१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

के लेख्दै छ जाजरकोट ?

कान्तिपुर संवाददाता

खलंगा — झाडापखालाले बेलाबेला चर्चामा आइरहन्छ, कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोट । यहाँका कवि, लेखकहरू चाहिँ के लेखिरहेका छन् ? जिल्लामा दोस्रो पटक आयोजित राष्ट्रियस्तरको सिर्जना उत्सवमा राजधानीबाट आएका स्रष्टाहरूले नजिकबाट महसुस गरे ।

के लेख्दै छ जाजरकोट ?

आआफ्ना सिर्जना सुने, सुनाए । मुलुक संघीयतामा गइसकेको भए पनि स्थानीय रूपमा अवसरहरू निर्माण भइसकेका छैनन् । युवाहरू परदेसिनुको पीडा, दाइजो प्रथादेखि दुर्गम क्षेत्रको समस्या र द्वन्द्वकालीन चोट अझै निको हुन सकेको छैन । स्थानीय स्रष्टाहरूले कविता र गजलमा यसरी जाजरकोटको व्यथा सुनाइरहेका बेला राजधानीबाट आइपुगेका स्रष्टाहरूले भने आशा, उत्साह र सकारात्मक चेतनाको ढाडस दिए । ‘सद्भाव र सिर्जना’ थिममा समृद्धि र प्रेमको साइनो गाँसे रचनामार्फत ।


जिल्ला समन्वय समिति जाजरकोट र नेपाली कला साहित्य डट कम प्रतिष्ठानले गरेको ‘जाजरकोट सिर्जना उत्सव’ को माहोल जिल्लामा अहिलेसम्मकै उल्लासपूर्ण र भव्य थियो । ‘मेरो देश मेरो ध्येय’ शीर्षकको काव्य मेलामा सहभागी हुँदै गर्दा प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले भने, ‘जिससको यो हलमा अहिलेसम्मकै ठूलो सभा देखें ।’


हुन पनि जाजरकोटको साहित्यिक इतिहास त्यति लामो छैन । विसं २०२६ मा पहिलो पटक गीति पुस्तक ‘राष्ट्रिय संगीत सुधा’ निकालेका थिए योगेश्वर कार्कीले । त्यसको एक दशकपछि कथाकार अमर शाह, कवि राजेश्वर कार्की, दिलीप शाहहरूको समूहले हस्तलिखित साहित्यिक पत्रिका सुरु गरे । ‘प्रजातन्त्र पुनस्र्थापनापछि स्थानीय रूपमा छिटफुट कवि, लेखक त देखा परे, तर राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम या अभियान हुन सकेन’, राजधानी बस्दै आएका राजेश्वरले भने, ‘दुई वर्षअघि कला साहित्य डट कम प्रतिष्ठानकै पहलमा सिर्जना उत्सव भएपछि भने माहोल तातिएको छ ।’


यस पटक दोस्रो सिर्जना उत्सव गरिएको हो । उत्सवका लागि पोखरादेखि आइपुगेका थिए कवि तथा आख्यानकार सरुभक्त । काठमाडौंबाट अशेष मल्ल, विमल कोइराला, जंगव चौहान, युवराज नयाँघरे, हरिप्रसाद मानसाग्नि, मोमिला जोशी, सुलोचना मानन्धर, अमर शाह, मणि लोहनी, ठाकुर बेलबासे, शकुन्तला जोशी, अश्विनी कोइरालालगायत । जाजरकोटमा दुई दिन बिताएर आइतबार फर्केका स्रष्टाहरूको यो टोलीले ऐतिहासिक जाजरकोट दरबार, मालिका मन्दिर, भेरी नदीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको आग्रहमा ब्रिटिसहरूले बनाइदिएको झोलुंगे पुल लगायतको थलोहरूको भ्रमण पनि गरे ।


सिर्जना उत्सवमा भने स्थानीय स्रष्टाहरू हरि सन्दर्भ, चन्द्रबहादुर बुढा, पूर्ण समीर महतारा, धीरेन अनुपम, पृथ्वीबहादुर सिंह, नेहा केसी, अमिन सिंह, लालकुमार शर्मा, निरोज विश्वकर्मा, जनक संवेदक, अच्यूतप्रसाद शर्मा, लालबहादुर महातारा, सुनीता शर्मा, टुकुमाया घर्ती, पूजा बोहरा लगायतले कविता, गीत र गजल सुनाए ।


कवि पूर्ण समीर महतारालाई ‘ग्रेगोरी कला साहित्य पुरस्कार’ बाट सम्मानित भए । अमेरिकी समाजशास्त्री ग्रेगोरीले जाजरकोटमै झाँक्रीमाथि विद्यावारिधि गरेका थिए । पुरस्कार हस्तान्तरण गर्दै साहित्यकार सरुभक्तले भने, ‘साहित्य साधनामा जाजरकोटका युवाहरूको सहभागिता निकै लोभलाग्दो बन्दै रहेछ ।’


भेरी, नलगाड र छेडागाड नगरपालिकासँगै बारेकोट, कुशे, जुनीचाँदे र शिवालय गाउँपालिकाको समेत सहकार्य रहेको सिर्जना उत्सवमा गाउँ गाउँदेखि साहित्य पारखीहरू आएका थिए । सिर्जना उत्सवले आफूहरूलाई भौतिक विकास मात्र नभई सांस्कृतिक विकासतिर पनि अघि बढ्न प्रेरणा मिलेको दाबी गरे जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले । नेपाली कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिलाले आफूहरू यस्तै ध्येयका साथ मुलुकका विभिन्न थलोमा पुगेर साहित्यिक गतिविधि गर्दै आएको बताइन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?