कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आख्यानमा नारी चिन्तन

नेपाली नारी कुनै पनि हिसाबले कम छैनन्, नारी चेतना सबल बनाउन प्रतिष्ठान सधैं सहयोगी रहनेछ – जगमान गुरुङ
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली आख्यानमा नारी चिन्तन कसरी प्रस्तुत हुँदै आएको छ ? राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बहस चल्यो । प्रतिष्ठानकै आख्यान विभाग र गुञ्जन समूहले गरेको कार्यक्रममा ‘नेपाली महिला आख्यानमा नारी चिन्तन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै स्रष्टा कुमारी लामाले ‘योगमायाबाट आरम्भ भएको नारी चेतना अहिले सशक्त ढंगबाट अगाडि बढिरहेको’ दाबी गरिन् । 

अहिलेका महिला कथाकारका कथामा नारी चिन्तन प्रचुर मात्रामा मुखरित भइरहेको पनि उनले औंल्याइन् । ‘आजका नारीहरू कमजोर छैनन्,’ उनले भनिन्, ‘समाजमा नारी चेतना जसरी बलियो भएर आइरहेको छ, त्यसको प्रभाव नेपाली आख्यानमा पनि पर्दै आएको देखिन्छ ।’ कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक बिन्दु शर्माले पनि पछिल्लो समय नारी लेखन स्वयं पनि सशक्त बन्दै आएको दाबी गरिन् ।


प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले नेपाली नारी पुरुषभन्दा कुनै पनि हिसाबले कम नभएको दाबी गर्दै नारी चेतना सबल बनाउन प्रतिष्ठान सधैं सहयोगी रहने बताए । साहित्यकार एवं चित्रकार भद्रकुमारी घलेले पछिल्लो समय साहित्यमा मात्रै नभई हरेक क्षेत्रमा नारी सहभागिता लोभलाग्दो बन्दै गइरहेको बताइन् ।


आख्यान विभाग प्रमुख एवं प्राज्ञ माया ठकुरीले ‘मिटु अभियान’ को प्रशंसा गर्दै आफ्नो हकको वकालत र गलत कुराको चिरफार गर्न नारी अब अघि बढ्ने दाबी गरिन् । कार्यक्रममा गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, स्रष्टाहरू रजनी ढकाल र उपमा आचार्यले नारी शक्तिमाथि प्रकाश पारेका थिए ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?