कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कला साहित्य उत्सवको मैझारो

कान्तिपुर संवाददाता

काँकडभिट्टा — समाजवादी चिन्तक प्रदीप गिरिको सम्भाषणसँगै काँकडभिट्टामा जारी ३ दिने कला साहित्य उत्सवको मैझारो भएको छ । अन्तिम दिनको अन्तिम सत्रमा मञ्च उक्लिएका गिरिले ‘प्र्रेम र यौन ः पहेंली अनेक’ शीर्षकमा अनुभव साटे ।

कला साहित्य उत्सवको मैझारो

खासगरी महात्मा गान्धी र रजनीशको यौनजीवनलाई उनले वर्णन गरे । ‘गान्धीमा पहिला यौनप्रति ज्यादै धेरै आशक्ति थियो,’ पाका चिन्तकले सुनाए, ‘तर ३५ वर्ष लागेपछि ब्रह्मचारी बन्ने घोषणा गरे ।’ ५० वर्षपछि पुनः सरलादेवी नामक महिलासँगको प्रेममा गान्धी परेका थिए ।


पहिलो सत्रमा ‘समृद्धि यात्राको संकट’ देखि ‘पुरुष मुक्ति कसरी ?’ लगायत आधा दर्जन विषयमा गरमागरम बहस भयो । ‘समृद्धि यात्राको संकट’ बारे अर्थशास्त्री खगेन्द्र प्रसाइँ र विश्व पौडेलसँग विनोद तिम्सिना बहरमा उत्रे । प्रसाइँले सरकारले रेल र पानीजहाज ल्याउन लागेको एउटा प्रसंगमा भने, ‘रेल र पानी जहाज ल्याउनु ठूलो कुरा होइन । ठूलो कुरा त, नेपालले पानीजहाज रेलमा के पठाउने भन्ने हो ।’ पौडेलले भने, ‘संघको काम गराइमा इमानदारितासँगै दक्षतामा समस्या छ त्यही कारण प्रान्तीय सरकार

समस्यामा छ ।’


पत्रकारहरू शिव गाउँले, सुविना श्रेष्ठ र संगीतश्रोतासँग नारायण कडरियाले ‘समाचार, झूटा समाचार र खरिद समाचार’ शीर्षकमा बहस गरे । वक्ताहरूले सत्ता र स्वार्थको जन्जालमा फसेको नेपाली पत्रकारिताको चिरफार गर्न भ्याए । वक्ताहरूले ठूला मिडियाको निर्णायक तहमा एक समुदाय र एक लिंगको मात्रै बाहुल्य रहेको बताए ।


‘सत्ता र अभिव्यक्ति स्वतन्त्रता’ शीर्षकमा सीके लाल र खगेन्द्र संग्र्रौलाले विचार राखे । सीके लालले सत्ता असहिष्णु हुँदा त्यसको बेफाइदा कालान्तरमा सत्तालाई नै हुने बताए । ‘सत्यको खोजी निरन्तर भइरहनुपर्छ नत्र सत्ता कुहिँदै जान्छ,’ लालले थपे, ‘त्यसको प्राथमिक सर्त अभिव्यक्ति स्वतन्त्रता हो ।’ लालपछि मञ्चमा उक्लिएका संग्रौलाले इतिहासमा आफूले झेलेका अभिव्यक्ति स्वतन्त्रताका अनुभूति सुनाए ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?