काव्य मेलामा वल र लिम्बू

कान्तिपुर संवाददाता

चितवन — अराजक अक्षर समूह चितवनले कर्मी नाट्य समूहसँगको सहकार्यमा शनिबार नारायणगढमा काव्य मेलाको आठौं शृंखला सम्पन्न गरेको छ ।

नारायणगढमा कविता सुनाउँदै कवि रञ्जना लिम्बू र फूलमान वल ।  तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

आठौं शृंखलामा समूहले कवि फूलमान वल र रञ्जना लिम्बूलाई श्रोता/दर्शकमाझ उभ्यायो । दुवैले दुई दर्जन कविता सुनाएका थिए ।

‘तिमीले नकाटिदिएको भए
चोभारको डाँडोबाट
मलाई नबनाइदिएको भए
धारिलो गल्छेँडो,
म त यहीं तलाउ जमेर,
फुलिरहेको हुन्थें सायद कमलको फूल’

वलले ‘वाग्मतीको आत्मालाप’ बाट कविता सुनाउन सुरु गरेर ‘बाँदरको अपिल’ मा पुगेर वाचनको क्रम टुंग्याए । त्यसबीचमा ‘भ्यालेन्टाइन डेको जून’, ‘इन्द्रेणी गीत’, ‘न्युज’, ‘शीतलहर’, ‘आजका मान्छे’, ‘भुइँचालो’, ‘महाभारतकी मैच्याङ’, ‘बुद्धसँग जम्काभेट’, ‘दोस्रो जुनी’, ‘खरानी भित्र’, ‘दसैं आयो’, ‘काठमाडौं विरुद्ध’ जस्ता दर्जन कविता सुनाए । कथा र नाटक विधामा समेत कलम चलाउने वलका कवितामा तामाङ समुदायको मौलिक बिम्ब र प्रतीकको प्रचुरता थियो । विषयगत हिसाबले पनि उनी तामाङ समुदायकै सांस्कृतिक र ऐतिहासिकतामा बढी केन्द्रित भए । त्यसबाहेक प्रेम, मानवता र समाजमा आधुनिक बजारले पारेको प्रभावप्रति उनले व्यंग्य कसे ।

त्यसअघि रञ्जना लिम्बूले आठ कविता सुनाएकी थिइन् । ‘घडी’, ‘मैले बोल्दा यो देशको नक्सा हल्लिन्छ’, ‘घुम्तीनिरको चिया पसल’, ‘गुनासो’, ‘शौचालय’, ‘आदाम्बे’ जस्ता कविता सुनाएकी रञ्जनाले पहिचानको मुद्दा र नारीका समस्यालाई आफ्ना रचनामा समेटेकी थिइन् । ‘शौचालय’ कविता मानवीय भावनाबाट प्रेरित थियो । मान्छेको विचारबाटै ईश्वर उदाएको र मन्दिर, मस्जिद, चर्च, गुम्बा बनेको तर ईश्वर बस्ने यी स्थानलाई एक–अर्काले अस्वीकार गरेको भाव कवितामा थियो ।

‘त्यहाँ कसैले कसैलाई थुकिरहेका थिएनन्
त्यहाँ कसैले कसैलाई छि छि गरेका थिएनन्
र त मन्दिर, मस्जिद, चर्च र गुम्बाहरूबाट
बसाइँ सरेर अचेल शौचालयमा बसिरहेका छन् ।

कवितामाथि टिप्पणी गर्दै कवि सरिता तिवारीले दुवै कविले आफ्ना कवितामा पहिचानका मुद्दालाईवैचारिक र कलात्मक रूपमा पस्केको बताइन् । ‘समकालीन चेतनालाई हस्तक्षेप गर्न सक्ने रचना सुन्न पाइयो । उहाँहरूले उठाएका विषयमा र रचनामा रौं–रौंका अनुभूति छन्,’ तिवारीको भनाइ थियो ।

रंगमञ्चसँग साहित्यलाई जोड्दै तीन वर्षअघि सुरु काव्यमेलामा मुलुकका विभिन्न भेगका स्रष्टाहरूलाई प्रस्तुत गर्दै आएको अराजक अक्षर समूहका अध्यक्ष मुकुन्द खलपात्रले जनाए । यो समूहले कर्मी नाट्य समूह नै निर्माण गरी चितवनमा रंगकर्मलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित : माघ २७, २०७५ ०७:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

७२ कन्याको सामूहिक बेलविवाह

कान्तिपुर संवाददाता

हेटौंडा — सिँगारिएर चिटिक्क परेका ७२ नेवार समुदायका बालिकाहरू शनिबार हेटौंडा बसपार्कमा निर्मित विवाह मण्डपमा सामूहिक बेलविवाहका लागि बेहुली बनेर तम्तयार थिए ।

नेवारी समुदायमा बालिकाको रजस्वला हुनुभन्दा अघि बेलसँग विवाह गराइदिने चलन छ । नेवारीमा यसलाई इही भन्ने गरिन्छ । चलन पछ्याउँदै हेटौंडामा यसरी सामूहिक बेल विवाह गरिएको हो । वैवाहिक समारोह शनिबार र आइतबार दुई दिनसम्म चल्नेछ ।
सामुहिक बेल विवाहका लागि जिल्लाका विभिन्न स्थानबाट रजस्वला नभएका बालिकाहरू ल्याइएका थिए । विधिवत् रूपमा बाबु–आमाले छोरीको कन्यादान गरिरहेका थिए । सुवर्णकुमार बेल विवाह गुठी हेटौंडाले भड्किलो खर्च घटाएर नेवारी परम्परालाई जीवित राख्ने उद्देश्यले बसपार्कको टहरारूपी डबलीमा यज्ञ गरी ७२ जना कन्याको सामूहिक बेलविवाह गरेको हो ।

नेवारी संस्कृति बचाउन र सामाजिक व्यवहारमा तडक–भडक घटाई कम खर्चमा सम्पन्न गर्न सामूहिक विवाहको आयोजना गरेको गुठीका प्रमुख हरिश्चन्द्र श्रेष्ठले बताए । सामूहिक बेलविवाहका लागि ७ र ९ वर्षका बालिकाहरू बढी सहभागी छन् । ५ र ११ वर्षका बालिकाहरू पनि बेलविवाहमा सहभागी गराइने गरेको छ । एउटै परिवारमा दिदी, बहिनीको सँगै बेलविवाह गराउनुपर्दा ५ र ११ वर्षको उमेरका बालिकाहरू सहभागी हुने गरेको श्रेष्ठले बताए ।

सामूहिक बेलविवाहका लागि सहभागी हुने बालिकाका अभिभावकबाट १ हजार ६ सय रुपैयाँ गुठीले शुल्क लिने गरेको छ । उक्त रकमबाट पुरोहित र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने गरिएको गुठी प्रमुख श्रेष्ठले जानकारी गराए ।

‘बेलविवाहमा सम्मिलित प्रत्येक कन्याका अभिभावकसँग न्यूनतम रकम लिएर बेलविवाहलाई चाहिने स:लगन पा: (विभिन्न सगुनका चित्रहरू लेखिएको माटोले बनेको थाल आकारको भाँडो) इही पर्सी (सामूहिक बेलविवाहमा लगाइने एक प्रकारको फरिया) बेल फयं गं उपलब्ध गराउनुको साथै सगुन दिने र भोज खुवाउने व्यवस्था पनि गरेका छौं,’ उनले भने ।

‘सामूहिक बेलविवाहमा रौतहट, चितवन, बारा, पर्सा र मकवानपुरका कन्याहरू छन् । घरमा एक्लै गर्दा २५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च हुने र झन्झट पनि व्यहोर्नुपर्ने कारणले गर्दा कम खर्चमा वीना झन्झट नेवारी परम्परा पनि जोगिने भएकाले सामूहिक बेलविवाह गर्न ल्याएको बारा निजगढका हरिलाल प्रधानले बताए ।

हेटौंडामा उक्त गुठीले विगत ४६ वर्षदेखि श्रीपञ्चमीमा सामूहिक बेलविवाहको आयोजना गर्दै आएको छ । बेलसँग विवाह सम्पन्न भइसकेपछि नेवार चेलीहरू कहिल्यै विधवा हुँदैनन् भन्ने विश्वास रहेको छ । पनौतीका मूलपण्डित रमेश राजोपाध्यायसँगै रजनी राजोपाध्याय, सत्यनारायण कर्माचार्य, श्रीकृष्ण जोशी र रामकाजी सेवाचार्यले बालिकाको सामूहिक बेलविवाह गराइरहेका छन् ।

दुई दिनसम्म आयोजना हुने बेलविवाहमा अघिल्लो दिन शक्तिपीठको रूपमा भुटनदेवीको पूजा, भीमसेन पूजा गर्नुका साथै श्राद्ध कर्म गरिने मूलपण्डित रमेश राजोपाध्यायले बताए । यस्तै दोस्रो दिन बेलसँग कन्याहरूको विवाह गराई कन्यादान गरिने राजोपाध्यायले जानकारी दिए ।

मूल पण्डित राजोपाध्यायका अनुसार बेलविवाह गर्ने भनेको रजस्वला नभएकी कन्यालाई एक हातमा स: लगनपात्र र अर्को हातमा बेल समाउन लगाएर सुवर्णकुमार (सुनको नारायण) लाई दान दिनु हो । ‘सती प्रथा रोक्नलाई पनि बेलविवाहको प्रथा चलाइएको हो,’ उनले भने ।

बेललाई शिवको प्रतिरूप मानिन्छ । यो फल बढी टिकाउ हुने, सुक्दा पनि नबिग्रने र किराले पनि नखाने भएकाले स्थायित्वको प्रतीक बेललाई मानिन्छ । सुन कहिल्यै नष्ट नहुने धातु भएकाले यसलाई पनि स्थायित्वको प्रतीकका रूपमा लिइएको छ । बेलविवाहको प्रथा नेवार समुदायमा मात्र रहेको छ ।

यो प्रथा मल्लकालदेखि चलेको बताइन्छ । हेटौंडामा २०२९ सालदेखि सामूहिक रूपमा बेलविवाह कार्यक्रमको आयोजना हुँदै आएको छ । नेवारी परम्पराअनुसार पण्डितहरू राखेर सामूहिक विवाह गरिने भएकाले हेटौंडाको सर्वसाधारणसँगै छिमेकी जिल्लाबाट पनि कन्यालाई बेलविवाह गराउन यहाँ ल्याउने गरिन्छ ।

प्रकाशित : माघ २७, २०७५ ०७:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT