चित्रसँगै विश्वयात्रा

विपिन श्रीस

काठमाडौँ — प्रिन्ट मेकिङ चित्रकार उमाशंकर शाहको ‘जनकुपर जयनगर रेल वे’ सिरिजले चीनको प्रतिष्ठित सियुवान इन्टरनेसनल आर्ट महोत्सव २०१८ मा उत्कृष्ट भएबापत् १५ हजार अमेरिकी डरल जित्यो । ६ कलाकृतिको सिरिज बेइजिङमा प्रदर्शन भइरहेको छ ।

त्यहाँ प्रिन्ट मेकिङ आर्टिस्ट सीमा शर्मा शाहको बुद्ध र गणेशको पाँचपाँच चित्र पनि प्रदर्शन हुनेछन्, विश्वप्रसिद्ध प्रिन्ट मेकिङ आर्टिस्टको चित्रको साथमा ।

सोही चित्र भियानाको वेल्ट म्युजियममा अप्रिल ११ देखि चलिरहेको ‘नेपाल आर्ट नाउ’ शीर्षकको प्रदर्शनीमा ३८ नेपाली चित्रकारको चित्रसँगै पनि देख्न सकिन्छ । प्रदर्शनीमा उमाशंकरले ‘जनकुपर जयनगर रेल वे’ सिरिजसँगै काठमाडौंको ‘सिटी स्केप’ पनि राखेका छन्, सीमाले ‘बुद्ध सर्किट’ र ‘गणेश अन लोटस’ । स्वयस्भूस्थित ‘एटेलियर टु’ स्टुडियोमा दुवैको चित्र सधैं सँगै देख्न सकिन्छ किनभने उमाशंकर र सीमाको सम्बन्ध कलाकृतिसँग मात्रै हैन, जीवनसँगै जोडिएको छ । यी दम्पतीका चित्रहरू यति बेला एकसाथ संसारका विभिन्न थलोमा प्रदर्शनी भइरहनु सुखद संयोग हो ।

यति बेला सीमाको ‘बुद्ध सर्किट’ चित्र अस्ट्रियाको भियानास्थित विश्वप्रसिद्ध कुन्थिसटोरिस्क म्युजियममा देख्न सकिन्छ, उनकै चित्र छेउ १६ औं शताब्दीका महान् चित्रकार पिटर पल रुबिन्सको चित्र पनि छ । उनको चित्र प्रदर्शन गर्न म्युजियमले नै मागेको हो । वेल्ट म्युजियमका डाइरेक्टर क्रिस्टियन एल्बिनमार्फत् ‘बुद्ध सर्किट’ कुन्थिसटोरिस्क म्युजियम पुगेको सीमाले बताइन् ।

‘त्यस म्युजयममा यसअघि कुनै नेपाली चित्रकारको चित्र प्रदर्शन गरिएको थिएन,’ उनले भनिन्, ‘यो मेरो लागि गर्वको कुरा हो ।’ उमाशंकरले पनि चित्रकारको लागि सो म्युजियममा प्रदर्शनी गर्न पाउनु ठूलो कुरा भएको दाबी गरे ।

सीमाले पशुपतिको शिवलिङ्गबारे कोरेको ‘फोर फेसेज अफ शिव’ शीर्षकको चित्र विश्वभरका चित्रकारको चित्रबाटै टप टेन छनोटमा परेर छैटौं इन्डोनेसिया इन्टरनेसनल प्रिन्ट महोत्सवमा पनि प्रदर्शनरत छ । यस्तै, थाइल्यान्डमा आगामी जुनमा हुने पाँचौ बैंकक ट्रिनाले इन्टरनेसनल प्रिन्ट एन्ड ड्रइङ एक्जिबिसनमा पनि सीमाको सहभागिता हुनेछ । उमाशंकर भने एक ‘हप्ताअघि मात्रै चीनको लु जोङ्लीको चोङविङ्गबब फाइन आर्ट इन्स्ट्यिुट म्युजियममा ‘रामायण सिरिज’ प्रदर्शन गरीफर्किएका हुन् ।

शाह दम्पतीले सन् २०१३ र २०१४ मा लगातार दुई वर्ष अमेरिकाको ‘मायामी आर्ट फेस्टिभल’ मा संयुक्त रूपमा फर्स्ट अर्वाड इन इचिङ जितेका थिए । शाह दम्पती हाल त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभागमा प्राध्यापन गर्छन् । उमाशंकर प्रिन्टमेकिङले नै नेपाली कलालाई विश्वमा चिनाएको दाबी गर्छन् । ‘सन् १९९९ मा जापानमा भएको पहिलो ट्रिनाले एसियन आर्ट सोमा पहिलो पटक मैले सहभागिता जनाएँ । त्यसबाट पुरस्कार पनि जितेँ,’ उमाशंकरले थपे, ‘त्यसपछि पनि थुप्रै अवार्डहरू प्रिन्टमेकिङले नै पाएका छन् ।’

प्रिन्टमेकिङको गुनगान गरिहँरदा अन्य विधि र यसमा के फरक छ त ? उमाशंकरले भने, ‘प्रिन्टमेकिङमा एउटा चित्रको एक पटक प्लेट निर्माण गरेपछि १० प्रतिसम्म छाप्न मिल्छ । साधारण पेन्टिङमा त्यो सम्भव हुँदैन ।’

उनले चित्र निर्माणको विधि फरक हुँदैमा सिर्जनात्मकतामा सानो वा ठूलो भने नहुने बताए । शाह दम्पतीको नजरमा नेपालमा चित्रकलाको भविष्य उज्वल छ । अहिले चित्रकलाको बजार विस्तार भइरहेको उनीहरूले बताए । चित्रकलाको प्राध्यापन र बजारलाई जोडदै उमाशंकर भन्छन्, ‘विश्वविद्यालयमा दुई थरी विद्यार्थी आउँछन्, एक थरी कलामै भविष्य खोज्ने र अर्काथरी रुचि भएका अन्य पेसा पनि अँगाल्दै एक दुई प्रदर्शनी पनि गर्ने । जे भए पनि पहिलेको तुलनामा बजार धेरै फराकिलो भएको छ, हाम्रै विद्यार्थीहरूले लाखौंको पेन्टिङ बेचिरहेका छन् ।’

हाल करिब २ लाखमा प्रिन्टमेकिङ र ४/५ लाखमा पेन्टिङ बेच्ने गरेका उमाशंकरले करिअर सुरु गर्दा सात सयदेखि बढीमा २ हजार रुपैयाँमा चित्र बेचेको सुनाए । ‘सन् १९९१/०९२ तिर मैले अधिकतम दुई हजार रुपैयाँमा चित्र बेच्थेँ, अहिले १५/१६ लाखसम्मको पेन्टिङ बेच्दै छु ।’

उमाशंकरको चीनमा हालै पुरस्कृत ‘जनकपुर जयनगर रेल वे’ सिरिजको मूल्य १० हजार अमेरिकी डलर अर्थात् ११ लाख रुपैयाँभन्दा बढी छ । ‘नेपालमा झन्डै सय डेढ सय आधुनिक चिक्रकार त्रियाशील होलान्,’ उमाशंकरलाई लाग्छ, ‘आर्ट मार्केट बढाउन कम्तीमा हजार बढी कलाकारले काम गर्नुपर्छ, त्यसो भयो भने सिर्जनामा विविधता हुन्छ, गुणस्तर बढ्छ, कलाप्रेमीले छनोटको अवसर पाउँछन् ।’

शाह दम्पतीले स्वयम्भूमा दुईवटा प्रिन्टमेकिङ इचिङ मेसिनसहित २०/२५ लाख लगानीमा ५ स्टुडियो बनाएका छन् । सुरुसुरुमा लगानी र स्टुडियोको समस्या हुने बुझेका उनीहरूले नयाँ कलाकारलाई पनि स्थान दिने गरेका छन् । आफ्नै निवासमा थप ३ स्टुडियो बनाउन लागिरहेका शाह दम्पतीले एकै पटक यो सब गरेका होइनन्, वर्षौंको मिहिनेतले बनाएका हुन् । उनीहरूले साढे चार आनामा फैलिएको घर पनि चित्रकलाबाटै जोडे । उनीहरूले भारतको दिल्ली र मुम्बईमा पनि स्टुडियो खोलेका छन् । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली चित्रकलाको बजार विस्तार गर्न सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

प्रसिद्ध अन्तर्राष्ट्रिय अवार्ड पाएका शाह दम्पतीले अर्वाड पाउनकै लागि भनेर काम नगर्ने बताए । ‘हामीले कुनै प्रतिस्पर्धामा भाग लिएर पुरस्कार जितौला भनी पेन्टिङ गर्दैनौं, आफ्नो भाव अभिव्यक्त गर्न गर्छौं, सन्तुष्टिका लागि गर्छौं । त्यसरी तयार पारिएका पेन्टिङले पुरस्कार पाउँदा खुसी त लाग्छ नै ।’ थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित उमाशंकरले कुनै पनि राष्ट्रिय पुरस्कार नपाएको खुलाए । ‘निवेदन हालेर पुरस्कार पाउन मन छैन,’ उनले व्यवस्थाप्रति व्यंग्य गरे ।

‘मैले चीनको लु जोङ्ली म्युजियम चिनेको थिएन, वेल्ट म्युजियमलाई चिनेको थिएन,’ उमाशंकरले भने, ‘काम गर्नुपर्छ, कामले नै चिनाउँछ, संकलकहरू आफैं खोज्दै आउँछन् ।’

प्रकाशित : वैशाख २५, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

मन जोड्दै मैथिली नाटक

विपिन श्रीस

काठमाडौँ — 'मिता आब कोना चलब' अर्थात् 'मितज्यू अब कसरी जाने ?' नाटकको नाममै प्रश्न छ । जवाफ पाउन होइन, दिन पनि नाटक हेर्नैपर्छ । निर्देशकले दर्शकबाट जवाफको अपेक्षा राखेका छन्, जुन नाटक राजधानीको मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

'मिता अब कोना चलब’ नाटक प्रस्तुत गर्दै कलाकार ।तस्बिर : कविन अधिकारी/कान्तिपुर

मधेशी परिवेश, कृषिकर्म गरीखाने परिवार छन् । मधेसी समुदायको फुलचन यादवको बयलगाडा हिलोमा फस्छ । गाडा निकाल्न उनले थुप्रैसँग सहयोगको याचना गर्छन् । पाउँदैनन् । त्यत्तिकैमा पहाडी समुदायको दिलबहादुरले फुलचनलाई मद्दत गर्छन् । दिलबहादुरको मद्दतबाट प्रभावित फुलचनले मित लगाउने प्रस्ताव गर्छन् ।

जवाफमा दिलबहादुर भन्छन्, 'मित त लगाउन हुन्थ्यो तर जातै मिल्दैन कहाँ हामी ढाका टोपी कहाँ तपाईंहरू धोती ।' यो संवादले जातीय र सामुदायिक भिन्नता इगिंत गर्छ । फुलचनले भने मित लगाउन मैथिलीमै जोड गर्छन्, 'कत्ा धोती टोपीके बात करै छियै तबो टोपी झपै छइ उपर आ धोती, झाँपै छइ निच्चा, दु त झाँपैयै के न काम करै छइ' -टोपी र धोतीको के कुरा गर्छौ, जब कि धोती तल र टोपी माथि हुन्छ) ।

यसरी फुलचनको जोडबल र दिलबहादुरको भित्री आकांक्षाका कारण ती दुई रीतपूर्वक मित बन्छन् । नाटकमा मित लगाउने पहाडी संस्कार र छठ मनाउने मधेसी संस्कृति आदानप्रदानको जीवन्त चित्रण राजनीतिक-सामाजिक रूपमै निकै अर्थपूर्ण लाग्छ । नाटकले मधेस आन्दोलनपछिको तराई मनोविज्ञान बुझ्न पनि नाटकले सघाउँछ ।

नाटकले भने केहीपछि नै नयाँ मोड लिन्छ । मधेसी र पहाडी समुदायबीच द्वन्द्वको बीजारोपण हुन्छ । राजनीतिक पार्टी र युवाहरू एक अर्को समुदायप्रति आक्रोशित हुन्छन् । आन्दोलनमा सहभागी नै नभएका मितका छोराहरू फरक समुदायको निसानामा पर्छन् । घाइते हुन्छन् ।

विषम परिस्थितिमा पनि सम्हालिएका मितज्यूबीच आन्दोलनबाट सुरक्षित हुन कस्ाको घरमा बस्ने भन्ने विवाद हुन्छ । आफ्नो समुदायको डरले एकअर्काको आवास स्वीकार्न सक्दैनन् । मित लगाउँदा साटेको ढाका टोपी र पगरी फालाफल गर्छन् । मित लगाएर जोडिएको जुठो बाराबारको सम्बन्धमा फाटो आउँछ । तर पनि पारिवारिक दबाबका कारण मिल्ने प्रयास गर्छन् । के उनीहरू मिल्न सक्छन् त ? नाटक हेर्नैपर्छ ।

दोस्रो जनआन्दोलन र मधेस आन्दोलनको पृष्ठभूमिमा तयार पारिएको नाटकले पहाडी मधेसी समुदायको द्वन्द्वलाई प्रस्तुत गरेको छ । नाटक निर्देशक एवं कलाकार रामभजन कामत यो नाटकलाई पहिचानको खोजी र अहिलेको आवश्यकता भन्न रुचाउँछन् । 'देशमा विभिन्न राजनीतिक आन्दोलन हुनु अन्यथा होइन, त्यसकै बलमा गणतन्त्र र लोकतन्त्र पायाैं, तर के आन्दोलनको समयमा टुटेका मनहरूलाई जोड्याैं त ?'

नाटकको विषय र सन्देश प्रस्ट पार्न निर्देशक कामत भन्छन्, 'त्यही टुटेका मनलाई जोड्न एकअर्को समुदायको पहिचान स्वीकार्दै सम्मानको भावना जागृत गर्न चाहेका छौं, त्यही सेरोफेरोमा यो नाटक बनाएका हौं ।' नाटकले सामाजिक न्यायको निम्ति बाटो खोल्ने र मन्थन गर्ने अभिभारा बोकेको उनको भनाइ छ ।

उनले आन्दोलनको समयमा आफूमा पनि घृणाभाव उत्पन्न भएको अनुभव सुनाउँदै भने, 'हामी घृणा र निषेधमा अल्भिmएर बस्नु हुँदैन, परस्पर सहयोग र सामुदायिक सद्भावको विकास गर्नुपर्छ ।' नाटकमा निर्देशक कामतले फुलचनको भूमिका पनि निर्वाह गरेका छन् । फुलचन यादवको मित दिलबहादुरको भूमिका निभाएका कलाकार मिलन नेपालीले पनि आन्दोलनको समयमा पहाडी र
मधेसी समुदाय एकअर्काविरुद्ध लागेको स्मरण गर्दै नाटकमार्फत एकताको सन्देश दिन चाहेको बताए ।

'विराटनगरमा वर्णभेद कम भएको छ, छैन भन्दा पनि हुन्छ, हामी मिलेर बस्छौं,' नाटकको विषयलाई सामाजिक परिवेशसँग जोडदै कलाकार राजेश ठाकुरले भने । नाटकमा फुलचन यादवकी श्रीमतीको रूपमा देखिएकी कलाकार कौशिला कामतले काठमाडौंको नाटकघरमा आफ्नो पहिलो अनुभव भएको बताइन् ।

मोरङकी कौशिलाले आफूहरूले नेपाली भाषा बुझ्ने र बोल्ने गरेजस्तै पहाडी समुदायले पनि मैथिली भाषा जानिदिए नाटकको विषयवस्तु प्रस्ट हुने मात्र नभई सामुदायिक सद्भावको विकास हुने धारणा राखिन् । सात आठ वर्षदेखि नाटक क्षेत्रमा लागेकी ४३ वर्षीया कौशिलाले मधेसी समुदायमा महिलालाई हेर्ने दृष्टिकोण खुला नभए पनि आफूलाई भने श्रीमान् र परिवारबाट पूरै सहयोग रहेको बताइन् ।

नाटकको नाम नै मैथिली भाषामा भएकाले दर्शक कम भएको हुन सक्ने कलाकारहरू बताउँछन् । 'नामकै कारण दर्शकको मनमा यो त मैथली नाटक हो, बुझिँदैन कि भन्ने लाग्न सक्छ,' कलाकार सुनीता घिमिरेले भनिन् । दर्शकको रूपमा आएको चित्रकार वीरमान श्रेष्ठले नाटक हेरेपछि 'नेपाली समाजको समसामयिक विषय उत्थान नाटकमा पाएको' बताए ।

नाटकमा निर्देशक कामतसहित विकास पराजुली, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर, शंकर पोखरेललगायत १२ कलाकारले अभिनय गरेका छन् । जसमध्ये जम्मा तीन महिला कलाकार छन् । महिला कलाकारको कमी भएको स्वीकार गर्दै निर्देशक कामतले विराटनगरदेखि आउँदा आर्थिक लगायतका व्यवस्थापकीय पक्षका कारण त्यसो हुन पुगेको बताए ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्