१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सम्भोटा र संस्कृत सिकाउँदै हेलम्बु

अनिश तिवारी

सिन्धुपाल्चोक — ह्योल्मो परम्पराले भरिएको हेलम्बुको मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङ हुँदै हिन्दुधर्मका महादेवी मन्दिर रहेको पाल्चोकसम्मका विद्यालयमा यतिबेला शिक्षामार्फत धार्मिक सद्भाव फैलाउने प्रयास भइरहेको छ । 

सम्भोटा र संस्कृत सिकाउँदै हेलम्बु

धेरै संख्यामा नेपालबाट बौद्ध र हिन्दु धर्मको लिपि संस्कृतिबारे पढ्न भारत, श्रीलंकाजस्ता मुलुक जान थालेपछि हेलम्बुलाई भाषा अध्ययन केन्द्रको रूपमा चिनाउने प्रयासस्वरूप यति बेला हेलम्बुमा बौद्ध धर्मावलम्बीले पछ्याउँदै आएको सम्भोटा र हिन्दु धर्मावलम्बीले पछ्याउँदै आएको संस्कृतलाई विद्यालयमा पाठ्यपुस्तकका रूपमा पढाउन थालिएको छ ।


हेलम्बुको मेलम्चीघ्याङ माविमा कक्षा ६ अध्ययनरत विदुषा नेपाल सम्भोटा लिपि सिकिरहेकी छन् । वैदिक ब्राह्मण संस्कारमा हुर्किए पनि विदुषा दैनिक सम्भोटा लिपिका अक्षर चाख लिएर पढ्न थालेकी हुन् ।


‘पहिले सम्भोटा लिपिको मन्त्र सुन्दा पनि आनन्द लाग्थ्यो । त्यसैले पनि यो भाषाबारे जान्ने चाहनाले यसको अध्ययनमा लागें,’ विदुषाले ह्योल्मो संस्कृतिको सम्भोटा लिपिबारे आफ्नो लगाव बढदै गएको पनि सुनाइन् । कक्षा ४ का रामकुमार रोक्का सम्भोटा लिपिमा लेख्न जान्ने भइसकेका छन् । बोर्डमा ‘टसिदेले फुन्स छोक’ लेखेर देखाउँदै उनले विश्वमा कल्याण, शुभ होस् भनी नेपालीमा उल्था गरेर सुनाए ।


हेलम्बुको पाल्चोकको अर्को महेन्द्र माविको कक्षा ६ मा पढिरहेकी खुसी तामाङ भने संस्कृत पढदै छिन् । उनी संस्कृत पाठ गरेपिच्छे लेख्छिन् । ‘सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी, हंसवाहन संयुक्ता विद्यादानं करोतु मे, यो हाम्रो पढाइको सुरुवाती चरण प्रक्रिया हो,’ संस्कृतको पाठ सुरु गर्नुभन्दा अघिको विद्याकी देवी सरस्वती वन्दना गर्दै तामाङले भनिन् ।


हेलम्बु देउरालीस्थित गोल्मादेवी माविमा कक्षा ६ मै पढिरहेकी दिलमाया विक पनि संस्कृत सिकिरहेकी छन् । कुनै बेला कथित दलित समुदायले संस्कृत पढ्न हुँदैन भन्ने कुरीति व्याप्त थियो । तर अहिले त्यस्तो सोचमा बदलाव आउँदै गएको छ । ‘संस्कृत बुझ्दै गर्दा र संस्कृतको मन्त्र उच्चारणको बेला छुट्टै उमंगले छोप्ने गर्छ,’ उनले भनिन् । संस्कृत भाषाबारे यतिबेला अन्य विद्यार्थी पनि आकर्षित देखिएको विद्यालयका शिक्षक सुनाउँछन् ।


हेलम्बुका मेलम्चीघ्याङ, पाल्चोक, देउराली, सुपारिटारलगायत दर्जनौं विद्यालयमा संस्कृत र सम्भोटा भाषाको अध्ययन शुरु भएको छ । यी दुई विषय ऐच्छिक र अनिवार्य रूपमा पढाइ हुने गरेको छ । पहिलेदेखि पढाइ हुँदै आइरहेको सम्भोटामा संस्कृत भाषाले धार्मिक सद्भाव बढाउँदै लगेको मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्णबहादुर गौतमले बताए । ‘बालबालिकाबाटै धार्मिक प्रेम बढेपछि समाजमा यसले तंरग पैदा गरेको छ, उनीहरू आपसमा दुवै भाषाको शिक्षा साटासाट गरेर झनै सिक्छन्,’ गौतमले भने ।


हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले हेलम्बुभरका ३४ विद्यालयमा नै संस्कृत र सम्भोटा भाषा अनिवार्य गरेर अध्यापन गराउने लक्ष्य राखिएको बताए । ‘हालै झन्डै दर्जन विद्यालयमा दुईवटै भाषाको पढाइ भइरहेको छ । त्यहाँ बालबलिका चाख दिएर धार्मिक भाषा अध्ययन गरिरहेका छन्,’ शेर्पाले भने । सबैमा विद्यालयमा संस्कृत र सम्भोटा लिपिका शिक्षक राखेर अध्यापन गराउने अभियान हालै सुरु गरिसकेको उनले सुनाए ।


संस्कृत हिन्दु र सम्भोटा बौद्धधर्मालम्वीको मात्रै नभई समस्त विश्वको सम्पदा भएकाले यसलाई शिक्षामा भित्र्याइएको उनको कथन छ । बालबालिकालाई यी लिपि, भाषाबाहेक बौद्ध र हिन्दु धर्मको महत्त्वपूर्ण उपदेश र कथाबारे ज्ञान दिइन थालिएको उनले प्रस्ट्याए ।



प्रकाशित : जेष्ठ ३, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?