छामेर पढ्ने मुक्तक

काठमाडौँ — कार्यक्रम सञ्चालिका दृष्टिविहीन । सिर्जना सुनाउने पनि उस्तै । ब्रेललिपि छाम्दै सरिता अर्याल र मुना मञ्जरीले मुक्तक वाचन गर्दै दर्शकदीर्घाबाट ‘सही हो सही हो...’ भन्ने पनि दृष्टिविहीन ।

छामेर पढ्ने मुक्तक

पहिलोपटक स्रष्टा रामकाजी कोनेले मुक्तकलाई ब्रेललिपिमा ल्याउँदै गर्दा साहित्यका पारखी दृष्टिविहीनहरू खुसी भए । राजधानीमा शनिबार कोनेले ‘मुक्तक मोह’ नामक कृतिलाई ब्रेललिपिमा ल्याएका हुन् । नेपाली साहित्यमा यो नै पहिलो ब्रेललिपि मुक्तक कृति हो । यसअघि कनकमणि दीक्षितले यात्रा उपन्यास ‘भक्तबहादुर भ्यागुतो’ लाई ब्रेललिपिमा ल्याएका थिए ।

पुस्तक लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ‘फरक क्षमता राख्नेहरूका लागि यसरी साहित्यिक कृति आउनु सुखद्’ रहेको बताउँदै यसले दृष्टिविहीन प्रतिभालाई आत्मबल दिने दाबी गरे । गीतकार रत्नशम्शेर थापाले कोनेको कार्यको प्रशंसा गर्दै नेपाली साहित्यमा नवीन कार्य भएको भन्दै प्रशंसा गरे ।

अर्का स्रष्टा रमेश पौडेलले नेपाली मुक्तकको आयाम फराकिलो बनाउन ब्रेललिपिको कृतिले सघाऊने दाबी गरे । ‘मुक्तक मेला’, ‘मुक्तक मन्त्र’ र ‘मुक्तक मोहनी’ नामक कृति ल्याइसकेका कोनेले चौथो कृतिको माध्यमको रूपमा ब्रेललिपि रोजेका हुन् । ‘दृष्टिविहीनहरू आफैंमा दृष्टिविहीन हैनन्,’ उनले भने, ‘खासमा माध्यमको समस्या मात्रै भएको हो । आँखा देख्ने भन्दा पनि बढी प्रतिभावान हुन्छन् दृष्टिविहीन ।’

कोनेकै मुक्तक सुनाउन स्टेज चढेकी मुना मञ्जरीले सही थपिन्, ‘जसरी तपाईंहरू हिँड्न कार या मोटरसाइकलको सहयता रोज्नुहुन्छ, हामीलाई पनि हिँड्न सेतो छडीको सहायता चाहिन्छ । माध्यममात्रै फरक हुन् । काम फरक हैन ।’ यसपछि उनले ब्रेललिपि छाम्दै पढिन्–

गौरव र गरिमा सबै

सिन्कीकै भाउमा फालेपछि

भीडभाडको मृत्युमाथि

राजनीतिक कात्रो हालेपछि

गन्नै गाह्रो भो

सहिदको संख्या यो देशमा

मात्र रु दस लाखमा

किनबेच हुन थालेपछि


कार्यक्रम सञ्चालन दृष्टीविहीन प्रतिभा आष्मा अर्यालले गरेकी थिइन् । सहभागी अतिथि र दर्शकले उनको क्षमताको तारिफ गरेका थिए ।

प्रकाशित : चैत्र ४, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?