किरात राई प्राज्ञिक गोष्ठी

कान्तिपुर संवाददाता

काठमाडौँ — किरात राई भाषा, संस्कृति र इतिहासलाई पुस्ता हस्तान्तरण तथा संरक्षण गर्न प्राज्ञिक गोष्ठी आयोजना गरिएको छ । नलेखिएका सभ्यता र संस्कृतिको खोज तथा अनुसन्धान गरेर लिखित रुपमा नयाँ पुस्तामाझ कसरी पस्कने भन्ने सन्दर्भमा किरात राई प्रज्ञा परिषद्ले गोष्ठी आयोजना गरेको हो । 

किरात राई प्राज्ञिक गोष्ठी

खासगरी वल्लो किरात, माझकिरात तथा पल्लो किरात भएर बसेका किरातीहरुका इतिहास र अस्तित्वबारे चर्चामा आएपनि लिखित प्रमाणहरु कमै छन् । मुन्दुम, मातृभाषा र मिथकका आधारमा किरातीहरुका बारे गरिने व्याख्याहरु पटक पटक विरोधाभाष भइरहेका छन् । यसले गर्दा उपलब्ध स्रोत तथा साधनलाई फिल्टर गरेर अनुसन्धानमा आधारित किराती इतिहास लेख्नलाई सुझाव, सल्लाह तथा अन्तरक्रियाका लागि गोष्ठी गरेको किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले बताए । किरात राई प्रज्ञा परिषद्ले किरात राई यायोक्खाको अन्तरथङट्यागका रुपमा किराती भाषा संस्कृति संरक्षणमा काम गर्छ ।


गोष्ठीमा प्राडा नोबलकिशोर राई, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राई, पूर्वकुलपति बैरागी काइँला, कुलपति गंगाप्रसाद उप्रेतीलगायतका थुुप्रै प्राज्ञिक व्यक्तित्वहरु उपस्थित छन् । भाषाशास्त्री, समाजशास्त्री, संस्कृतिविद्, सरोकारवालासहित झण्डै १५० जनाको सहभागिता छ । किरात समुदायको संस्कार र संस्कृतिप्रति चासो राख्ने, अध्ययन तथा अनुसन्धान गरेका गैरकिरात प्राज्ञहरु पनि सहभागी छन् ।


काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार र शनिबार हुने गाेष्ठीमा किराती इतिहास, समाज, खम्बुवानबाट हराएका सन्तानहरु, मुन्दुम दर्शन, भाषा, संस्कार तथा संस्कृतिका बारेमा छलफल तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । यसअघि किरात संस्कृतिका बारेमा २०३९ मा झापामा प्राज्ञिक गोष्ठी भएको थियो ।

प्रकाशित : फाल्गुन ३, २०७५ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?