कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आठ स्रष्टालाई साहित्यकला

काठमाडौं — उपन्यास र कथाका माध्यमबाट नेपाली साहित्यमा नारी सचेतना प्रवर्द्धन गरेबापत् साहित्यकार पद्मावती सिंहलाई ‘गंगादेवी चौधरी स्मृति सम्मान’ दिइएको छ  । साढे दुई दशकदेखि लुनकरणदास–गंगादेवी साहित्यकला मन्दिरले दिँदैको १ लाख रुपैयाँ र ताम्रपत्रसहितको पुरस्कार यो वर्ष सिंहलाई दिइएको हो  ।

आठ स्रष्टालाई साहित्यकला

त्यस्तै यो वर्षको सरस्वती गद्य सम्मानबाट अग्रज साहित्यिक पत्रकार अच्युतरमण अधिकारीलाई दिइयो भने इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान साहित्यकार एवं संस्कृतिविद् मोदनाथ प्रश्रितले पाए ।


त्यस्तै, नेपाली गीतसंगीत–सिर्जनामा निरन्तर साधना गरेबापत् गणेश रसिकलाई नारायणगोपाल संगीत सम्मान, ललितकलामा पुर्‍याएको योगदानका लागि चित्रकार किरण मानन्धरलाई ‘अरनिको ललितकला सम्मान’ रंगमञ्चमा योगदानबापत् अभिनेत्री भुवन थापा चन्दलाई ‘बालकृष्ण सम रंगसम्मान’ र नेपाली दृष्टिविहीनहरूलाई प्रेरक बाटो देखाउने फरक क्षमताकी सृृष्टि केसीलाई ‘नेपाल नवप्रतिभा सम्मान’ दिइयो ।

यसै वर्षदेखि स्थापना गरिएको ‘गोपालप्रसाद रिमाल काव्य सम्मान’ बाट भने कवि दिनेश अधिकारीले पाए । सम्मानितहरूलाई संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र साहित्य कला मन्दिरका अध्यक्ष वसन्त चौधरीले दोसल्ला ओढाउँदै जनही ५० हजार रुपैयाँ र ताम्रपत्र हस्तान्तरण गरे ।


शताब्दी पुरुष जोशीले संस्थागत साहित्यको सुरुवात ग्रिक सभ्यतादेखि नै रहेको बताउँदै नेपालमा साहित्य कला मन्दिरले नमुना काम गरेको दाबी गरे । उनले ‘सरकारले सम्वृद्ध नेपाल, सुखी नेपालीको नारा ल्याएको भए पनि सांस्कृतिक समुन्नतिबिना वास्तविक समृद्धि नआउने’ पनि बताए ।

यसपटक साहित्य कला मन्दिरकै रजत उत्सव रहेको बताउँदै मन्दिरका अध्यक्ष एवं स्रष्टा वसन्त चौधरीले नेपाली साहित्यको विकास र प्रवर्द्धनका लागि आफूहरू सदैव कटिबद्ध हुने बताए । चौधरी ग्रुपका संस्थापक लुनकरणदास चौधरी र श्रीमती गंगादेवीको नाममा स्थापना गरिएको मन्दिरले नेपाली कला, साहित्य र संस्कृतिको विकासका लागि २०५१ देखि निरन्तर रूपमा पुस्तक प्रकाशन, चित्रकला प्रदर्शनी, साहित्यिक गोष्ठीलगायतका कार्यहरू गर्दै आएको छ ।

रजत जयन्तीको अवसरमा साहित्य कला मन्दिरसँग आवद्ध राजकुमार अधिकारी, कृष्णप्रसाद दीक्षित र राजकुमार गौतमलाई दीर्घ सेवा साधाना सम्मानसमेत दिइयो । साहित्य कला मन्दिरले नेपाली साहित्यमा पुर्‍याएको योगदानबारे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, स्रष्टाहरू राजेन्द्र सलभ, रमण घिमिरेलगायतले प्रकाश पारेका थिए ।

प्रकाशित : वैशाख २८, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?