एकै वर्षमा ७ पुस्तक

कान्तिपुर संवाददाता

धनकुटा — लौरोको सहाराले मुस्किलले मात्र हिँडडुल सम्भव छ । थरथर काप्ने गरेका हात सम्हाल्दै पुस्तक लेखनमा उनको जाँगर अचम्म लाग्दो छ । एकै वर्षमा सातवटा पुस्तक लेखेका उनी अरू दुइटा पुस्तक लेख्न तल्लिन छन् ।

एकै वर्षमा ७ पुस्तक


८० वर्षीय टीकाप्रसाद लामिछानेले हालसम्म २१ वटा पुस्तक प्रकाशन गरिसकेका छन् । धेरैले उनलाई ‘लाइब्रेरी बा’ भनेर चिन्छन् । आफ्नै लगानीमा घर किनेर पुस्तकालय बनाएका लामिछानेले गत वर्ष झन्डै तीन करोडको सम्पत्ति पुस्तकालयकै नाममा दान गरेका थिए । धनकुटामा स्तरीय विश्वभाषा पुस्तकालय खोलेका कारण उनको उपनाम लाइब्रेरी बा भएको हो ।


उनै लाइब्रेरी बाले अघिल्लो एकै वर्षको अवधिमा सातवटा पुस्तक लेखेर प्रकाशनमा ल्याएका थिए । यति बेला आगामी वर्ष दिनभित्र प्रकाशन गर्ने सुरमा थप दुइटा पुस्तक लेख्न व्यस्त छन् । ‘जीवन रहुन्जेल र सकुन्जेल लेखन कार्यबाट भाग्दिन’, उनले भने, ‘जति सक्छु, उति लेखिरहन्छु ।’


अधिकांश पुस्तक अनुसन्धान र खोजमुलक छन् भने केही कविता र गीतका छन् । अघिल्लो एक वर्षको अवधिमा उनले प्रकृतिकी रानी धनकुटा, कालयी वाणी, आर्योद्देश्य रत्नमाला, महर्षी दयानन्द सरस्वती, तपोभूमि विश्रान्ति, चाणक्य सूत्रावली र कविता गीत संग्रह अभिव्यक्ति प्रकाशन गरेका छन् ।


आफ्नो जायजेथा सामाजिक क्षेत्रका लागि सुम्पिएर शोध र अनुसन्धानमा जुटदै आएका उनले सात वर्षअघि धनकुटा ७, देवानटारमा गर्गाचार्य विश्वभाषा पुस्तकालय स्थापना गरेका छन् । लामिछानेलाई वृद्धावस्थामा आराम गरेर बस्ने इच्छा छैन । सेतै दाह्रीजुँगा भएका दौरा सुरूवाल, कोट र टोपीमा सजिने हँसिला, मिजासिला स्वभावका उनी निकै भद्र देखिन्छन् ।


उनको व्यक्तित्व जस्तो देखिन्छ, काम र उत्साहले उनीभित्रको सौन्दर्यलाई पनि चिनाउन सहज हुने साहित्यकार घनश्याम बराल बताउँछन् । बराल र लामिछानेको सहकार्यमा धनकुटाको साहित्यिक इतिहास लेखन कार्य जारी रहेको उनले बताए । यस्तै, अर्को पुस्तक भने लामिछानेको आफ्नै जीवनमा आधारित छ । साविकको भीरगाउँ र हालको धनकुटा नगरपालिका ३ मा जन्मिएका उनी विराटनगरमा बसाइ सरेर गए पनि पुनः सात वर्ष अघि जिल्ला फर्किएर साहित्य सृजना र शोधमा जुटेका छन् । पुस्तकप्रति मोह भएकै कारण पुस्तकालय खोलेको उनले बताए ।


लामिछानेले पहिलो कृति २०३७ सालमा अभिव्यक्ति कविता संग्रह प्रकाशन गरेको जानकारी दिए । उनका अनुसन्धान, अनुवाद, खण्डकाव्य, यात्रा निबन्ध लगायत पुस्तक प्रकासित भइसकेको छ ।


‘आफ्नै जायजेथाबाट रकम जुटाएर पुस्तक छपाइमा खर्चिदै आएको छु’, लामिछानेले भने, ‘छपाइको आर्थिक प्रतिफल नफर्की पनि समाजका लागि सानो योगदान सम्झेर आत्मासन्तुष्टि लिंदै आएको छ ।’ उनले आफ्नै प्रयासमा अक्षय कोष स्थापना गरेर आधा दर्जन पुरस्कार वर्षेनी प्रदान गर्दै आएका छन् । भास्कर लामिछाने लोक संस्कृति, गंगाराम भद्रशिला स्मृति, धनवाणी स्मृति, दुल्लभ लामिछाने स्मृति लगायत पुरस्कार पनि आफ्नै कोषबाट सञ्चालन गर्दै आएको बताए । यसका लागि करिब पाँच लाख बढी रकमको अक्षय कोष स्थापना गरेका छन् ।


यसैको व्याजबाट पुरस्कार प्रदान गरिने उनले बताए । समाजमा पुर्‍याएको योगदानको कदर गर्दै दर्जनभन्दा बढी क्षेत्रीय तथा राष्ट्रिय पुरस्कार र सम्मानबाट उनी सम्मानित भइसकेका छन् । विभिन्न अनुसन्धान र शोधका लागि उनले नेपालका अधिकांश जिल्लाको समेत भ्रमण पूरा गरिसकेको छन् । भारतका विभिन्न प्रान्त र भुटान, बंगलादेशलगायत मुलुकको भ्रमण गरेका छन् । पछिल्लो समय स्वास्थ्य प्रतिकूल रहेका उनी सकुञ्जेल साहित्य सृजना र अनुसन्धानमा लागिरहने अठोटमा छन् ।


प्रकाशित : फाल्गुन २७, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?