२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

इलाममा साहित्य चर्चा

विप्लव भट्टराई

इलाम — नेपाली साहित्यका हरेक पाटोका बहसमा चर्चित साहित्यकारहरू इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा भेला भएका छन् ।

इलाममा साहित्य चर्चा

साहित्य पर्यटन महोत्सवका क्रममा फरक ढंगले सञ्चालन गरिएको कार्यक्रममा साहित्य सिर्जना गर्ने तौरतरिकादेखि नेपाली साहित्यका वर्तमान पाटा र साहित्यमा स्थानीयताका विषयमा पनि खुलेर बहस गरिएको थियो ।


कान्तिपुर दैनिकका प्रधान सम्पादक तथा लेखक नारायण वाग्ले र लेखक राजेन्द्र मुकारुङको ‘किन र कसरी लेख्ने’ बहसको निष्कर्ष थियो, पाठकलाई केन्द्रबिन्दुमा राखेर विषयवस्तु छनोट हुनुपर्छ । पत्रकार टीकाराम यात्रीसँगको छलफलमा कल्पनासँगै यथार्थपरक विषयवस्तुले पुष्टि गरिनुपर्छ भन्नेमा पनि लेखकद्वय सहमत देखिन्थे । समाजको यथार्थ उतार्नुसँगै लेखकको सन्तुष्टिका लागि लेख्ने वाग्लेको भनाइ थियो ।


विषयवस्तुको चयनसँगै अध्ययनशिलता बुझ्नु पनि लेखकको पहिलो कर्तव्य भएको उनले बताए । प्राध्यापक अभि सुवेदीले राजधानी र मोफसलको साहित्यबारे चर्चा गर्दै काठमाडौं बसेर सबै कुराको नेतृत्व गर्दा असन्तुष्टि बढेको बताए । सुदूरपूर्व इलामको मंगलबारेमा यो बहस हुनु पनि केन्द्रीकृत मानसिकता भत्कँदै गएको उनको भनाइ थियो ।


उनले साहित्यमा राजधानीको मानसिकता राख्ने सानो विचारलाई तोड्नुपर्ने धारणा राखे । साहित्यमा राजधानी र मोफसल नहुने भन्दै प्राध्यापक सुवेदीले जहाँ बसेर सिर्जना गरिन्छ, त्यही केन्द्र हुने बताए । कार्यक्रमको अर्को शृंखलामा साहित्यमा स्थानीयताको महत्त्वका विषयमा छलफल चलाइएको थियो । बहसमा हाङयुक अज्ञात, मुनाराज शेर्मा र राज माङलाक वक्ताका रूपमा सहभागी थिए ।


पत्रकार समीरबाबु कट्टेलले चलाएको बहसले स्थानीय पहिचानबिनाको साहित्य अधुरो रहने निष्कर्ष निकाल्यो । भारतीय साहित्यबाट नेपाली साहित्य प्रभावित रहेको भन्दै विश्व साहित्यमा नेपालीपन बोकेको लेखन पुग्न नसकेकोमा वक्ताहरू सहमत देखिन्थे ।


यहाँको मौलिकपनालाई समेटिएर राम्रा साहित्य सिर्जना भए पनि अरू राष्ट्रले हामीलाई हेर्ने दृष्टिकोण र राज्यले उपेक्षा गरेका कारण पनि समस्या भएको उनीहरूको तर्क थियो । राम्रा साहित्यलाई नेपाली अनुवादकले नै अंग्रेजीमा उतार्न सके यहाँको मौलिकता नहराउनेमा लेखकहरू एकमत रहे ।


नेपाल प्राज्ञ प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य प्राध्यापक गोपीन्द्र पौडलले समसामहिक विषयमा विवेचना गरेका थिए । आइतबारसम्म चल्ने महोत्सवको उद्घाटन गर्दै पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले नेपाली भाषाले सबैलाई एकतामा बाँधेको बताए ।

प्रकाशित : चैत्र २४, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?