सहरमा पुस्तक राख्ने ठाउँ छैन

जीवनभर भाषा–साहित्यको अन्वेषण र खोजमा लागेका सर्जकले संकलन गरेका पुस्तकले उनीहरुको निधनपछि उचित संरक्षण पाउन सकेका छैनन्, परिवारका सदस्य पुस्तकको उचित संरक्षण गरिदिने पुस्तकालयको खोजीमा छन् ।
देवेन्द्र भट्टराई

काठमाडौँ — भाषा–साहित्यका अध्येता शरदचन्द्र शर्मा भट्टराईले यो संसार छाडेको १७ वर्ष भइसक्यो । रातोपुलभित्रको परम्परागत पुरानो घरमा शरदचन्द्रको स्मृति झल्कने सयौं पुस्तक, पत्रिका र तस्बिरलाई जतनसँग पुछपाछ गर्दै बसेकी छन्, ७९ वर्षीया श्रीमती कमला ।

सहरमा पुस्तक राख्ने ठाउँ छैन

स्वर्गीय श्रीमान्‌काे स्मृतिमा हरेक दिन उनी धूपबत्ती बाल्छिन्, श्रीमान्ले पढ्ने भाषिक इतिहासका पुस्तक छामछुम गर्छिन् र श्रीमान् बस्ने गरेकै आसनमा बसेर ध्यानमग्न हुन्छिन् । ‘मैले थाहा पाएदेखि मलाईजत्तिकै यी पुस्तकलाई पनि श्रीमान्ले माया गर्नुभयो,’ कमला भन्छिन्, ‘गाँस काटेर जोडिएका यी पुस्तक–पत्रिका कम्तीमा म रहुन्जेल अरूलाई दिन्नँ ।’

२०५० सालमा ‘माध्यमिक नेपाली गद्याख्यान’ शोधकृतिका लागि मदन पुरस्कार पाएका शरदचन्द्र नेपाली भाषा–साहित्यका पुस्तक संकलक र शोधकर्ताका रूपमा चिनिएका छन् । उनको निवासको एउटा कक्षमा १७ वर्षअघिकै जस्तो पुस्तक/पत्रिकाको संग्रह छ । ‘जोशमनी सन्त परम्परा र साहित्य’ (२०२०) र ‘नेपाली भाषा र साहित्य’ (२०२१) जस्ता उनका कृति अहिले विश्वविद्यालय तहका सन्दर्भ पुस्तक हुन् ।

‘यो पुस्तक संकलन र संग्रहलाई जतनले राख्ने भन्दै केही विद्वान्हरू माग्न आउनुभएको थियो तर संस्थागत रूपमा कोही आएको छैन,’ कमलाले सुनाइन् । आफूले खुबै सुनेको मदन पुरस्कार पुस्तकालयमा यी पुस्तक संगृहीत गर्न सकिने भए पनि ‘त्यो समुद्रमा एउटा थोपो मिसाएजस्तो हुन सक्ने’ भनेर कहीं, कतै सम्पर्क नगरेको उनले बताइन् । शरदचन्द्रको संकलनमा अनुराग, अभिलेख, आँखा, मोती ग्रन्थावली, पारिजात, रूपरेखा, प्रगति, प्रज्ञा, शारदा, उत्साह, रमझम, जुहीजस्ता दर्जनौं ‘दुर्लभ’ साहित्यिक पत्रिकाको संकलनसमेत छ । ‘बरु यहीं भएको एक आना जमिनमा उहाँको नाममा सानो पुस्तकालय बनाउनुपर्छ भनेर छोराछोरीसँग

सल्लाह गरेकी छु,’ कमलाले थपिन्, ‘६ छोराछोरी ६ तिरै लागेकाले म यो काममा एक्लिएकी छु ।’

शरदचन्द्रजस्तै भाषा–साहित्यका अन्वेषक शिव रेग्मीको भीमसेनगोला, मयूरमार्गस्थित निवासको ‘व्यक्तिगत संग्रहालय’ को हालत पनि त्यस्तै छ । दुई महिनाअघि मात्रै अन्वेषक रेग्मीको निधन भएपछि उनकी छोरी शैलजा र ज्वाइँ प्रमोद भट्टराईले बुबाको जीवनभरको संग्रहलाई जोगाएर राखेका छन् । रेग्मीको संग्रहमा मदन पुरस्कार पुस्तकालयमा समेत नभएका केही ‘दुर्लभ संग्रह’ रहेको पुस्तकालयकै प्रतिनिधिले स्विकारेका छन् । ‘बुबाकै नाममा सिंगो एउटा तला छुट्याएका छौं, कति पुस्तक/पत्रिका महत्त्वपूर्ण र दुर्लभ हुन् भनेर हामीले खुट्याउन सकेका छैनौं,’ रक्षा मन्त्रालयमा उपसचिव तहमा कार्यरत शैलजाले भनिन् ।

यो संग्रहमध्ये केही पुस्तक/पत्रिका मार्टिन चौतारीले संग्रहमा राख्ने र केहीको मदन पुरस्कार पुस्तकालयले ‘डिजिटलाइज’ गर्नेबारे एक चरणमा कुराकानी भएको उनले सुनाइन् । ‘म मरेपछि मेरा पुस्तक संग्रहको, शोध–अनुसन्धानको हालत के होला भन्ने चिन्ता लागिरहन्छ,’ अध्येता रेग्मी सधैंजसो अन्तर्वार्तामा भनिरहेका हुन्थे । उनको भनाइमा, झन्डै आधा शताब्दीको अवधिमा उनले २५ हजारभन्दा बढी पुस्तक संग्रह गरेका थिए ।


‘यसैगरी सधैंभरि यो संग्रह जोगाएर राख्न सकिएला भन्ने लाग्दैन,’ रेग्मीका ज्वाइँ प्रमोद भन्छन्, ‘हाम्रो पुस्तामा यस्ता पुस्तक/पत्रिकामा त्यति रुचि छैन, अब हाम्रा छोराछोरीले पनि त्यति धेरै (बुबाकै जस्तै) अपनत्व देखाउलान् जस्तो लाग्दैन ।’ श्रीमती ज्वाला रेग्मीको २०७२ सालमा निधन भएपछि अन्वेषक रेग्मी भीमसेनगोलामै छोरी–ज्वाइँका साथमा बसेका थिए ।


भोलि थाहा छैन

साहित्यिक पत्रकारिताका अगुवा रोचक घिमिरे, शरदचन्द्र रेग्मीको जस्तै काठमाडौंभित्रै दर्जनौं लेखक/स्रष्टाका पुस्तकालयको हालत दयनीय रहेको बताउँछन् । ‘यहाँ न राम्रो र गतिलो सरकारी तहको पुस्तकालय छ, न संग्रह गरिदिने संस्थागत पद्धति छ,’ साहित्यिक पत्रिका ‘रचना’ का सम्पादक घिमिरे भन्छन्, ‘भएका राष्ट्रिय पुस्तकालयहरू पनि बोराभित्र किताब हालेर बसेका छन्, निजी तहको मदन पुरस्कार पुस्तकालयलाई मात्रै सबै भण्डारण गर भन्न सकिने स्थिति छैन ।’

उनले उमेरमा ८० पार भइसकेका र भाषा–साहित्यमा रुचि राख्ने अधिकांश स्रष्टाको ‘घरेलु पुस्तकालय’ को हालत उस्तै रहेको बताए । ‘नगेन्द्रराज शर्मा र मैले आफूसँग भएका केही पुस्तक/सामग्री स्रष्टा जगदीश घिमिरेका नाममा रामेछापमा खुलेको पुस्तकालयमा दिएका छौं,’ उनले भने, ‘तर अन्वेषक काशीनाथ तमोट, अच्युतरमण अधिकारी, (स्व.) भवानी घिमिरे, कृष्णप्रसाद श्रेष्ठ बीए (धरान) सहितका धेरै साधकसँग रहेको संग्रह भोलि के होला भन्न सकिने स्थिति छैन ।’

आधा शताब्दी पुरानो एक निजी प्रकाशन गृहका अधिकारीका बुझाइमा पुस्तक संग्रह र पठन प्रवृत्तिको कुरामा सरकारी तह पूरै ‘उदासीन’ छ । केशर पुस्तकालय, त्रिवि केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालय, डिल्लीरमण पुस्तकालय, सार्वजनिक पुस्तकालयको हकमा कि त अनेक ‘क्राइटेरिया’ का कारण अथवा कि त ‘आफ्नै कन्तबिजोग’ का कारण लेखकहरूले त्यहाँ सम्पर्क गर्नै चाहँदैनन् । निजी तहको मार्टिन चौतारी पुस्तक संग्रह र पठन शिल्पी बढाउनमा मद्दत गरेको छ तर केही साहित्यिक अन्वेषककै परिवार सदस्य पनि ‘निजी तहमा भाडामा सञ्चालित पुस्तकालयको दिगो भर नहुने’ भन्दै तर्कने गरेका छन् ।

मदन पुरस्कार पुस्तकालयसम्बद्ध अनुसन्धाता दीपक अर्याल भाषा–साहित्यका सामग्री/लेखोट सकेसम्म संकलन र संग्रह गर्न पुस्तकालय तत्पर रहेको बताउँछन् । ‘यसरी पुस्तकालयमा दिइने भनेको कतिपय ‘सौजन्य’ सामग्री पुस्तकालयमा संगृहीत भइसकेका पनि हुन सक्छन्,’ अर्याल भन्छन्, ‘यसकारण कतिपय अवस्थामा सामग्री छानेर मात्रै लिनुपर्ने पनि हुन सक्छ ।’ उनले पुस्तकालयमा समेत नरहेका ‘प्रगति’, ‘भानु’ जस्ता केही पत्रिकाका केही अंकहरू अन्वेषक शिव रेग्मीकहाँ हुन सक्ने प्रारम्भिक शोधमा भेटिएको जानकारी दिए ।

‘हामीले यादव खरेल, माधवप्रसाद पोखरेलका ‘सौजन्य’ सामग्रीहरू पाइसकेका छौं । आरडी प्रभास चटौतले पाण्डुलिपिसहितका पुस्तक बुझाउनुभएको छ,’ अर्याल भन्छन्, ‘यसरी स्वविवेकमा संग्रह गर्न दिएमा अथवा डिजिटलाइज मात्रै गरिएमा पनि सिर्जना सुरक्षित हुने थियो भन्ने हाम्रो आग्रह हो ।’

प्रकाशित : वैशाख ७, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?