२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चोरिएको पद्मपाणी प्रतिरुप प्रदर्शनीमा

विपिन श्रीस

काठमाडौं — नवौं शताब्दीमा कुँदिएको र सन् ७० को दशकमा हराएको पद्मपानी अवलोकेतेश्वरको प्रतिमूर्ति नेपालका लागि अमेरिकी राजदूतको निजी निवास कमलकुञ्जमा प्रदर्शनीका लागि राखिएको छ  । प्रदर्शनीमा यो मूर्तिसँगै १४ अमेरिकी र ४ नेपाली कलाकारको कलाकृति राखिएका छन्  ।

चोरिएको पद्मपाणी प्रतिरुप प्रदर्शनीमा

सन् १९७० को दशकमा पाटनको टुनानीबाट हराएको मूर्तिको प्रतिमूर्ति मंगलबार अनेक संयोगले तानिएर अमेरिकी राजदूत र्‍यान्डी बेरीको निवासमा आयोजित प्रदर्शनीमा देखा परेको छ । राजदूत बेरी अघिल्लो साता सम्पदाविद् रवीन्द्र पुरीको भक्तपुर, दत्तात्रेयस्थित घरमा पुगेका थिए ।

त्यहाँ राजदूतले पुरीको ‘म्युजियम अफ स्टोलन आर्ट’ को प्रारुप र योजनाबारे लामै गफ सुने । राजदूतले त्यसबारे विशेष चासो देखाए र, आफ्नो निवासमा आयोजना हुनै लागेको कला प्रदर्शनीमा ‘स्टोलन इमेजेज’ को एउटा प्रतिरुप समेट्न चाहे । त्यही तत्कालको निर्णयमा पद्मपाणी अवलोकेतेश्वरको प्रतिमूर्ति राजदूत निवासमा आइपुगेको हो ।

नेपाली कला, संस्कृति र सम्पदामा बढी नै चासो देखाउने राजदूत बेरीले नेपालबाट हराएका र चोरिएका मूर्ति नेपालमै फर्काउन आफ्नो तहबाट सहयोग–समन्वय गर्ने प्रतिबद्धतासमेत सुनाए । ‘नेपाली सम्पदा संरक्षण गर्न र गुमेका सम्पदालाई नेपालमै फिर्ता गर्न सहयोग गर्नेछु, यसका लागि युनेस्को लगायतका सरोकारका संस्थासँग सहकार्य आवश्यक छ,’ राजदूतले भने, ‘मलाई आशा छ, अनुसन्धानबाट हराएका सम्पदाको पत्ता लाग्नेछ ।’

अमेरिकी राजदूतकै पहलमा पद्मपाणी अवलोकेतेश्वर प्रतिमूर्ति प्रदर्शनीमा राखिएको आरपी फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरीले बताए । ‘राजदूतले कला प्रदर्शनीको कार्यक्रम राख्दै हुनुहुँदो रहेछ, उहाँले नै पहल गरेपछि यो मूर्ति प्रदर्शनीका लागि राखिएको हो,’ पुरीले भने । हराएका सम्पदाको अवस्था र अवस्थितिबारे अध्ययनअनुसन्धान जारी रहेको पुरीले बताए । हराएका सम्पदाबारे संरक्षण र सचेतनाका लागि ‘म्युजियम अफ स्टोलन आर्ट’ बनाउने योजनाबारे पनि सुनाए ।

हाल पनौतीमा निर्माणाधीन यो म्युजियममा नेपालबाट हराएका र चोरिएकामध्ये ५० वटा मूर्तिहरूको प्रतिरुप राखिनेछ । यसमध्ये हाल २७ वटाको निर्माण सम्पन्न भइसकेको र सन् २०२१ भित्रमा म्युजियम सञ्चालनमा आइसक्ने पुरीले बताए । मल्लकालीन सभ्यता र सम्पदा झल्कने ऐतिहासिक ‘नमुना घर’ को पुनर्निर्माण गरेर ‘युनेस्को पुरस्कार’ पाइसकेका पुरीले हराएका मूर्तिहरूको विवरण र आधिकारिकता अनुसन्धानविद् लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिबाट लिइएको जानकारी दिए ।

‘ब्रिजिङ कल्चर थ्रु आर्टस्’ प्रदर्शनीमा १४ जना अमेरिकी कलाकार र ४ जना नेपाली कलाकारका कलाकृति राखिएका छन् । प्रदर्शनीमा पद्मपाणी अवलोकेतेश्वरको प्रतिमूर्तिसँगै ७५ वर्षीय उर्गेन दोर्जेको ‘पिसफुल एन्ड वार्थफुल महायोग दाइटिज’ मण्डला थाङ्का चित्र, रवीन्द्र शाक्यले बनाएको भैरवको खप्पर, छिरिन शेर्पाको चित्र पनि राखिएको छ ।

अमेरिकी चित्रकार हर्लान डानोवान, शीला एफ डन, माइकल केस्लर, टोनी अबेयिया, करिन लेब्लोन्ड, डान नामिङ्घा, मौरिन डर्डक, सुसी फेसिक्स, ग्रेसियन वार्न, जोसेप के डिक्सन, बिर्गर स्यान्डिज, ल्लोयड स्कर्मर, जेन गुथ्रिज, टम डेभिसाका चित्र राखिएका छन् ।

‘अंग्रेजी या नेपाली भाषा सबैले नबुझ्न सक्छन्,’ राजदूत बेरीले भने, ‘तर कलाको भाषा सबैले बुझ्छन् । कलामार्फत संस्कृतिको आदानप्रदान गर्न सजिलो हुन्छ ।’ राजदूत बेरीले प्रदर्शनीमा राखिएका चित्रबारे जानकारी दिएका थिए । यसैबीच, यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरोको एजुकेसनल एन्ड कल्चरल एफेयर्स (ईसीए) द्वारा फन्डेड अमेरिकन आर्ट इन्कुबेटर (एएआई) ले सिर्जनात्मक आदानप्रदान कार्यक्रम आयोजना गर्दै छ ।

'बिजिङ कल्चर थ्रु आर्ट' अन्तर्गत मूर्ति र चित्रकला प्रदर्शनी क्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरी, अमेरिकी चित्रकार जेनिफर बेरी, थाङ्का चित्रकार उर्गेन दोर्जेलगायत । तस्बिर : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : वैशाख ११, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?