ओलम्पिक पार्कमा नेपाली नृत्य

फूलमान वल

बेइजिङ — चीनको चर्चित वर्ड नेस्ट ओलम्पिक स्टेडियममा एसियन कल्चरल कार्निभलको भव्य उद्घाटन भएको भोलिपल्ट स्टेडियमकै ग्रिन पार्कमा बिहीबार नेपालबाट आएका विभिन्न समुदायका कलाकारहरूले नृत्य प्रस्तुत गरे । 

राजधानी बेइजिङमा जारी ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ अन्तर्गत आयोजित ‘एसियन सिभिलाइजन परेड’ मा विभिन्न १७ एसियाली मुलुकसँगै नेपालले पनि सहभागिता जनाएको हो । बिहीबार बिहान उद्घाटन भएको परेडमा मारुनी, तामाङ सेलो, थारू, कौडा, गुरुङ नाच, धिमे, टप्पा र सन्थाल नृत्य समेटेर ३० जना कलाकारहरूले सामूहिक प्रस्तुति दिएका थिए ।

कुमारीको भेषमा सजिएकी कलाकारले नेतृत्व गरेको नेपाली टोलीमा धरानबाट थारू र मारुनी नृत्य, काभ्र्रेस्थित सेलो थिएटरबाट तामाङ सेलो, भक्तपुरस्थित नेपाल सांस्कृतिक उत्थान परिषदबाट कुमारी, धिमे र सन्थाल नृत्य, पोखरास्थित हिमाली सांस्कृतिक परिवारबाट कौडा र गुरुङ नाच सामेल थिए ।

विभिन्न लोक बाजाहरू समेटर गायक दीपक बज्राचार्यले ‘मन मगन’ थिममा कम्पोज गरेको संगीतमा कलाकारहरूले आठवटै नेपाली नृत्यहरूको स्टेपलाई मिसाएर प्रस्तुत गरेका थिए ।

परेडको उदघाटनपछिबंगलादेश, कम्बोडिया, भारत, जोर्डन, कजाकिस्तान, लाओस, लेवनान, रूस हुँदै मैदानमा नेपाली कलाकार देखिएका थिए । यसपछि फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड, टर्की र भियतनामको प्रस्तुति रहेको थियो ।

चार्मिङ एसियाअन्तर्गत यी मुलुकको प्रस्तुतिपछि चार्मिङ चाइनाअन्तर्गत भित्री मंगोलिया, तिब्बत, युन्नानलगायत एक दर्जन चिनियाँ प्रान्तका कलाकारहरूको प्रस्तुति रहेको थियो । नेपालबाट भने गुरुङ र कौडा नृत्यको युवराज गुरुङले, तामाङ सेलोको सुसन लामाले, थारू र मारुनीको प्रशान्त तामाङले, नेवारी र कुमारीको बालमुकुन्द प्रजापतीले संयोजन गरिरहेका छन् । यी टोलीको मुख्य संयोजन वल्र्ड कल्चर नेटले गरेको हो ।

२००८ मा ओलम्पिक आयोजना भएको यो परिसरमा सांस्कृतिक परेड अझै चार दिन जारी रहनेछ । ‘नेपाली सभ्यता चिनाउने यो ठूलो मौका हो,’ टोली संयोजक दीपक सरकारले भने, ‘त्यही भएर विभिन्न समुदायको संगीत र नृत्य परम्परामार्फत नेपालभित्रको सांस्कृतिक विविधता झल्काउने गरी संयुक्त प्रस्तुति तयार पारेका हौं ।’

प्रकाशित : जेष्ठ ३, २०७६ १०:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एचआईभी संक्रमित बढे

कान्तिपुर संवाददाता

संखुवासभा — जिल्लामा एचआईभी संक्रमितको संख्या बढेको छ । चार वर्षअघि २२ जना एचआईभी संक्रमित थिए । अहिले बढेर ३८ जना पुगेका छन् । जिल्ला अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा संक्रमितको संख्या २२ थियो ।

संख्या बढेर आर्थिक वर्ष ०७३/७४ मा २५ जना पुगेको थियो । आव ०७४/७५ मा संख्या बढेर ३० फुगेको थियो । संक्रमितको संख्या बढ्ने त्रममा यो आर्थिक वर्षमा ३८ जना पुगेको एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरले जनाएको छ ।

संक्रमितहरूले हाल नियमित रूपमा औषधी सेवन गरिरहेको जिल्ला अस्पताल खाँदबारी एचआईभी कार्यक्रमका रोसन श्रेष्ठले जानकारी दिए । ३८ मध्ये २ जनाले जिल्ला बाहिरबाट औषधी लिइरहेका छन् । जिल्लामा अझै एचआईभी संक्रमितहरू रहेको हुनसक्ने उनको दाबी छ ।

कतिपयलाई आफू संक्रमित रहेको समेत थाहा नपाएको र कतिपयलाई सामाजिक बहिस्कारको डरले सम्पर्कमा नआएको उनले बताए । तर आफूहरूलाई शंका लागेकाहरूलाई एआरटी सेन्टरको पहाचमा ल्याउने काममा लागिपरेको समेत बताए ।

शंका लागेकालाई कुनै न कुनै बहानामा सम्पर्कमा ल्याई परामर्श गर्ने र परीक्षणपछि पनि प्रभावकारी परामर्श पछि मात्र रिपोर्ट दिने गरिएको छ । ‘परीक्षणपछि संक्रमित पाइएको खण्डमा अर्को संक्रमितको माध्ययमबाट परामर्श गर्छौ,’ उनले झने, ‘संक्रमितलाई अर्को संत्रमितले परामर्श दिए प्रभावकारी हुन्छ, होइन भने आत्तिएर जे पनि गर्न सक्ने अवस्था आउन सक्छ ।’

कोही आफैं एचआईभी परीक्षण गर्न आए अस्पतालले निशुल्क परीक्षण गरिदिने व्यवस्था मिलाएको समेत मिलाएको छ । संक्रमित आमाबाट बच्चामा एचआईभी नसर्नको लागि गर्भवती परीक्षणकै क्रममा अस्पतालले निशुल्क एचआईभीपरीक्षण गर्दै आएको छ ।

गर्भ अवस्थाबाट नै बच्चालाई सुरक्षित राख्न सके स्वास्थ बच्चा जन्माउन सकिने भएकोले गर्भवती आमाको अनिवार्य परीक्षण गरिदै आएको छ । पछिल्लो समय यसरी परीक्षण गर्ने क्रममा दुई गर्भवती संक्रमित पाएपछि औषधी सेवन गराएर सकुशल बच्चा जन्माएको श्रेष्ठले जानकारी दिए ।
आमा संक्रमित पाइए श्रीमान् पनि संक्रमित हुन्छन् । उनीहरूले पनि नियमित औषधी सेवन गरिरहेका छन् । बेलैबाट नियमित औषधी सेवन गरे एचआईभी संक्रमितहरू पनि अन्य मानिसहरू सरह नै बाँच्न सक्ने श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT