कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छन्द पलेँटीमा भुषिता

काठमाडौँ — केही अघि मात्रै नाटक ‘बाथटव’ मार्फत भुषिता बशिष्ठले राम्रै प्रसंशा कमाइन् । संचारकर्मी, लेखक भएर पनि अभिनयप्रतिको उनको चाख र लगाव निकै भिन्न थियो । यतिबेला भने उनी छन्द कविताको अभियानमा जुटेकी छिन् ।

छन्द पलेँटीमा भुषिता

सामाजिक संजाल मार्फत स्वतन्त्र रूपमा छन्द कविताको आरकाइभिङ (अभिलेखीकरण) थालेकी उनी नेपालयको आउँदो पलेँटी शृंखलामा देखिँदैछिन् ।


अंग्रेजी साहित्य यी अध्येता विश्व साहित्यबाट पाठ सिक्दै छन्द आरकाईभिङमा लागेकी हुन् । ‘अंग्रेजी साहित्यमा १४ औं शताब्दी देखिकै अभिलेख पाइन्छ’, उनले भनिन्, ‘हाम्रोमा छन्द परम्पराको लोभलाग्दो इतिहास भए पनि यो हराउँदै छ । म विज्ञ या चर्चित कवि नभए पनि एउटा साहित्यको पारखीको नाताले यसलाई नयाँ ढंगले प्रबर्द्धन गर्नुपर्छ जस्तो लाग्छ ।’ यसै क्रममा उनी नेपालयसित जोडिन पुगेकी हुन् । यसको कथा पनि रोचक छ ।


एकदिन भुषिता शिल्पी थिएटरमा नाटक ‘शकुन्तलाको औंठी’ हेर्दै थिइन्, छेवैमा थिए नेपालयका किरण कृष्ण श्रेष्ठ । औपचारिक चिनजान भने भएको थिएन । नाटक हुँदै गर्दा भुषिता दृष्यभित्रै हराइन् र बेसोमतले हाँसिन् ।


‘छेउछाउकाहरूले केही अहसज महसुस पक्कै गरेका थिए’, उनले भनिन्, ‘यसै क्रममा किरण दाईसँग चिनजान भयो । पछि उहाँले मेरो फेसबुकमा छन्द कविताका भिडियोहरू हेर्नु भएछ । छन्द त बुढापाकाको रुचीको विषय होला भन्ने ठानेको यसरी नौलो ढंगले पनि नयाँ पुस्तामा प्रस्तुत गर्न सकिने रहेछ है भन्दै उहाँले फोन गर्नुभयो ।’ फेसबुकमा अहिले भने भिडियोहरू बन्द गरेकी छन् भुषिताले, अलिक व्यबस्थित काम भिडियो बनाउने ध्येय सहित ।


लामो समय पत्रकारितापछि कलाका अनेक विधामा हात हालेकी यिनको छन्दप्रतिको मोह सानैदेखिको हो । खोटाङ दित्तेलबाट धरान झरेर स्कुले जीवन विताउँदै गरेको बखत अहिलेको जस्तो सामाजिक संजालको जगजगी थिएन । बरु सवाई, लहरी जस्ता गेयात्मक कविताको चलन थियो ।


बनारसदेखि छापेर आउँथ्यो, जगन्नाथ उपाध्यायको ‘गुरुरत्न माला’, त्यसमा हिन्दु संस्कृति आधारित उपदेशमूलक नैतिक शिक्षाका सन्दर्भहरू हुन्थे । ‘यही किताबको प्रभावले होला, आमा र बुबा छन्दमै गफ गर्नु हुन्थ्यो’, उनले भनिन्, ‘छन्दमै उपदेश दिदैं आमाले उठाउन आउनुहुन्थ्यो । अहिलेसम्म पनि उतिबेलाको प्रभाव छ ममा ।’ राजधानीको आरआर क्याम्पसमा अंग्रेजी साहित्य पढै गर्दा उनले छन्दको महत्व झन बुझिन् ।


‘छन्द परम्परा नेपालमा मात्र प्रचलित शैली होइन । छापाखाना अथवा प्रिन्टिङ प्रेसको सुरुवात हुनुभन्दा पहिले संसारभरिका ग्रन्थ गाउन मिल्ने भाकामै लेखिन्थे’, भुषिता भन्छिन्, ‘छन्द कविता मात्रिक अथवा मेट्रिक कविता हो, जुन विधाले साधारणतया प्राज्ञिकता भन्दा उत्साह र उमंग पछ्याउँछ ।’


अंग्रेजीमा जस्तै नेपालीमा पनि गति, ताल र लयकारीको उतार चढाव बोकेका विभिन्न मात्रा र छन्द रहेको उनको दावी छ । ‘नेपाली छन्द कविताको परम्परामा सयौं प्रकारका मात्रा अथवा मीटर भेटिन्छन्’, उनी भन्छिन् । ‘छन्द पलेँटी’मा भने नेपाली साहित्यका अग्रज कवि सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका सुप्रसिद्ध कविहरूका रचना उनले गाउने छिन् ।


उनलाई आभासको सांगीतिक साथ मिल्नेछ । ‘मेरो लागि पनि यो नौलो अनुभुति हो’, आभासले भने । छन्द पलेँटीको प्रस्तुति राजधानीको कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा आउँदो शुक्रबारदेखि तीन दिन हुने बताइएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?