१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मञ्चमा तीन स्रष्टा

प्रकाश बराल

बागलुङ — बागलुङ, पर्वत र म्याग्दीका युवा स्रष्टाले शनिबार यहाँ साझा मञ्चमार्फत साहित्यका फरकफरक विधाका रचना वाचन गरेका छन् । उनीहरूले देशको राजनीतिक क्रियाकलाप, वैदेशिक हस्तक्षेप र समाजको विकृतिबारे तिखो व्यंग्य गरे । संघीयता र शासकको कारण देशको अस्तित्वमा संकट आउन थालेको समेत चिन्ता व्यक्त गरे । 

बागलुङका दिल शिरीष, म्याग्दीका घायल श्री र पर्वतका डिल्लीराम शर्माले दर्जनौं रचनामार्फत युवा पलायनको पनि विरोध गरे । ‘राष्ट्रियता जोगाउने काम अब गाउँमा बसेका बूढापाकाले गर्नुपरेकोमा चिन्ता प्रकट भयो,’ स्रष्टालाई एउटै मञ्चमा उभ्याउने हातेमालो साहित्य संगमकी अध्यक्ष सरु पौडेलले भनिन्, ‘साहित्य वाचन र युवालाई राष्ट्रियताको भावना बढाउन यो काम गरेका हौं ।’


शिरीषले तीन दर्जन गजल सुनाए । उनका अधिकांश गजलमा देशको राजनीतिक अवस्था बिग्रेकोमा चिन्ता झल्केको थियो । उनले दुई तिहाइको सरकारभन्दा दलाल र भ्रष्टहरू बलियो भएको व्यंग्य कसे । त्यस्तै घायलले आधा दर्जन कवितामार्फत समाजको चित्रण गरे । उनले पैसाको आसमा बिदेसिएका युवाको बाकसमा आउने लासले दिने पीडासहितका रचना वाचन गरे ।


शर्माले पनि तीन दर्जन मुक्तकमार्फत समाजको चित्रण गरेका थिए । उनले विदेशी हस्तक्षेपले देश विकास हुन नसकेको तथ्य रचनामार्फत प्रस्तुत गरेका थिए । सोही मञ्चमा उभिएर धौलागिरिका पाका साहित्यकारहरू प्रेम छोटा, काजी रोशन, इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, राजेन्द्र पहाडी, राम थापा लगायतले पनि रचना वाचन गरे ।


फुर्सदको दिनलाई रचना र गीत संगीतमार्फत समाज सुधारको चेतना भर्ने काममा लगाउन पाएकोमा खुसी लागेको साहित्यकार सिर्जना कार्कीले बताइन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?