नेपाल–भारत कला कार्यशाला

मधु शाही

भारत, लखनउ — कलाकार र पत्रकारको सम्बन्ध दर्साउन भारतको लखनउमा ४ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । ‘इन्डो–नेपाल आर्टिस्ट एन्ड आर्ट क्रिटिक सिम्फोजियम’ नाम दिइएको उक्त गोष्ठी शनिबारदेखि सुरु भएको छ ।

गोष्ठीमा नेपालबाट चित्रकार रागिनी उपाध्यायसँगै एरिना ताम्राकार, समुन्द्रमानसिंह श्रेष्ठ, केशवराज खनाल सहभागी छन् भने भारतबाट अमित कुमार, सञ्जय के राज, चन्दन अग्रवाल, मनीषा अग्रवाल छन् । त्यस्तै, दुवै देशका ४/४ पत्रकार पनि कार्यशाला गोष्ठीमा सहभागी छन् ।

ललितकला अकादमी क्षेत्रीय कार्यालयको स्टुडियोमा ४ दिनसम्म कार्यशाला चल्नेछ । युपी आर्ट सर्कल लखनउले आयोजना गरेको कार्यशालामा पत्रकारको कला समीक्षा विषयमा समेत सेमिनार चलिरहेको छ । सेमिनारमा भारतका कला समीक्षक एवं पत्रकार डा. राजेश व्यासले कला पत्रकारिता कसरी गर्ने भन्नेबारे अनुभव साटे ।

कला पत्रकारिता आमपत्रकारिताभन्दा फरक रहेको उनले बताए । कला समीक्षक बन्नका लागि सबैभन्दा पहिला कलाकारिता बुझ्न जरुरी रहेको उनको तर्क थियो । ‘कला समीक्षक पनि कलाकार नै हो,’ उनले भने, ‘कलाकारले क्यानभासमा कला सिर्जना गर्छ भने समीक्षक वा पत्रकारले शब्दमा वाचन गरिदिन्छ । जुन आफैंमा ठूलो क्रिएसन हो ।’ तर, भारत र नेपालमा गरिने कला पत्रकारिता समाचारमा मात्रै सीमित रहेको उनले बताए ।

कार्यक्रममा कवि समीक्षक नरेश सक्सेनाले कला नांगो आँखाले देख्न नसकिने बताए । छोएर, हेरेर, सुँघेर, महसुस गरेपछि मात्रै कलाको वास्तविक अर्थ बुझिने उनको विचार थियो । यूपी आर्ट सर्कलका अध्यक्ष प्रोफेसर जयकृष्ण अग्रवालले नेपाल र भारतका कलाकार एवं पत्रकारको सिम्फोजियम पहिलो पटक भएको दाबी गरे ।

कला र पत्रकारिता एक–अर्काका परिपूरक रहेको र यी दुवैलाई सँगै तिखार्न सकियो भने देशको सांस्कृतिक विकास दरिलो हुने उनको तर्क थियो ।

प्रकाशित : माघ २७, २०७५ ०७:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेलायतमा सामाजिक सञ्जाल : कडाइ गर्न सांसदहरूको माग 

नवीन पोखरेल

लन्डन — बेलायती राजनीतिज्ञहरूले सामाजिक सञ्जाल चलाउने कम्पनीलाई ती सञ्जालका प्रयोगकर्ताको हितको ख्याल गर्ने जिम्मेवारी पूरा गर्न आह्वान गरेका छन् ।

बेलायती संसद्को विज्ञान तथा प्रविधि समितिले हालै प्रकाशित गरेको प्रतिवेदनमा सामाजिक माध्यम सञ्चालन गर्ने कम्पनीले प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षामाथि ध्यान पुर्‍याउन कानुन बनाउन आवश्यक रहेको जनाइएको छ ।

सामाजिक सञ्जालमा प्रकाशित हुने हानिकारक सामग्रीको अनुगमन नगरिने तथा इन्टरनेटबाट अरूलाई हतोत्साही गराउने समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । सांसदहरूले सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीमाथि अनुगमन गर्न एउटा नयाँ नियामक निकाय बनाउन तथा आचारसंहिता पालना नगर्ने कम्पनीविरुद्ध जरिवाना गर्ने अधिकार दिन पनि माग गरेका छन् । समितिको सुझावमा नयाँ बन्ने कानुनको उल्लंघन गर्ने कम्पनीका निर्देशकलाई क्षतिपूर्ति तिर्न बाध्य बनाउनुपर्ने कुरा पनि उल्लेख छ ।

समितिले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने मानिसमा निद्राको ढाँचा खल्बलिने, आफ्नै शरीरप्रति असन्तुष्टि बढ्ने, यौन फाइदाका लागि बालबालिकालाई प्रयोग गर्नेजस्ता समस्या पाइएको प्रमाण संकलन गरेको थियो । एक प्रेस वक्तव्यमा विज्ञान तथा प्रविधि समितिका अध्यक्ष नर्मन ल्याबले भने, ‘हामीले जतिसक्दो चाँडो एउटा स्वतन्त्र, वैधानिक नियामक निकाय गठन गर्नुपर्छ र कानुनको पालना नगर्ने कम्पनीविरुद्ध सरकारले कडा र प्रभावकारी कारबाही गर्नुपर्छ ।’

सीएनबीसीडटकमलाई इमेलबाट जवाफ दिँदै बेलायतको संस्कृति, सञ्चार तथा खेलकुद मन्त्रालयका प्रवक्ताले नयाँ कानुन बनाउने सम्बन्धमा सरकारले छिट्टै श्वेतपत्र जारी गर्ने बताए । उनका अनुसार उक्त श्वेतपत्रमा सामाजिक सञ्जाल कम्पनीका जिम्मेवारीहरू प्रस्ट रूपमा उल्लेख गरिने र जिम्मेवारी पूरा नगर्नेलाई गरिने कारबाही उल्लेख हुने जनाए ।

त्यसैगरी, बेलायतमा बालबालिकाका हितमा कार्यरत कल्याणकारी संस्था एनएसपीसीसीले कम्पनीहरूले उनीहरूका साइट प्रयोग गर्नेमाथि हुन सक्ने जोखिमबारे हरेक ६/६ महिनामा प्रतिवेदन प्रकाशित गर्नुपर्ने गरी कडा कानुन ल्याउन माग गरेको छ । यद्यपि इन्टरनेटमा आधारित कम्पनीहरूको संस्था टेकयूकेका उपप्रमुख कार्यकारी अधिकृत एन्टनी वाकरले कडा प्रतिबन्ध नलगाई जोखिम कसरी सम्बोधन गर्ने भन्ने सन्तुलन मिलाउन निकै कठिन हुने बताए ।

सन् २०१७ मा लन्डनको एक विद्यालयमा पढ्ने १४ वर्षीया मोली रसेलले आत्महत्या गरेपछि उनका पिताले आफ्नी छोरीको मृत्युका लागि सामाजिक सञ्जाल इन्स्टाग्रामलाई दोष लगाएका थिए ।

त्यसयता बेलायतमा सामाजिक सञ्जाललाई अनुगमन गरिनुपर्ने माग बढै गएको छ । यसैबीच बेलायतको अर्को नियामक निकाय अफकमले सन् २०१८ मा सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता खस्केको जनाएको छ ।

आफ्नो वार्षिक प्रतिवेदमा उसले सन् २०१७ मा एउटा सामाजिक सञ्जाल एकाउन्ट रहेका १२ देखि १५ वर्ष उमेर समूहका बेलायती बालबालिकामध्ये ७४ प्रतिशतले फेसबुक प्रयोग गर्ने गरेकामा सन् २०१८ मा त्यो ७२ प्रतिशतमा झरेको बताएको छ ।

तर, फेसबुककै स्वामित्वमा रहेको सामाजिक सञ्जाल इन्स्टाग्राममा भने सोही उमेर समूहका प्रयोगकर्ताको संख्या सन् २०१७ मा १४ प्रतिशत रहेकामा सन् २०१८ मा त्यो बढेर २३ प्रतिशत पुगेको अफकमले जनाएको छ ।

प्रकाशित : माघ २७, २०७५ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT