पुस्तकमा लिम्बू दस्तावेज

कान्तिपुर संवाददाता

ललितपुर — लिम्बू जातिको ऐतिहासिक, पुरातात्त्विक विषयसहितको ‘समन्वेषण : नेपाली आदिवासी पहिचान’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति बैरागी काइँलाले शनिबार सार्वजनिक गरेका हुन् ।

इक्साहाङ इक्मिसो बेघा थोबोजुम संस्थाको १८औं वार्षिकोत्सवका अवसरमा उक्त पुस्तक प्रकाशन गरिएको हो ।

बेघा थोबोजुमले प्रकाशन गरेको पुस्तकको पहिलो खण्डमा सिरिजंगा हाङ र लिम्बू जातीय पुनरुत्थान, बेघावंशको इतिहास, माध्यमिककालको लिम्बू बिहेको दस्तुर, लिम्बूका पुरोहितहरू, लिम्बू भाषाको शिक्षाको इतिहास, लिम्बू महिलाहरूको स्थिति, ब्रिटिस सेनामा बहादुरीको तक्मा भिक्टोरिया क्रस (भीसी) प्राप्त रामबहादुर बेघा लिम्बूको परिचय समेटिएको छ ।

त्यसैगरी दोस्रो खडमा किराती भाषाहरूमा समानता र भिन्नता, लिम्बू स्रष्टाको नेपाली साहित्यमा योगदान, लिम्बू साहित्यको वर्तमान अवस्था, सिक्किमा लिम्बू साहित्य, भारतीय लिम्बूूको विवेचना, मुन्धुम संगीत, धाननाच, लिम्बू समुदायमा औषधोपचार रहेका छन् । लिम्बू समाजमा मर्चाको महिमा, लिम्बू जातिको तुम्मयाङ न्याय प्रणाली, विश्वभरिमा लिम्बू, लिम्बूवानका सम्पदाहरू, राष्ट्रिय विभूति फाल्गुनन्द र समाजसेवी कुमारहाङ बेघाको पनि चर्चा रहेका छन् ।

त्यसैगरी, बेघा थोबोजुमको प्रकाशन ‘इक्मिसो स्मारिका’ समेत सार्वजनिक गरिएको छ । काइँलाले लिम्बू जातिको इतिहास, भाषा, साहित्य, मुन्धुम संस्कृतिबारे स्वजातिले नै खोज्न सक्नु महत्त्वपूर्ण पक्ष रहेको बताए । संस्थाका अध्यक्ष प्रवीन बेघाले देशविदेशमा छरिएर रहेका वंशहरूबाट आर्थिक सहयोग जुटाएर पुस्तक र स्मारिका प्रकाशन गरिएको बताए ।

प्रकाशित : माघ २०, २०७५ ०८:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लालबाबुले रुचाए ‘सयकडा दस’

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित शनिबार राजधानीको कमलपोखरीस्थित कुमारी हलमा देखिए । उनी त्यहाँ फिल्म ‘सयकडा दस’ हेर्न पुगेका थिए ।

भ्रष्टाचारलाई केन्द्रीय विषय बनाएको भन्ने सुनेर पनि मन्त्री पण्डित फिल्म हेर्न उत्सुक भएका रहेछन् । फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।

‘फिल्मले बोकेको विषयवस्तु, त्यसको प्रस्तुतीकरण र दर्शकमा दिने सन्देश तथा मौलिकपना हेर्दा यसलाई राष्ट्रिय फिल्म नै मान्दा फरक नपर्ने रहेछ,’ भ्रष्टाचारविरोधी मन्त्रीको रुपमा चर्चा पाएका मन्त्री पण्डितले फिल्म हेरिसकेपछि भने, ‘भ्रष्टाचारको सामाजिक प्रभाव चित्रण गरिएकोले पनि फिल्म राम्रो बनेको छ ।’

उनले फिल्म हेर्ने क्रममा आफूलाई पटकपटक भावुक बनाएको उल्लेख गर्दै फिल्मले सरकारलाई समेत भ्रष्टाचारविरुद्ध लाग्न घचघचाउने काम गरेको बताए । भने, ‘भ्रष्टाचार रोक्नका लागि फिल्मले भनेजस्तै सरकार कटिबद्ध छ ।’ त्यसो त उक्त सोमा फिल्म हेर्न मुख्यसचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीको पनि उपस्थिति थियो । फिल्म निर्माण पक्षले भ्रष्टाचारविरुद्धको अभियानमा लागेकालाई फिल्म हेराएको हो ।

फिल्ममा भ्रष्ट सरकारी अधिकृतको भूमिका निर्वाह गरेका कलाकार राजाराम पौडेलले भने अभिनयमा प्रशंसा पाए । खासगरी मन्त्री पण्डितले उनको कामको खुलेर तारिफ गरेका थिए ।

मुख्यसचिव रेग्मीले फिल्म समसामयिक र सन्देशमूलक रहेको संक्षिप्त प्रतिक्रिया दिएका थिए भने अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि फिल्म सशक्त माध्यम भएको बताउँदै ‘सयकडा दस’यसका लागि एउटा आदर्श फिल्म भएको तर्क गरे । उनलेभ्रष्टाचार न्यूनीकरणका लागि नागरिकसमेत चेतनशील हुनु जरुरी रहेको बताए ।

फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठलगायतको अभिनय रहेको छ । रज्जु प्रधानको निर्माण रहेको फिल्मलाई गतसाता थाइल्यान्ड र म्यान्मारमा प्रदर्शन गरिएको थियो 

प्रकाशित : माघ २०, २०७५ ०८:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT