कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बौद्धनाथमा स्रष्टा र सिर्जना

कान्तिपुर संवाददाता

काठमाडौँ — कला, साहित्य र रंगमञ्चमा स्थानयी सम्पदा र संस्कृति प्रवर्द्धन गर्ने ध्येयले सुरु भएको ‘जेसुम यात्रा’ को पाँचौं शृंखला शनिबार राजधानीको बौद्ध महाचैत्यमा सम्पन्न भएको छ ।

बौद्धनाथमा स्रष्टा र सिर्जना

कवि, लेखक, चित्रकार एवं रंगकर्मी सम्मिलित यो यात्रा खासमा हाइकिङ गर्दै स्थानीय सम्पदा र संस्कृति खोजी गर्ने अभियान हो । यस पटक सोनाम ल्होछारको सन्दर्भसमेत पारेर बौद्धमा सिर्जना यात्रा गरिएको अभियान संयोजक एवं कवि अनिता लामाले बताइन् ।


हाइकिङको सट्टा कवि तथा चित्रकारहरूले बौद्धनाथ महाचैत्यको एक घण्टा कोरा (परिक्रमा) गरेका थिए । ‘कोरा पनि एक प्रकार हाइकिङ नै हो,’ लामाले भनिन्, ‘झन् यो सांस्कृतिक र आध्यात्मिक चेतनासहितको हाइकिङ हो ।’ बौद्ध तामाङ कल्याण गुठीको सहकार्य रहेको यस पटकको यात्राअन्तर्गत कोरा सकाएपछि चित्रकार र कविहरूले स्थलगत सिर्जना गरेका थिए । सिर्जनापछि चित्र प्रदर्शनीसँगै कविता वाचन गरिएको उक्त यात्रामा साथ दिन स्थानीय प्रबुद्ध व्यक्तित्वदेखि सांसद कृष्ण राईसम्म पनि पुगेका थिए ।


कविहरूले विश्व सम्पदा सूचीमा परेको बौद्धनाथको सौन्दर्य, यसको सांस्कृतिक, धार्मिक महत्त्व, उत्पत्ति कथादेखि पछिल्लो सन्दर्भ समेत समेटेर कविता लेखेका थिए भने चित्रकारहरूले यिनै पक्षलाई वाटर कलरको माध्यमबाट क्यान्भासमा उतारेका थिए । स्थलगत सिर्जना अघि कवि तथा चित्रकारहरूलाई बौद्ध महाचैत्यको इतिहास र रोचक सन्दर्भहरूबारे बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामा र बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले प्रकाश पारेका थिए ।


स्थलगत सिर्जनापछिको कवि गोष्ठीमा कवि अनिताले ‘नाङसाल’ (बत्ती) शीर्षकमा बौद्धनाथ आसपासको परिदृष्य सिर्जनामा उतारिन् । प्राज्ञ एवं कवि शशी लुमुम्बुले ‘आदिम गीत’ शीर्षकमा विश्व सम्पदामाथि कोरेका थिए भने विना थिङले ‘छ्युमी’ शीर्षकको सिर्जना सुनाएकी थिइन् ।


रमेश कँडेल, शुक्र राई, विनु पोखरेल, गायत्री धिताल, वीरवल तामाङ, धर्मनन्द भट्ट, जगत तामाङलगायतले आ–आफ्ना सिर्जना सुनाउँदै गर्दा चित्रकारहरू एनबी गुरुङ, डिराम पाल्पाली, डिबी राई, विनोदकुमार गुप्ता र दीपेन्द्रमान बनेपालीले आआफ्ना सिर्जना प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीकै क्रममा चित्रकार डिराम पाल्पालीको बौद्ध ल्यान्डस्केप चित्रलाई एक ताइवानी नागरिकले १५ हजार रुपैयाँमा खरिद गरेका थिए ।


कवि गोष्ठीमा बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णसँगै वर्तमान अध्यक्ष चन्द्रमान लामा, लेखक एवं पूर्व वडाध्यक्ष नेपालजित लामा, वडाध्यक्ष दीपेन्द्र लामा, प्रदेश सांसद छिरिङ दोर्जे लामा, सञ्चारकर्मी वीरबहादुर वाइबा, सुरज लामा लगायतले स्रष्टाहरूको सिर्जनाप्रति प्रतिक्रिया दिएका थिए ।


सौन्दर्य या पहिचान अर्थ लाग्ने ‘जेसुम’ शब्द तामाङ साहित्यबाट आएको भए पनि यसले समग्रमा नेपाली राष्ट्रिय संस्कृतिको प्रतीकात्मक अर्थ दिने अभियान संयोजक लामाले बताइन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?