कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हात्ती महोत्सवमा संरक्षण काव्ययात्रा

गणेश राई

काठमाडौँ — पर्यटकीय होटलहरुको संस्था क्षेत्रीय होटल संघ चितवन सौराहले गत पुसमा १५औँ हात्ती महोत्सव सम्पन्न गरेको छ । महोत्सवको पन्ध्रौं संस्करणबाट एउटा नयाँ आयाम थपेको छ– ‘चितवन काव्य यात्रा–२०७५ ।’

हात्ती महोत्सवमा संरक्षण काव्ययात्रा

काव्य यात्रामा देशभरीका सीमित स्रष्टालाई निम्तो गरेर संरक्षण कविता वाचन गराउने परम्पराको आरम्भ गरिएको छ । अबदेखि यो शृंखला निरन्तर रहने छ । रत्ननगर नगरपालिकाले काव्ययात्राका निम्ति ५ लाख रुपैयाँ राशिको अक्षयकोष निर्माण गरिदिएको छ । आयोजक संघका अध्यक्ष तथा साहित्यकार सुमन घिमिरे भन्छन्,‘शुभारम्भ मात्र हो । हामी वातावरण र वन्यजन्तु संरक्षण अभियानमा छौँ । आगामी वर्षमा अझ भव्य तुल्याउने योजना छ ।’

कवि भूपिन खड्काको ‘तेइसौं शताब्दीमा’ शीर्षक रचना यस्तो छ–

समयको सुदुर जंगलमा बाँचिरहेका

लोपोन्मुख मानिसहरू हेर्न

बाघहरू आए दुर्बिन र क्यामेरा भिरेर ।

निकुन्जको टिकट काटे

र छिरे जंगलभित्र जिप सफारीमा ।


भग्नावशेष कंक्रिटको जंगलमा कतै मानिस नभेटेपछि

निरास डमरूले सोध्यो बाउलाई

’अरबौं मानिसहरू

अचानक कसरी लोप भए पृथ्वीबाट ?’

जवाफ दियो बाउले

‘छोरा, छाला, खाग, खोपडी र मासुको लागि

धेरै जनावर सिध्याए मानिसले ।

सिध्याए उनीहरूले–

जंगल, पानी र शुद्ध हावा

त्यसपछि सिध्याउने बानी लाग्यो,

धर्म, रंग, विचार र जातको नाममा

सिध्याउन थाले एक–अर्कोलाई ।’

हेर छोरा !

‘अहिले जनावरहरू मिलेर

पृथ्वीको लोपोन्मुख जनावर

’मानिस’को संरक्षण गरिरहेछन् ।’


कवि राजेन्द्र घायलले ‘सौराह बिम्ब’लाई लिएर काव्य वाचन गरेपछि क्रमश: बबिता खनाल, सुरेन्द्र अस्तफल, संरक्षण अभियन्ता कृष्ण घिमिरे, पर्यटनविद् साहित्यकार धनराज गिरी, उदय अधिकारीले रचना पाठ गरेका थिए । डोटीका हेमन्त विवशले डेउडा गाउँदै ‘ए गोसाई’ शीर्षक रचना वाचन गर्दा दर्शक स्रोताहरु सुदूरपश्चिम प्रदेश नं.७ पुगेझैं भएको थियो । कवि गणेश वाम्बुले राईले ‘ए मान्छे मेरो मुन्धुम सुनिदेऊ न !’ वाचन गर्दा प्रदेश नं.१ को बिम्ब उत्रिएझैं थियो । भक्तपुरका कवि अभय श्रेष्ठले प्रसिद्ध नेवारी गीतको अंश गाएर ‘आगो र फूलको एउटा कहानी’ शीर्षक रचना वाचेका थिए । पर्वतका कवि आरके अदिप्त गिरीले ‘नारी’ शीर्षकमा प्रकृतिको चित्रण गरेका थिए ।


स्थानीय संरक्षण अभियन्ता पाका कवि केदारनाथ खलालले अनुष्टुप छन्दमा रचना पाठ गरेका थिए । अर्का पाका कवि एलबी क्षेत्रले ‘यो सौराह हो’ शीषक रचना वाचन गर्दा दर्शक स्तभ्द हुनपुगे किनकी प्रकृति र पर्यावरणलाई रचनामा प्रतिबिम्बित गरिएको थियो । कवि राजेन्द्र हमाल, प्रशन्न घिमिरेले आफ्ना सुन्दर रचना पस्केका थिए ।


वास्तवमा, प्रकृति पर्यावरण संरक्षण अभियान आन्दोलन कास्कीको पोखराबाट सुरु भएको हो । प्रसिद्ध साहित्यकार सरुभक्तको अगुवाईमा २०५५ सालमा आरम्भ भएको थियो । आन्दोलन केही सुस्त छ किनभने अभियान संयोजक सरुभक्त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति बने । अभियान आन्दोलदनकै रुपमा निरन्तर रहेको अभियानका सदस्य भूपिन दाबी गर्छन् । ‘संरक्षण कविता अभियान निरन्तर छ,’ उनी आफू संस्थापक सदस्य र अभियन्ता भएको उल्लेख गर्दै भन्छन्, ‘मुख्य उद्देश्य प्रकृति संरक्षण नै हो । गाउँ गाउँमा पुगेर रचना सिर्जना गर्ने र गाउँहरुलाई सुनाउने गरिएको छ ।’ यतिखेर प्रकृति संरक्षण साहित्य अभियान नेपालमा मात्र नभई बेलायतबाट समेत जारी छ । वातावरणविज्ञ तथा कवि विजय हितानले त्यसको नेतृत्व गरेका छन् ।


तथ्यांकमा चितवन

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार चितवन जिल्लाको कूल जनसंख्या ५ लाख ७९ हजार ९ सय ८४ छ । जसमा ३ लाख ८ सय ९७ महिला र २ लाख ७९ हजार ८७ पुरुष रहेका पर्दछन् । घर संख्या १ लाख ३२ हजार ४ सय ६२ रहेका छन् ।

प्रदेश नं.३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय चितवनका अनुसार जिल्लाको कुल जनघनत्व २५५ व्यक्ति प्रति वर्ग किमी छ भने करिब ४०५ (कुल भु—भाग ९०८.७९ वर्ग किमी) राष्ट्रिय निकुञ्ज क्षेत्रले ढाकिएको छ । जनसंख्या वृद्घिदर १.८३ र घर संख्या वृद्घिदर ४.२७ छ ।


यस जिल्लाको जन्मदरभन्दा बसाई– सराईको जनसंख्या उच्च रहेको छ । यसको मुख्य कारणहरुमा यस जिल्लामा भौतिक सुविधाहरु बढी उपलब्ध हुनु र देशको भौगोलिक अवस्थाले मुलुककोबीच भागमा पर्नु मानिएको छ ।


यहाँ पाइने वनस्पतिका मुख्य प्रजातिहरुमा साल, सिमल, सिसौ, खयर, टुनी, अस्ना, कर्मा, टोटरी वर्रो, जामुन, घाइरो, सतिसाल,भलायो आदि हुन् भने घाँसे मैदानमा खर खराई, ढुड्डी, बाबियो, काँस आदि पर्दछन् ।


त्यस्तै, वन्यजन्तुमा हात्ती (पाल्तु र जंगली), गैंडा, हरिण, बाघ, जरायो, भालु, दुम्सी, लोखर्के, स्याद, बाँदर, ब्वासो, मगर गोही, घडियाल गोही, अजिंगर र विभिन्न किसिमका सर्पहरू छन् । त्यसैगरी पंक्षीमा मयूर, कालिज, वन कुखुरा, तित्रा, सुगा, मैना, भंगेरो, जुरेली, सारस, धनेष, गिद्ध, गरुड, चिल, पानी हाँस आदि छन् । जडिबुटीमा सर्प गन्घा, अमला, हर्रो बर्रो, गुर्जो, करिलो, जिवन्ति सुगन्धकोपिला, तेजोपात आदि पाइन्छन् ।


काव्ययात्रा मातृभाषासित जोडिने

मुलुकमा १२५ वटा जातजाति र १२३ भाषा छन् । चितवनमा मुलुकका अधिक जातिको बसोबास रहेको अनुमान गरिएको छ । जातिगत हिसाबले चितवनमा २८ दशमलव ५६ प्रतिशत बाहुन जाति रहेका छन् । चितवनको रत्ननगर नगरपालिकामा बसोबास गर्ने जातजातिमात्र हेर्दा बाहुन (पहाडे), क्षेत्री, मगर, थारु, तामाङ, नेवार, गुरुङ, मुसलमान, कामी, यादव, राई, लिम्बु, सुनुवार, दमाई (ढोली), ठकुरी, सार्की, चमार (हरिजन/राम), सन्यासी (दसनामी), सोनार, घर्ती (भुजेल), कुमाल, चेपाङ (प्रजा), दराई, बोटे, थामी छन् । त्यस्तै गाइने, दुरा, कोइरी (कुशवाह), तेली, कुर्मी, धानुक, मुसहर, मल्लाह, कलवार, हजाम (ठाकुर), बाहुन (तराई), सुधी, कठबनियान, लोहार, माझी, नुनिया, कुम्हार, हलुवाई, मारवाडी, माली, बादी, पन्जाबी (सिख), ह्योल्मा आदि उल्लेख छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटिन १५औं हात्ती महोत्सवमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले काव्य यात्रा–२०७५ मा वाचित कवितालाई प्रकाशन गर्ने र काव्य यात्रा निरन्तर रहने घोषणा गरेका छन् । साथै, आयोजक संस्थाका अध्यक्ष घिमिरे आगामी दिन काव्य यात्रामा चितवन जिल्लामा रहेका विभिन्न भाषाभाषीलाई समेत साहित्यमा समेट्ने प्रतिवद्धता जनाएका छन् ।


कवि भूपिन भारतीय साहित्यकार सिताकान्ता महापात्रको भनाइ सम्झिन्छन्– ‘उहाँले भन्नु भएको छ कि तपाई जति राम्रो कविता लेख्नु हुन्छ, जुन भाषामा तपाई सपना देख्नु हुन्छ । त्यसैले सम्बन्धित मातृभाषामा रचना गर्दा प्रभावकारी हुन्छ । चितवनमा बसोबास गर्ने थारुलगायत भाषाभाषीलाई उनीहरुकै भाषामा कविता रचना गराएर सुनाए मात्र प्रभावकारी हुन्छ ।’

प्रकाशित : माघ २१, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?