कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बदलिएको उपत्यका हेर्न आर्ट काउन्सिल जानू !

काठमाडौँ — धान फल्ने ठाउँमा विद्यालय फले । मकै, गहुँ, भटमास उम्रिने ठाउँमा सपिङ मल, होटल र डिपार्टमेन्टल स्टोर उम्रिए । मन्दिर वरपरका खाली ठाउँ अस्पताल, बसपार्कजस्ता संरचनाले ढाकिए ।

बदलिएको उपत्यका हेर्न आर्ट काउन्सिल जानू !

पछिल्ला केही दशकमा काठमाडौं उपत्यका कति बदलिएको छ भन्ने थाहा पाउन कलाकार रामचन्द्र महर्जनको सिर्जना हेरे पुग्छ । त्यसका लागि नेपाल आर्ट काउन्सिलचाहिँ जानैपर्छ ।


बबरमहलस्थित काउन्सिलमा ‘सँगालो’ शीर्षक संयुक्त कला प्रदर्शनी चलिरहेको छ, जहाँ रामचन्द्रले भुइँमा आफ्नो कला राखेका छन् । माटो र कंक्रिटले पहाडको संकेत गरिएको छ, तीन जिल्लाको सिमाना छुट्टयाइएको छ । ठाउँविशेषमा पहिले फल्ने अन्न देखाइएको छ । तर ती ठाउँमा अहिले अनेक भौतिक पूर्वाधार बनेको देखाइएको छ ।


‘मान्छेको महत्त्वाकांक्षाले गर्दा पहिलेको सुव्यवस्थित सहर आज अव्यवस्थित र अनियन्त्रित बन्दै गइरहेको छ,’ रामचन्द्रले भने, ‘यही कुरालाई मैले कलामा प्रतिविम्बित गरेको हुँ । यो सहरलाई नयाँपन दिने नाममा बलात्कार गरिएको छ । हामी मान्छे असभ्य, कुरूप, रोगी, अस्तित्व हराएको पशुझैं बन्न तत्पर छौँ ।’ रामचन्द्रका सिर्जना भित्तामा पनि छन् । तिनमा पनि यही चिन्ता देख्न सकिन्छ ।


प्रदर्शनीमा रामचन्द्रसँगै १० कलाकारका सिर्जना छन् । भिन्न कलाकारले भिन्न थिममा कलाकृति बनाएका छन् । चित्रकार सुरेश बस्नेतले उपत्यकावासीको पीडालाई सार्वजनिक यातायातमार्फत उजागर गरेका छन् । उनकै अर्को पेन्टिङमा भने मेलम्चीको पानी काठमाडौंमा ल्याउन डोजरले खनिरहेको देख्न सकिन्छ ।


चित्रकार निशा महर्जनले मातृत्वलाई विषय बनाएकी छन् । उनका पेन्टिङमा आमा र सन्तानको सृष्टि र मायाको भाव देख्न सकिन्छ । चित्रकार कुमार दोर्जेले बुद्ध धर्मसंस्कृतिलाई केन्द्रमा

राखेका छन् ।


सामयिक सामाजिक परिस्थितिलाई विम्बमार्फत देखाउने यत्नस्वरूप कलाकार सन्जोस राईले सिखिम्पु सिर्जना गरेका छन् । ‘वातावरणीय प्रभावले मानसपटलमा दिने झटकाहरूलाई कलामा उतारेको हुँ,’ उनले भने ।


चित्रकार सुरञ्जन सुवेदीले महिला हिंसाको विषयलाई समातेर जुटको बोरामा एक्रेलिक माध्यमले चित्र कोरेका छन् । महिलाहरू आफ्नो इच्छाविपरीत शरीर बेच्न र पीडामा जिउन बाध्य भएको उनले देखाउन खोजेका छन् ।


चित्रकार सुरक्षा वाग्लेले अपांगतालाई लहरायुक्त बिरुवासँग तुलना गरेर चित्र सिर्जना गरेकी छन् । ‘लहरायुक्त बिरुवा कुनै अर्काे बिरुवाको सहारामा बढ्छ, हुर्कन्छ र आफ्नो सम्पूर्ण जीवन सफलतापूर्वक जिउँछ,’ उनले भनिन्, ‘अपांगता भएका व्यक्तिहरूका लागि बैसाखी, हीलचियर, सेतो छडी अनुकूल हुन सक्छन् । उहाँहरूको सम्मानस्वरूप मैले यी चित्र सिर्जना गरेकी हुँ ।’


टीबी थापा मगर, राष्ट्र कार्की र हरिओम मेहताका कलाकृति पनि रहेको प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

प्रकाशित : माघ १३, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?