२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

साहित्य र कलाको वैकल्पिक उत्सव

पर्वत पोर्तेल

काँकडभिट्टा — साहित्य उत्सव गर्ने लहर चलेको छ । पोखरादेखि जनकपुरसम्म, काठमाडौंदेखि काँकडभिट्टासम्म । यी सहरमध्ये कुनैमा साहित्य उत्सव सम्पन्न भइसके । कुनैले तयारी गर्दै छन् । कुनै सहरमा उत्सव जारी छ । धेरैजसो ठूला साहित्य सम्मेलन वा वैचारिक गोष्ठीहरू काठमाडौं केन्द्रित हुन्थे । अचेल यस्ता कार्यक्रम मोफसलमा पनि हुन थालेका छन् । 

साहित्य र कलाको वैकल्पिक उत्सव

लिटरेचर फेस्टिभल नाम दिएर काठमाडौंबाहिर यो स्तरको ठूलो कार्यक्रम गर्ने पहिलो आँट भने नेपालको पूर्वी नाका काँकडभिट्टाले नै जुटाएको हो । २०६९ मा पहिलोपटक कला साहित्य उत्सव आयोजना गरेको काँकडभिट्टाले यस वर्ष उत्सवको चौथो संस्करण गरिरहेको छ । तीन दिने कला साहित्य उत्सवले नेपाल र भारतका लेखक, अनुसन्धाता एवम् अभियन्ताहरूलाई एउटै थलोमा जुटाएको छ । लेखपढमा रुचि भएका युवाहरूको खुकुलो समूह रिडर्स झापाले गर्दै आएको यो उत्सवमा चित्रकारितामा काम गर्ने स्थानीय देही आर्ट्स र नाट्य समूह परिवर्तन थिएटर पनि सामेल छ ।


पोखरा, काठमाडौं र भारतको जयपुरमा हुने उत्सवमा धेरैपटक सहभागी भइसकेकी कवि सरिता तिवारीको नजरमा काँकडभिट्टा उत्सवले चिन्तनको वैकल्पिक धारलाई प्रतिनिधित्व गर्छ । तिवारी भन्छिन्, ‘यो कार्यक्रम अरु भन्दा किन अर्थपूर्ण छ भने यसले संस्थापनलाई प्रश्न गर्ने काम गरेको छ ।’ लेखक राजेन्द्र महर्जनको बुझाइ पनि सरिताको जस्तै छ । ‘मूलधारमा छाएको भन्दा फरक ढंगले सोच्ने लेखक तथा अभियन्तालाई एक ठाउँमा जम्मा गर्न खोजेको छ, काँकडभिट्टाले । यतिले नै यो उत्सवलाई अरूभन्दा भिन्न बनाउँछ,’ उनी भन्छन् ।


उत्सवका लागि आवश्यक खर्च जुटाउन आयोजकहरू जनस्तरमा बढ्ता केन्द्रित भएका कारण सत्ता र बजारको प्रभाव न्यून भएको विश्लेषकहरूको ठम्याइ छ । ठूला व्यापारिक कम्पनीले उत्सवको टाइटल खरिद नगर्नुले पनि आयोजकलाई आफूले सोचे अनुसारका विषय र वक्ता छान्न सहज भएको बताइन्छ । आयोजक रिडर्स झापाले जारी गरेरै भनेको छ– ‘कार्यक्रमको रूपरेखा, ढाँचा, कार्यक्रममा उपस्थित वक्ता र विषयको छनोट आयोजक संस्थाका सदस्यहरूको सामूहिक छलफलबाट तय हुन्छ । यसमा आर्थिक सहयोग गर्ने संस्था वा व्यक्तिको कुनै भूमिका छैन/हुँदैन ।’


उत्सव संयोजक हरि तिम्सिनाले थप प्रस्ट पार्न चाहे, ‘हामी प्रायोजन भन्ने शब्द त्यति प्रयोग गर्दैनौं । उत्सवमा आर्थिक सहयोग गर्नेलाई सहयोगीका रूपमा सम्मान गर्छौं, कृतज्ञता ज्ञापन गर्छौं ।’


कुनै खास स्वार्थ राखेर फ्रायोजन गरिएका कार्यक्रममा विषय एवं वत्ता छनोटको स्वतन्त्रता कम हुने उनीहरूको दाबी छ । आयोजक समितिका सदस्य शैलेश दाहाल भन्छन्, ‘हामी विचारमा खुला छौं । कुनै खास राजनीतिक दलको स्वार्थका लागि यो कार्यक्रम गर्दैनौं । तर, पेचिला राजनीतिक विषय उठाउन पछि पर्दैनौं ।’ साहित्य, चित्रकला, नाटक लगायत कलाका हरेक फर्ममा राजनीति अन्तर्निहित हुने बुझाइ आयोजकको छ ।


उत्सवको यो चरित्रको प्रशंसा गर्ने अर्का स्रष्टा हुन् आहुति । ‘सत्ताधारीको चाहना सधैं जनताले चाकडी गरून् भन्ने हुन्छ तर यस्ता कार्यक्रमले सचेत मान्छेलाई मात्र नभई आम मान्छेलाई आलोचना गर्न सिकाउँछ,’ उनी भन्छन् । अघिल्लो उत्सवमा सहभागिता जनाएकी कवि तथा नारीवादी अभियन्ता प्रणिका कोयूले काँकडभिट्टाको उत्सवलाई अन्यक्रका कार्यत्रम भन्दा बढ्ता रुचाएको बताउँछिन् । ‘यहाँ उठाइने सवाल समाजले घोत्लिन पर्ने सवाल हुन्छन् । छोटो समयमा सबै विषय समेट्न नसके पनि यहाँ कुनै पनि विषयको राजनीतिक अर्थ खुल्ने गरी छलफल चलाइने हुनाले राम्रो लाग्छ ।’


बहसै बहस

कला साहित्य उत्सवको दोस्रो दिन आइतबार स्रष्टा, समाजशास्त्री, सञ्चारकर्मीदेखि राजनीतिकर्मीसम्मले विभिन्न विषयमाथि अर्थपूर्ण बहस गरे । समाजमा हुर्किंदै गएको बिचौलिया (दलाली) प्रवृत्तिको चिरफार गरे, लेखनमा नवीनता खोतले अनि सांस्कृतिक राष्ट्रवादका आयामहरूभित्र पसे । यी बहसमा वक्ताहरूबीच चर्काचर्की नै भयो ।


‘दलालीको दलदल’मा सांसद राम कार्की, लेखक विष्णु सापकोटा र पत्रकार अखिलेश उपाध्यायले छलफल गरे । निरोज कट्टेलले सहजीकरण गरेको बहसमा बजारमुखी अर्थतन्त्र र पुँजीवादले पैदा गरेका समस्यामाथि छलफल गरियो । सांसद कार्कीले पुँजीवादले समाजका हर निकायमा दलाली प्रवृत्ति हुर्काएको जिकिर गरे । उनले शिक्षा, स्वास्थ्यदेखि विकास निर्माणको हर तहमा देखिएको बिचौलिया प्रवृत्तिलाई पुँजीवादको सन्तानको संज्ञा दिए ।


लेखक सापकोटाले नेपाली नेताहरूले समाजवाद र लोकतन्त्रको पेन्सन खाइरहेको आरोप लगाए । भने, ‘दलालीको दलदल बढ्नुको मूल कारण यही हो ।’ पत्रकार उपाध्यायले पार्टीभित्रको दलालीपन हावीले दलहरूलाई नै समस्याग्रस्त बनाएको भन्दै चिन्ता जनाए । ‘पर्यावरणको खबर’मा पत्रकार नारायण वाग्ले र रमेश भुसाल गफिए । सागर शिवाकोटीले सहजीकरण गरेको यो सत्रमा पर्यावरण चिन्तासँगै यसले पार्ने समस्याबारे बहस भयो । पत्रकार वाग्लेले भने, ‘सही योजनाबिनाका जथाभावी विकासको हस्तक्षेपले पर्यावरण ध्वस्त पार्‍यो ।’


पहिलो सक्रमा कविहरू विनोदवित्रम केसी, अभय श्रेष्ठ र गुरुङ सुशान्तले ‘काव्यमाथि विद्रोह’बारे छलफल गरे । प्रणिका कोयूले सहजीकरण गरेको सक्रका वत्ताहरूले लेखकहरू इमान्दार बन्नुपर्ने बताए । चित्रकारहरू एससी सुमन, सरोजा खड्गी र पवन राजवंशीले लोक चित्रकलाबारे विमर्श गरे । देही आर्टका कलाकार छितेन शेर्माले सहजीकरण गरेको छलफलमा मैथिली, थारू, राजवंशीलगायत लोक चित्रकलाबारे बहस चल्यो ।


‘सांस्कृतिक राष्ट्रवाद’बारे मानवशास्त्री डम्बर चेम्जोड, लेखक अर्चना थापा र राजेन्द्र महर्जनले आ–आफ्ना विचार सुनाए । गुरुङ सुशान्तले सहजीकरण गरेको यो सक्रका वत्ताहरूले राष्ट्रवादका विभिन्न चरित्रबारे चर्चा गरे । अन्तिम सत्रमा लेखक आहुतिले ‘दक्षिणपन्थको सांस्कृतिक जग’ बारे बोले । उनले दुई तिहाइको सरकारले उरालिरहेको समृद्धिको नारालाई दक्षिणपन्थको ‘टेक्ने लौरो’ को संज्ञा दिए ।


इतिहासमाथि प्रश्न

शक्ति र सत्तामा रहेकाले बताएका इतिहासले कस्तो राजनीतिको पृष्ठपोषण गरेको छ ? नाटक ‘बिटुलो आख्यान’ नाटकले बहस गर्छ । कला साहित्य उत्सवको सन्दर्भ पारेर परिवर्तन थिएटरले आइतबार मञ्चन गरेको नाटकले इतिहासबारे फरक बुझाइ राख्ने पात्रहरू बीचका बौद्धिक घर्षण एवं संवादबाट बहस गर्न खोजेको छ ।


यस नाटकका पात्रहरूका लेखन, राजनीति, समाज र खासगरी इतिहासबारे बुझाइसँग सम्बन्धित घटनाको नाटकीयताबाट समेत इतिहास लेखनको जटिलता उजागर गर्न खोजिएको छ । धेरै मुलुकहरूमा राज्य एवं शासकले लेखाएका र प्रचार गराएका इतिहासमाथि सन्देह गरिएको छ । नेपाली समाजमा पनि इतिहासमाथि किन सन्देश नगर्ने ? यो प्रश्नको उत्तर नाटकमा पाइन्छ ।


खासगरी, अल्पसंख्यक र बहिष्कृत, निम्नवर्गीय मजदुर र किसान, सत्ता–इतरका बौद्धिक र अन्वेषकहरूले मूलधारको इतिहासमाथि प्रश्न उठाए । यी प्रश्नले इतिहास बारेका नयाँ अनुसन्धान गर्न मिल्यो । तर, यो काम सहज भएन । त्यसरी प्रश्न गर्ने र इतिहासबारे नयाँ खोज गर्ने क्रममा ठूला बौद्धिक घर्षण एवं संघर्ष निम्तियो । त्यस्तैखाले द्वन्द्व वरपर ‘बिटुलो आख्यान’ को रचना गरिएको लेखक उज्ज्वल प्रसाईंले सुनाए । नाटक हेरेपछि लेखक खगेन्द्र संग्र्रौलाको प्र्रतिक्रिया थियो, ‘इतिहासमाथि प्रश्न गर्ने, सन्देह गर्नुपर्छ भन्ने भावलाई नाटकमा व्यक्त गरिएको पाइयो ।’


नाटकमा संगीत स्रोताले लेखेको ‘तिमी चिन्दैनौ कोही जो किताबमा छैन रे...’ बोलको गीत समेत प्रयोग गरिएको छ । जसले किताबमा नलेखिएका तमाम उत्पीडित, दलित र सीमान्तकृतको आवाज बोलेको छ । कवि अभय श्रेष्ठको सन्देह गर भन्ने कवितालाई समेत निर्देशक गणेश बस्नेतले सही ढंगले प्रस्तुत गरेका छन्, जसले नाटकलाई अझ राम्रो बनाउन सघाउ पुगेको छ । नाटकमा लोमस पौडेल, कविता नेपाल, गणेश बस्नेत, एन्जल खड्का, शिशिर चौंलागाई, सम्झना सुब्बा, पूजा आचार्य, लीला विष्ट, अभिषेक गर्तौला लगायतले अभिनय गरेको छ । यो नाटक उत्सवअन्तर्गत नै तीन दिनसम्म नियमित मञ्चन हुनेछ ।


यसका साथै, देही आर्ट्सले विभिन्न सामयिक विषय र चासोमाथि चित्रकलाको प्रदर्शनी गरेको छ । चित्रमा महिलाका मुद्दादेखि पर्यावरणका चिन्तासम्म समेटिएको देही आर्ट्सका छितेन शेर्पाले बताए । स्थानीय फोटोग्राफर देवेन्द्र खरेलले खिचेका चराका तस्बिर समेतलाई उत्सवमा समेटिएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?