहन उर्जा मिल्छ ।’


कृति सार्वजनिक गरिसकेपछि धुव्रचन्द्रले महेश्वरलाई ‘अथक साधक’ को उपमा दिए । ‘उमेर ढल्कँदै गएपछि कतिपय स्रष्टालाई अरूले लेख भनेर झक्झकाउनुपर्छ,’ उनले भने, ‘उहाँलाई कसैले भनिरहनै पर्दैन ।’ महेश्वरको लेखनमा युवा उर्जा रहेको उनले थपे । वृद्ध उमेरमा साधनारत र सिर्जनात्मक जीवन बाँचिरहने स्रष्टा कमै रहेको रोचक घिमिरेले बताए ।


कृतिमा महेश्वरबारे ३६ स्रष्टाको संस्मरणसँगै उनका कृतित्व र व्यक्तित्वको विश्लेषणात्मक लेख समावेश रहेको रमेश शुभेच्छुकले जनाए । महेश्वर लामो समय नेपाल सरकारको निजामती सेवा र केही समय चिकित्सा सेवा र राजनीतिमा समेत लागेका थिए । रमेशले भने, ‘नेपालको प्रशासकीय र राजनीतिक समस्याका विश्लेषणसँगै उनका लेखमा कलात्मक पाटो पनि निकै मिठासयुक्त हुन्छन् ।’ पूर्व सांसद एवं महेश्वरका साथी सुबसेन ओलीले महेश्वर सच्चा देशभक्त रहेको दाबी गरे । महेश्वर लोभ, लालच, मोह र भावनामा बगेर लेख्न लेखक नभएको समेत उनले बताए ।


कार्यक्रममा राजनीतिज्ञ नरहरि आचार्यले पञ्चायती व्यवस्थामा पत्रकारिता गर्दा महेश्वरले साथ दिएको क्षण सम्झिए । त्यति बेला उनीहरू पत्रिका निकाल्थे । पत्रिकामा छापिएका खबरहरू हेर्दा पत्रिकै प्रतिबन्धित होला भन्ने डर पनि उनीहरूलाई लाग्थ्यो । ‘उहाँ त्यस बेला जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । सरकारको कर्मचारी भएर पनि अप्रत्यक्ष रूपमा हाम्रो पत्रिकाको संरक्षक उहाँ नै हुनुहुन्थ्यो,’ नरहरिले महेश्वरतर्फ हेर्दै भने, ‘त्यति बेलै मैले उहाँको जीवनबाट गम्भीर ज्ञान पाएको थिएँ ।’ महेश्वरका ‘पञ्चायती राजकाज’, ‘रन्थमोल’, ‘कालखण्ड’, ‘उन्माद’ लगायत कृतिहरू चर्चित छन् । ‘भिन्न भिन्न आँखामा महेश्वर शर्मा’ कृति गण्डकी साहित्य परिषद् स्याङ्जाले छापेको हो ।


प्रकाशित : माघ १३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?