काइँला र सरुभक्तलाई कलाश्री

काठमाडौँ — यस वर्षको राष्ट्रिय कलाश्री सम्मान साहित्यकार बैरागी काइँला र कलाश्री पुरस्कार साहित्यकार सरुभक्त श्रेष्ठलाई दिइएको छ । लामो समयदेखि भाषा साहित्यमा अथक योगदान पुर्‍याएबापत् काइँला र श्रेष्ठलाई नेपाली कला साहित्य डटकम प्रतिष्ठानले सम्मान गरेको हो ।

बिहीबार राजधानीमा उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान तथा पुरस्कार हस्तान्तरण गरे । सम्मानमा दोसल्ला र ताम्रपत्र रहेको थियो भने पुरस्कारमा १ लाख रुपैयाँसहित ताम्रपत्र रहेको थियो ।


त्यस्तै, कवि तथा अनुवादक सुमन पोखरेललाई ५० हजार रुपैयाँसहित यस वर्षको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार दिइयो भने २५ हजार रुपैयाँ रहेको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार नगेन्द्रराज शर्मालाई दिइयो । चित्रकार एरिना ताम्राकारलाई २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार र भारतस्थित कन्नड भाषासाहित्य परिषदका अध्यक्ष मनु बालिगरललाई ‘नेपाल सम्मान पुरस्कार’ दिइयो ।


उपराष्ट्रपति पुनले कला र साहित्यबाट समाजमा रहेको विकृति, विसंगति उजागर हुनुपर्ने औंल्याए । ‘साहित्यले समाजको शल्यक्रिया गर्नुपर्छ,’ उनले भने, ‘साहित्यले पनि राष्ट्रनिर्माणको रोडम्याप दिन सक्छ ।’ सम्मान ग्रहण गर्दै सरुभक्तले कला र साहित्यले राष्ट्रियताको मूल मर्मलाई बुझ्नुपर्ने बताए ।


नयाँ नेपालमा नयाँ नै साहित्य र संस्कृतिको विकास गर्नुपर्ने पनि उनले औंल्याए । कार्यक्रममा कन्नड भाषासाहित्य परिषद्को सहकार्यमा कलासाहित्य डटकम प्रतिष्ठानले निकालेको ५१ जना कन्नड कविहरूको नेपाली अनुवाद कृति ‘भारत शाश्वत आवाज’ को पनि सार्वजनिक गरियो ।

प्रकाशित : चैत्र २९, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?