साकेला सिलीको अर्थ खोज्दै किराती

गणेश राई

काठमाडौँ — उँभौली र उँधौली नजिकिँंदै गर्दा किराती युवायुवतीहरू जुर्मुराउँछन् । ढोल र झ्याम्टा बजाएर गोलाकार नाच्ने सोच्दछन् । हुन पनि रौनक यसैमा छ ।

पिखुवा खोला सलल
मायाको तस्बिर झलल
वनचरी नाच्यो वनभरि
अनिदो माया मनभरि
सैसैला हौ सैसैला
सै ढोले सै अर्को ढोले खोई ।

हूलका हूल मान्छेहरू भेला भएर गोलाकार नाच्नु नै आकर्षण जो छ, सबैले देख्छन् । एक दिन नै सही जातीय पहिरन चिटिक्क पहिरिन्छन् ।

राम्रा फोटा खिच्छन्, खिचाउँछन् र आफ्नो फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा पोस्ट्याउँछन् । देश विदेशबाट लाइक र कमेन्ट्सको ओइरो लाग्छ । त्यो हेरेर दङ्ग पर्छन् । किराती समुदायको परम्पराअनुसार यही उँधौली उँभौली नै हो, जोडी जुराउने । तन्नेरी र तरुनीबीच भेटघाट गराउने माहोल यही चाडले जुराउँछ । आपसी चिनाजानी गर्ने ।

मनका कुराहरू साटासाट गर्ने । मनपरापर भएमा उमेर पुगेका केटाले केटीलाई भगाउने साइत पनि हो । भागी विवाह अथवा प्रेमविवाह गर्ने । मागी विवाह गर्ने मेसो यही चाडले जुराउँछ ।

उँभौलीमा किरातीले भूमिपूजा, आकाश, खोलानाला, हावा, पानी, वनजंगलको विधिवत् पूजा गर्ने प्रमुख सन्दर्भ हो । प्रकृतिसित सह माग्ने, सुब्बेफाब्बे होस् भनेर कामना गर्ने याम हो । पुर्खाहरूसित आशीर्वाद माग्दै पितृपूजा गर्ने अवसर हो ।

उँभौली आउनै लाग्दा ललितपुरको सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीमा आशा, सन्धया, विषम, सुनिता, उमिता, मिरा, अक्षत, निशा, रकज राई किरातीलगायत साकेला सिली सिकिरहेका छन् । एकेडेमीका अध्यक्ष डीबी सरोज राई र किरात राई यायोक्खाका महासचिव जनक राईले प्रशिक्षण दिइरहेका छन् ।

साउन्ड सिस्टममा साकेला संगीत ‘ढुंकु ढुंकु ढुंकु’ आवाज बजाएर हात र खुट्टाको अभिनय गर्दै छन् । ‘कृषि युगको अभिनय हो,’ प्रशिक्षक जनक राई भन्दै थिए, ‘खोरिया फाँड्ने, कोदालोले भस्मे खन्ने, अन्नको बिउ छर्ने, माटोले छोप्ने त्यसपछि बिउ उम्रिन्छ । अब गोडमेल गर्छौं ।’ त्यसो भनेपछि सबैजनाले काँधमा कोदालो बोकेर खनेको अभियन गर्दै अघि बढे । अनुसन्धाता कमलजंग राई साक्खेवा (साकेला) किरात सभ्यताकालीनमौलिक र ऐतिहासिक सामुहिक चाड भएको बताउँछन् ।

‘साक्खेवाको मुन्दुमको गेय विधालाई गति र शक्ति प्रदान गर्ने साधनको रूपमा ढोल, झ्याम्टा र पाश्र्व ध्वनिका लागि पुङ (अर्नाको सिङ) को व्यवस्था गरिँदै आएको पाइन्छ,’ साक्खेवालाई आध्यात्मिक शक्तिको प्रतीक भएको उल्लेख गर्दै उनी भन्छन्, ‘साक्खेवाको प्राकृतिक वा कृत्रिम स्थल जहाँ भएपनि यसको पूजा आराधना गर्नुअघि संसारीमाई अर्थात् फेङ्मा, लेत्मा, सोहोनसेङमा, हुत्लुङ खुत्मा, चालिम लात्मा माङहरूलाई अनिवार्य रूपमा नाक्छोङ (मुन्दुमी, कुलपित्री पुजारी) र कुबी (धामी)ले विधिपूर्वक विधिपूर्वक पूजा गर्दछन् ।

त्यसपछि मात्र सिली (नाच) अघि बढ्छ ।’ साक्खेवा अर्थात्साकेला पुर्खाहरूले छाडेर गएका सांस्कृतिक पदचिह्नका रूपमा लिइने उनको तर्क छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

‘कबड्डी' मा कर्मा र उपाशना

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँच वर्षअघि ‘कबड्डी’ रिलिज भएपछि त्यसले दर्शकमाझ हिमाली भेगका थकाली समुदायको कला, संस्कृतिलाई प्रेमकथामा उनेर अर्गानिक स्वादमा पस्किदियो । 

दर्शकले खुबै रुचाए । त्यसअघि दुई फिल्म बनाइसकेका भए पनि ‘कबड्डी’ ले नै निर्देशक रामबाबु गुरुङलाई माथि उठायो । तिनै रामबाबुले सोमबार ‘कबड्डी’ को तेस्रो सिरिज निर्माणको घोषणा गरे ।

‘कबड्डी’ को सुरुवातदेखि नेतृत्व गर्दै आएका अभिनेता दयाहाङ राईको यसपालिको टिममा रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, कमलमणि नेपाल, अरुणा कार्की यथावत् रहेका छन् भने तेस्रो संस्करणदेखि अभिनेत्री उपासना सिंह ठकुरीदेखि कर्मा, विल्सनविक्रम राई, राजन खतिवडा, मणि के राई, डीबी गुरुङ, लुनिभा तुलाधर र राजेन्द्र थापा पनि थपिएका छन् ।

बाँसुरी फिल्मस् प्रोडक्सन र सिनेमा आर्टसको ब्यानरमा निर्माण हुन लागेको ‘कबड्डी कबड्डी कबड्डी’ मा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टको सहकार्य हुने बताइएको छ । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको लगानी रहने फिल्मलाई रामबाबुले नै निर्देशन गर्ने छन् भने छायांकन शैलेन्द्रध्वज कार्कीको नै हुने बताइएको छ ।

रामबाबुले निर्देशन गरेको ‘साइली’ फिल्म हालै रिलिज भएको थियो । फिल्मले दर्शकको राम्रै साथ पाएको थियो । ‘कबड्डी’ को पछिल्लो सिरिज पनि दर्शकको स्वादअनुसारकै बनाउने उनले बताए ।

फिल्म स्वजातीय विवाह र अन्तरजातीय विवाहको घनचक्करमा केन्द्रित रहेको बताइएको छ । जेठ ५ देखि छायांकन सुरु गर्ने बताइएको उक्त फिल्मको रिलिज मिति भने निश्चित गरिएको छैन ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT