कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूजासँगै पान

ललितपुर — माहोल सरस्वती पूजाको तर परिसर भने मैथिलीमय । चित्रकला मात्रै हैन, मैथिली परिकार र त्यसपछि अन्तिममा खाने मिठा पान पनि । पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको दृश्य हो यो ।

पूजासँगै पान

क्याम्पस परिसरमा रहेको सरस्वती मन्दिरमा पूजा गर्न आउनेका लागि मिथिला चित्रकला र मैथिली परिकारको स्वाद निकै मौलिक लाग्थ्यो ।


पहिले सरस्वतीको दर्शन–पूजन, अनि मिथिला चित्रकलाको अवलोकन । मन्दिरपछि कला प्रदर्शनीस्थल पुग्ने बाटो बनाइएको थियो । प्रदर्शनीमा कतै महिलाले ढिकी–जाँतो गरिरहेका तस्बिर थिए भने कतै घरआँगन सफा गरिरहेका दृश्य । मैथिली समुदायमा निकै महत्त्वपूर्ण मानिन्छ माछा । यो शुभको संकेत हो ।


प्राय: मैथिली चित्रकारले माछाको प्रतीक प्रयोग गर्छन् । प्रदर्शनीमा भने माछा मार्ने ‘मल्लाह’ ले जालबाट माछा निकालेर बेच्दै गरेका तस्बिर पनि थिए । कृष्णले बाँसुरी बजाइरहेका र पानी भरेर फर्किरहेका गोपिनीको दृश्य भने पेन्टिङमा उतारिएको थियो । सीता र रामको स्वयंवर, जसलाई मिथिला परम्पराममा विशिष्ट स्थान दिइन्छ, प्रदर्शनीमा ती दृश्य झल्किने पेन्टिङ पनि थिए ।


पूजा समितिका रवि मिश्रका अनुसार ३५ चित्र प्रदर्शनीमा राखिएका थिए । तिनलाई सिर्जना गरेका थिए, हरिओम मेहता, मनीषा साह, अजितकुमार साह, रेणु यादव र हरेराम यादवले । क्याम्पसको सरस्वती पूजा समितिका अनुसार आइतबार करिब १३ हजार श्रद्धालु पूजा र प्रदर्शनीमा सहभागी भए ।


प्रदर्शनीसँगै मिथिला परिकार पनि राखिएको थियो । स्टलमा सजाइएका थिए— दूधपिठ्ठी, पिरुकिया, खजुरिया लगायतका परिकार । ‘पूरै मधेसको संस्कृति झल्कियोस् भनेर प्रदर्शनी गरेका हौं,’ पूजा समिति अध्यक्ष साहिल मण्डलले भने, ‘मैथिली परिकारमध्ये धेरै यस्ता छन् जसलाई राजधानीले चिन्दैन । कम्तीमा युवा पुस्तामाझ चिनाउन सकियोस् भनेर वसन्त पञ्चमीका अवसरमा प्रदर्शनी राखेका हौं ।’


क्याम्पसले यसरी प्रदर्शनी गरेको यो तेस्रोपल्ट हो । आइतबार क्याम्पसमा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

प्रकाशित : माघ २८, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?