कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दुई देशका कविले सुनाए कविता

अर्जुन राजवंशी

दमक — नेपाल र भारतका दुई दर्जनबढी कविहरुले शनिबार दमकमा आ-आफ्ना कविता सुनाए । नेपाली साहित्यको विगत र वर्तमान अवस्थाको चिन्ता र चासोका कवितामार्फत् कविहरुले आफैलाई थप पुरस्कृत हुनुपर्ने आवाज उठाए । 

दुई देशका कविले सुनाए कविता

मुसरधारे वर्षाकाबीच बिहान ८ बजे सुरु भएको कविता वाचन कार्यक्रममा भारतबाट आएका कविहरु मुख्य अतिथि थिए । कार्यक्रम प्रतिभा निकेतन र विद्याशिल्पा एकेडेमी दमकको साहित्य विभागले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रममा भारत सिलिगुडीबाट कवि मुक्ति उपाध्याय बराल र सिक्किमबाट कवि अमर बानियाँ 'लोहोरो' आएका थिए । प्रा.डा.गोविन्द भट्टराईको संयोजनमा भएको कार्यक्रममा भारतीय कविद्वय उपाध्याय र बानियाँको कृतिमाथि विमर्श पनि गरिएको थियो ।


नेपाली भाषा, साहित्यमा निरन्तर कलम चलाइरहेका कवि उपाध्यायको निबन्ध संग्रह 'यस्तै उस्तै मनका विचार' माथि चर्चा गरिएको थियो । संग्रहमाथि डा.बेन्जना शर्माले टिप्पणी गरेकी थिइन् । कवि उपाध्यायले निबन्धमा आफ्ना जीवनकालका महत्वपूर्ण भोगाईहरु भावी पुस्तालाई प्रेरणा हुने किसिमले प्रस्तुत गरेको टिप्पणीकार शर्माले बताइन् । कवि बानियाँको कविता संग्रह 'भाँचिएको चस्मा' माथि समेत विमर्श गरिएको थियो । दमकका कवि शिव प्रणतले टिप्पणी गर्दै नेपाली साहित्यजगतमा एउटा स्तरीय कृति समावेश भएको बताए । उनले कृतिमा गरिएको भाषा चयन र प्रस्तुतिले नेपाली पाठकहरुलाई थप बौद्धिक बनाउने दाबी गरे ।


कवि उपाध्याय र बानियाँले भारतमा बसेपनि नेपाली भाषा, साहित्यका लागि गरिएका प्रयासहरुबारे जानकारी पस्किए । उनीहरुले आआफ्ना उत्कृष्ट रचनाहरु समेत प्रस्तुत गरे । उनीहरुले नेपाल-भारत सीमानालाई छिचोलेर दुवै देशका कविहरु सँगै भेला भएर आपसमा रचना सुन्ने र सुनाउन पाउँदा खुसी लागेको अनुभूति सुनाए ।


कार्यक्रममा नेपालतर्फका कविहरु प्रा.डा. गोविन्द भट्टराई, मोहन भण्डारी, गोपाल भण्डारी, झाक्री खोले, वरिष्ठ गायक एलपी जोशी, लोकगायक लक्ष्मीप्रसाद खनाल, कविहरु विन्दु मुखदर्शक, जयप्रसाद भट्टराई, बाबुराम पोखरेल, खगेन्द्र भट्टराई, बिष्णु न्यौपाने, टंक पाठक, कुमार खड्का, हरिप्रसाद न्यौपाने, सुजन अधिकारीलगायतले आफ्ना रचना सुनाएका थिए ।

प्रकाशित : चैत्र २५, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?