एकल बाल नाटक महोत्सव
काठमाडौँ — बालबालिका कोही पढाइमा अब्बल हुन्छन् त कोही अतिरिक्त क्रियाकलापमा । बालबालिकाको स्वभाव र क्षमता सुहाउँदो विषयमा नसिकाउँदा तिनले आफूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सक्दैनन् ।
यसले विद्यार्थीको जीवनमा मात्रै नभई समाजमै पनि असर गर्न सक्छ । विद्यार्थीहरूको यही मनोदशालाई समातेको ‘अबोध बालक’ राष्ट्रिय एकल बाल नाटक महोत्सवको दोस्रो दिन बिहीबार शिल्पी थिएटरमा देखाइयो । क्षितिज बस्नेतले विद्यार्थीको यही क्षमता पहिचान गर्नुपर्ने विषयलाई जोड दिएका छन् ।
कुसुम कार्कीको नाटक ‘आमा’ मा सासूआमा र बुहारीबीचको सम्बन्धलाई देखाइएको छ । वृद्ध सासूआमालाई वृद्धाश्रम पुर्याएको घटनासँगै नाटकको कथा बुनिएको छ । गंगा थपलियाले प्रस्तुत गरेको नाटक ‘छोडपत्र’ मा बुवा र आमाको छोडपत्रपछि बच्चामा परेको मानसिक असरलाई कथाको विषयवस्तु बनाइएको छ ।
त्यस्तै सिद्धार्थ गिरीले ‘हजुरको बुट’, स्तुति पौडेलले ‘म,’ स्मेरा बिष्टले ‘वाइड बडी,’ प्रिसा चौधरीले ‘आत्मा,’ अपेक्षा आचार्यले ‘हराएकी म,’ मरिसा ढकालले ‘भ्वाइस अफ अनबर्न,’ अरमान घिमिरेले ‘ड्रिम ब्वाय,’ प्रशान्त हुमागाईंले ‘मनको आँखा,’ स्मारिका पाण्डेले ‘आमा,’ राष्ट्रिका खडकाले ‘ड्याड भर्सेज मम, श्रेयश श्रेष्ठले ‘म अर्थात्...’ र लिजा मोतीले ‘विडम्बना’ नाटक प्रस्तुत गरेका थिए ।
बिहीबार विभिन्न स्कुले बालबालिकासँगै बाल साहित्यकार शान्तदास मानन्धरले नाटक हेरे । नाटक हेरिसकेपछि मानन्धरले ६०/७० वर्षअघिको नाट्य अवस्थालाई सम्झिए । पहिले बालबालिकालाई नाटक देखाउने वा नाटकको हिस्सा बनाउने नगरेको उनले बताए । ‘पहिले नाटकका कथाहरू पुराणहरूका आधारमा लेखिएका हुन्थे,’ उनले भने, ‘जति पनि नाटक हुन्थे, राति देखाइन्थ्यो । त्यसैले बच्चालाई नाटक देखाउने भन्ने हुन्नथ्यो । बच्चाको भूमिका पनि ठूलाले नै गर्थे ।’ पछिल्लो समय बालबालिकाहरू नाटकको क्षेत्रमा आउन थालेकोमा उनले खुसी व्यक्त गरे ।
कुनै पनि कलाकारको अभिनय यात्रा स्कुलबाटै सुरु हुने नाट्यकर्मी हरिहर शर्माले बताए । विश्वभरि नै कलाकारको पहिलो मञ्चन गर्ने थलो नै स्कुल हो भन्ने कुरा धेरै नाट्यकारहरूको जीवनले प्रमाणित गरेको उनले बताए । अहिले विद्यालयहरूले थिएटर सिकाउने, गायन, वाद्य सिकाउने गरेकाले कलिलो उमेरबाटै अभ्यस्त बनाउने काम हुनुले संगीत, नाट्यको क्षेत्र अझ परिस्कृत हुने विश्वास उनले व्यक्त गरे ।
प्रकाशित : फाल्गुन ३, २०७५ ०८:५६