कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कवितामार्फत नारी चेतना

काठमाडौँ — साहित्यमा धेरै रचना हुने विधामा कविता पर्दै आएको छ । नेपाली साहित्यमा यो विधा लोकप्रिय पनि छ । साथै, कवितामा नारी हस्ताक्षर गुणस्तरीय ढंगले अघि बढेको समालोचकले बताएका छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य विभाग र महिला अध्ययन केन्द्रको संयुक्त आयोजनामा सोमबार कमलादीमा सम्पन्न ‘समकालीन नेपाली कविताका नारी हस्ताक्षर’ विषय गोष्ठीमा ऊक्त विचार व्यत्त गरेका हुन् । कार्यपत्र प्रस्तुत गर्दै डा. गीता त्रिपाठीले नेपाली कविताको पहिलो नारी कवि ललितत्रिपरासुन्दरी मानिएकी उल्लेख गरिन् । उनी १८८१ सालतिरकी सक्रिय कवि हुन् । त्रिपाठीले त्यसयता नेपाली कविता फाँटमा दर्जनौं महिला कविले लेखनलार्ई बल पुर्‍याएको चर्चा गरिन् ।


नेपालको राजनीतिक परिवर्तनहरूसँगै नारी स्रष्टाले चेतनाको बीजारोपण गरेको समालोचक त्रिपाठीले बताइन् । ‘पारिजातको आगामनले नेपाली साहित्यका आख्यान र कविता दुवै विधामा विचार र शिल्पका दृष्टिकोणले युगान्तकारी फड्को मारेको छ,’ २०४६ सालपछिको महिला कविहरूको उपस्थिति ज्यादै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले भनिन्, ‘पारिजातको उदयले नेपाली कवितामा नारीवादी चिन्तन थपेको छ । पारिजात नै समकालीन नारी स्रष्टाहरूमध्ये प्रथम र सर्वोच्च नारी हस्ताक्षर हुन् ।’ राजनीतिक परिवर्तनसँगै वर्गीय, जातीय विभेदको विरोधसँगै प्रकृति, पर्यावरण र प्रविधि संस्कृतिका विविध विषयमा कविता लेखन विस्तार भएको समालोचक त्रिपाठीले बताइन् ।


कार्यपत्रमाथि टिप्पणी गर्दै डा. रजनी ढकालले नारी कविहरूले नारीवादी आधार स्तम्भ निर्माण गरेको र त्यसमा पुरुष स्रष्टाको साथ रहेको उल्लेख गरिन् । ‘तर, एक नारी ममताकी खानी हुन् जो आमा, दिदी, बहिनी, छोरी भनेर बुझदाबुझदै मर्मलाई बांगोटिंगो प्रहार गर्ने पुरुष स्रष्टा खेदका पात्र बनेका छन्,’ ढकालले भनिन्, ‘पछिल्ला नारी स्रष्टाका शक्तिशाली कविताले नयाँ आयाम सिर्जना गरेका छन् ।’


अर्की टिप्पणीकर्ता पूर्वसभासद प्रभा बज्राचार्यले राजनीतिक अभियन्तासमेत रहेका नारी कविहरूको नाम र योगदानलाई भुल्न नहुने बताइन् ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?