आख्यानतिर भूपीन

कान्तिपुर संवाददाता

काठमाडौँ — कविता हुँदै आख्यानतिर पस्ने लेखक थुप्रै छन् । यो पंक्तिमा थपिएका छन् स्रष्टा भूपीन खड्का । साहित्यमा भूपीन मात्रै लेख्ने भने यिनी कविता र निबन्ध हुँदै उपन्यास लेखनमा पनि पसेका हुन् ।

कवि भूपीन आफ्नो पहिलो उपन्यास ुमैदारो’ लोकार्पणपछि शनिबार प्रज्ञा प्रतिष्ठान डबलीमा हस्ताक्षर गर्दै । बुक हिलले प्रकाशन गरेको यो उपन्यासमाथि आहुति, मोहना अन्सारी र नयनराज पाण्डेले बोलेका थिए । तस्बिर : कान्तिपुर

शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित समारोहमा उनको उपन्यास ‘मैदारो’ लोकार्पण गरियो । साहित्यकार तथा विश्लेषक आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीले कृति सार्वजनिक गरे ।
आहुतीले उपन्यासमार्फत दलित मुद्दालाई स्थापित गर्न खोजिएको बताए ।

Citizen


उनले विसं २००६ मा दलित अभियन्ता सर्वजित विश्वकर्मले थालेको आन्दोलनको कथालाई औपन्यासिक चित्रांकन गरेर भूपीनले राम्रो कार्य गरेको बताए । ‘यो उपन्यासको नायक युद्धको निरपेक्ष विरोधी छ,’ उनले भने, ‘तिनै नायकमार्फत लेखकले कुनै पनि युद्धले मानवीय क्षतिबाहेक अरू उपलब्धि नदिने विचार अभिव्यक्त गर्न खोजेका छन् ।’ उनले उपन्यासको भाषाको पनि प्रशंसा गरे । ‘भाषा र शैलीको हिसाबबाट पनि कृति अब्बल छ,’ उनले भने । त्यस्तै उपन्यासकार पाण्डेले ‘दलितलाई केन्द्रमा राखेर लेखिएको उपन्यासमा कविता, निबन्ध र आख्यानको पनि सम्मिश्रण पाइने दाबी गरे ।

अन्सारीले विषयवस्तुमाथि न्याय गर्न ‘मैदारो’ सफल रहेको बताए । भूपीनले आफूले सामाजिक यथार्थवाद र स्वैरकल्पनाको मिश्रण गरेर स्थानीय विषयलाई स्थापित गर्न खोजेको दाबी गरे । ‘आञ्चलिकताको प्रयोग स्थानीय स्वाद दिनका लागि मात्र होइन,’ उनले भने, ‘स्थानीय विषयवस्तु स्थापित गराउन पनि हो ।’ प्रकाशक बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले पनि पुस्तकमाथि प्रकाश पारे ।

प्रकाशित : वैशाख १, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लिंगो उभ्याएर नव वर्षको स्वागत

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुरबासीले ऐतिहासिक बिस्काः (बिस्केट) को लिंगो उभ्याएर नयाँ वर्षको स्वागत गरेका छन् । प्रसिद्घ बिस्काः जात्राको चौथो दिन शनिबार तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीं’ (हात नभएको लिंगो) ठड्याइएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन ठड्याउने हात नभएको लिंगोको टुप्पोमा प्रसादको रूपमा हरियो स्याउला र फूल राखिएको हुन्छ । ल्हा मरुम्ह यसीं प्रत्येक वर्ष चैत मसान्तका दिन ठड्याउने र बिस्काःको अन्तिम दिन अर्थात् वैशाख ५ गते ढालेपछि लिंगो जात्रा सम्पन्न गर्ने परम्परा छ ।

यसैगरी, चैत मसान्तको साँझ भेलुखेलस्थित यसींख्यमा ५५ हात लामो यसीं (लिंगो) ठड्याएर जात्रा मनाएको छ । आठ रात र नौ दिनसम्म धुमधाम मनाइने बिस्केट जात्राअन्तर्गत ५५ हाते लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरी बाँधेर शनिबार साँझ लिंगो उभ्याइएको हो ।

जात्राको चौथो दिन एवं वर्षको अन्तिम दिन चैत मसान्तमा भक्तपुर नगरपालिका तालाक्वस्थित ज्याठा गणेशको मन्दिर परिसरमा स्थानीय प्रजापती समुदायले लिंगो उभ्याइसकेपछि गःहिटीमा रहेको भैलख खलाः जुकेगु अर्थात् भैरवको रथलाई तानेर लयक्व, खलाः हुँदै भेलुखेल लगी बाजागाजा सहित ५५ हाते उभ्याइने प्रचलन छ ।

तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुइटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले बाँधी उभ्याइने प्रचलन छ । लिंगोको कोखामा झुन्ड्याइएका दुइटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छ भन्ने धार्मिक मान्यता रहेको स्थानीयको भनाइ छ ।

अष्टमातृकाको प्रतीक मानिने लिंगोमा नागनागिनाको प्रतीक स्वरूप हलिपतका ध्वजा बाँधेर फहराइन्छ । त्यसलगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ । चैत मसान्तको साँझ उभ्याइएको लिंगो नयाँ वर्षको दिन ढालिने प्रचलन छ । लिंगो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गाःहिटी पुर्‍याइन्छ । जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ ।

यसलाई स्थानीय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौं दिन वैशाख ५ गते बिहान तालाक्वस्थित उभ्याइएको ज्याठा गणेशको हात नभएको लिंगो ढालिन्छ र बेलुका जात्राको पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।

नेपाल सम्वत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि राजा जगत्ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतीन्द्र मल्लले बिस्केट जात्रालाई थप व्यवस्थित गरी आठ रात र नौ दिनसम्म मनाउने प्रचलन बसाएको उल्लेख गरिन्छ । त्यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित महालक्ष्मी मन्दिर परिसरमा लिंगो
ठड्याएर बिस्काः मनाएको छ ।

प्रकाशित : वैशाख १, २०७६ ०८:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT