सम्भोटा र संस्कृत सिकाउँदै हेलम्बु

अनिश तिवारी

सिन्धुपाल्चोक — ह्योल्मो परम्पराले भरिएको हेलम्बुको मेलम्चीघ्याङ, तार्केघ्याङ, शेर्माथाङ हुँदै हिन्दुधर्मका महादेवी मन्दिर रहेको पाल्चोकसम्मका विद्यालयमा यतिबेला शिक्षामार्फत धार्मिक सद्भाव फैलाउने प्रयास भइरहेको छ । 

धेरै संख्यामा नेपालबाट बौद्ध र हिन्दु धर्मको लिपि संस्कृतिबारे पढ्न भारत, श्रीलंकाजस्ता मुलुक जान थालेपछि हेलम्बुलाई भाषा अध्ययन केन्द्रको रूपमा चिनाउने प्रयासस्वरूप यति बेला हेलम्बुमा बौद्ध धर्मावलम्बीले पछ्याउँदै आएको सम्भोटा र हिन्दु धर्मावलम्बीले पछ्याउँदै आएको संस्कृतलाई विद्यालयमापाठ्यपुस्तकका रूपमा पढाउन थालिएको छ ।

हेलम्बुको मेलम्चीघ्याङ माविमा कक्षा ६ अध्ययनरत विदुषा नेपाल सम्भोटा लिपि सिकिरहेकी छन् । वैदिक ब्राह्मण संस्कारमा हुर्किए पनि विदुषा दैनिक सम्भोटा लिपिका अक्षर चाख लिएर पढ्न थालेकी हुन् ।

‘पहिले सम्भोटा लिपिको मन्त्र सुन्दा पनि आनन्द लाग्थ्यो । त्यसैले पनि यो भाषाबारे जान्ने चाहनाले यसको अध्ययनमा लागें,’ विदुषाले ह्योल्मो संस्कृतिको सम्भोटा लिपिबारे आफ्नो लगाव बढदै गएको पनि सुनाइन् । कक्षा ४ का रामकुमार रोक्का सम्भोटा लिपिमा लेख्न जान्ने भइसकेका छन् । बोर्डमा ‘टसिदेले फुन्स छोक’ लेखेर देखाउँदै उनले विश्वमा कल्याण, शुभ होस् भनी नेपालीमा उल्था गरेर सुनाए ।

हेलम्बुको पाल्चोकको अर्को महेन्द्र माविको कक्षा ६ मा पढिरहेकी खुसी तामाङ भने संस्कृत पढदै छिन् । उनी संस्कृत पाठ गरेपिच्छे लेख्छिन् । ‘सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी, हंसवाहन संयुक्ता विद्यादानं करोतु मे, यो हाम्रो पढाइको सुरुवाती चरण प्रक्रिया हो,’ संस्कृतको पाठ सुरु गर्नुभन्दा अघिको विद्याकी देवी सरस्वती वन्दना गर्दै तामाङले भनिन् ।

हेलम्बु देउरालीस्थित गोल्मादेवी माविमा कक्षा ६ मै पढिरहेकी दिलमाया विक पनि संस्कृत सिकिरहेकी छन् । कुनै बेला कथित दलित समुदायले संस्कृत पढ्न हुँदैन भन्ने कुरीति व्याप्त थियो । तर अहिले त्यस्तो सोचमा बदलाव आउँदै गएको छ । ‘संस्कृतबुझ्दै गर्दा र संस्कृतको मन्त्र उच्चारणको बेला छुट्टै उमंगले छोप्ने गर्छ,’ उनले भनिन् । संस्कृत भाषाबारे यतिबेला अन्य विद्यार्थी पनि आकर्षित देखिएको विद्यालयका शिक्षक सुनाउँछन् ।

हेलम्बुका मेलम्चीघ्याङ, पाल्चोक, देउराली, सुपारिटारलगायत दर्जनौं विद्यालयमा संस्कृत र सम्भोटा भाषाको अध्ययन शुरु भएको छ । यी दुई विषय ऐच्छिक र अनिवार्य रूपमा पढाइ हुने गरेको छ । पहिलेदेखि पढाइ हुँदै आइरहेको सम्भोटामा संस्कृत भाषाले धार्मिक सद्भाव बढाउँदै लगेको मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्णबहादुर गौतमले बताए । ‘बालबालिकाबाटै धार्मिक प्रेम बढेपछि समाजमा यसले तंरग पैदा गरेको छ, उनीहरू आपसमा दुवै भाषाको शिक्षा साटासाट गरेर झनै सिक्छन्,’ गौतमले भने ।

हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले हेलम्बुभरका ३४ विद्यालयमा नै संस्कृत र सम्भोटा भाषा अनिवार्य गरेर अध्यापन गराउने लक्ष्य राखिएको बताए । ‘हालै झन्डै दर्जन विद्यालयमा दुईवटै भाषाको पढाइ भइरहेको छ । त्यहाँ बालबलिका चाख दिएर धार्मिक भाषा अध्ययन गरिरहेका छन्,’ शेर्पाले भने । सबैमा विद्यालयमा संस्कृत र सम्भोटा लिपिका शिक्षक राखेर अध्यापन गराउने अभियान हालै सुरु गरिसकेको उनले सुनाए ।

संस्कृत हिन्दु र सम्भोटा बौद्धधर्मालम्वीको मात्रै नभई समस्त विश्वको सम्पदा भएकाले यसलाई शिक्षामा भित्र्याइएको उनको कथन छ । बालबालिकालाई यी लिपि, भाषाबाहेक बौद्ध र हिन्दुधर्मको महत्त्वपूर्ण उपदेश र कथाबारे ज्ञान दिइन थालिएकोउनले प्रस्ट्याए ।


प्रकाशित : जेष्ठ ३, २०७६ १०:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भीम र सुनमायालाई उपाधि

अनिश तिवारी

सिन्धुपाल्चोक — गोरखाका भीमबहादुर गुरुङले शनिबार भएको गोसाइकुण्ड टु हेलम्बु ट्रेल म्याराथन उपाधि जितेका छन् । उनले रसुवाको च्योलाङपाटी हुँदै हेलम्बु मराम्चीसम्मको दूरी ५ घण्टा ७ मिनेटमा सकेर ५० हजारसहित ह्योल्मो ढङ्येन टुंगुना बाजा पाए । 

ओखलढुंगाका सुमन कुलुङले ५ घण्टा ११ मिनेटमै मराम्चीमा पाइला राखेर दोस्रो हुँदै ३० हजार र खुकुरी लिएर चित्त बुझाए । ६ घण्टामा दौड पूरा गरेका सोलुखुम्बका कल्साङ तामाङ भए ।

उनले १५ हजारसँगै सांस्कृतिक डम्फु पाए । निर्धारित दुरी ६ घण्टा १५ मिनेटमा पूरा गरेकी जुम्लाकी सुनमाया तामाङ बुढाले महिलातर्फको उपाधि जितिन् । उनले ५० हजार पाइन् । ७ घण्टा २५ मिनेटमा दौड सकेकी खोटाङकी पि्रया राईले ३० हजार र ८ घण्टा ७ मिनेटमा दौड पूरा गरेकी ओखलढुंगाकी छोकी शेर्पाले १५ हजार पुरस्कार पाए ।

सिन्धुपाल्चोकका शीर्ष तीन स्थानका विजेता खेलाडीमा हेलम्बुका ग्याल्साङ लामाले ५ हजार, फुर्बा तामाङले ३ हजार र विकास तामाङले १ हजार ५ सय पाएका छन् । जिल्लाकै महिलातर्फ पाँचपोखरी गाउँपालिकाको भोताङकी लाम्बुटी लामाले ५ हजार र खेन्दो लामाले ३ हजार पाए ।

पर्यटकीय क्षेत्रमा प्रसिद्ध हेलम्बु र रसुवाको गोसाइँकुण्डलाई जोड्न हेलम्बु ट्रेल रनिङ क्लबले आयोजना गरेको अन्तर्राष्ट्रिय ट्रेल म्याराथनमा विदेशी र नेपाली गरी २५ जनाको सहभागिता थियो । ४२ किलोमिटर दूरीको ट्रेल म्याराथन ६ घण्टामा पार गर्ने अपेक्षा राखेर पर्यटकीयस्थलमा एक दिनका लागि आयोजना गरिएको क्लबका अध्यक्ष मनीष तामाङले बताए ।

हेलम्बु गाउँपालिकाले ५ लाखदेखि विभिन्न सामग्री दिएर सघाइरहेको ट्रेल म्याराथनका खेलाडी शनिबार नै रसुवाको बुद्धडाँडा, गोसाइँकुण्ड, ८ कुण्ड हुँदै फेदीबाट घोप्टे, ठाडेपाटीबाट मुग्लिनकोट घुम्दै आएका थिए । तामाङका अनुसार टप १० भित्र पर्नेलाई जनही २ हजार दिइएको छ । नेपालमै हराउँदै गएका पुराना पदमार्गमा ट्रेल आयोजना गरेर आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने र ट्रेल म्याराथन खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : वैशाख २९, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT