पीबी शेली र रातो गुलाब चर्चा

पोखरा साहित्य महोत्सव
दीपक परियार

लेखनाथ — बैजनी रंगको फूलले ढकमक्क छ काठमाडौं । पारिजातको 'शिरीषको फूल' कि जकारान्डा भन्ने बहसले सामाजिक सञ्जाल रंगिएको छ । फेवाताल किनारमा भएका दुई-तीन बोट जकारान्डाले त्यो बहस पोखरासम्म ल्याएको छैन ।

पोखरा साहित्य महोत्सवमा शनिबार पारिजातको कविता 'रातो गुलाब’ बारे बोल्दै साहित्यकार खगेन्द्र संग्रौला । तस्बिर : दीपक/कान्तिपुर

बरु, पारिजातकै 'रातो गुलाब' कवितामाथि विमर्श भएको छ, शनिबारको पोखरा साहित्य महोत्सवमा ।
दर्शकदीर्घामा मन्त्रमुग्ध भएर बसिरहेका थिए उनै खगेन्द्र संग्रौला, जसले वर्षाैं पहिले पारिजातको अंग्रेजी कविता 'रेड रोज' अनुवाद गरेर 'रातो गुलाब' बनाएका थिए । उनको पहिचान जनाउने सेतै कपाल थियो । ढयाके चस्मा थियो ।

'रातो गुलाब' माथि बोल्न आउँदा रातो झोला थिएन । हम्मेसी साथै हुने रातो झोला उनले कहाँ राखे ? १५ मिनेटको आफ्नो सेसनमा उनले खुलाएनन् । रातो गुलाब अनुवादको सन्दर्भ सुनाए । 'कविता मैले बिर्सिसकेको थिएँ ।

आयोजकले भनेपछि धमिलो सम्झना मलाई के आयो भने पारिजातको दुईवटा कविता मैले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेको थिएँ, एउटा 'रेड रोज' र अर्को 'डेथ (मृत्यु)',' उनले सम्भिए, 'रेड रोजमा के थियो मलाई थाहा थिएन । निस्सारताकालीन कविता हो कि, राल्फाकालीन कविता हो कि, अवसानको बेलाको कविता हो । मलाई थाहा थिएन ।'

पारिजातको २०४८ मा देहान्त भएपछि सुकन्याले आफूलाई अनुवाद गर्न दुई कविता दिएको उनले स्मरण गरे । कविता अनुवादका बारेमा भने आफ्नो मत अलि अप्ठेरो भएको उनले बताए । कविता अभिव्यक्तिका विधामध्ये सबैभन्दा कठिन, संक्षिप्त, सूत्रबद्ध, सूक्ष्म र तीक्ष्ण हुने भएकोले जोहोकीले लेख्न नसक्ने र लेखिएकाको अनुवाद गर्न नसक्ने उनको तर्क छ ।

महोत्सवमा पारिजातको विद्रोही कविता मात्रै सुनिएन, अंग्रेजी कवि पर्सी बयसी (पीबी) शेलीका प्रेमिल कविता पनि सुनिए । स्वच्छन्दतावादी ती महान् कविका कविता अर्का युवा कवि त्रिवेणीले वाचन गरे । शेलीका कविता 'ओजिमेन्डियस', 'फिलोसोफी अफ लभ' र 'ज्युज (यहुदी)' मा त्रिवेणी उम्दा सुनिए ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतमा लाेकसभा निर्वाचन : अन्तिम चरणको मतदान सुरु

मोदीदेखि सन्नी देवलसम्मको भाग्यको परीक्षा
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा जारी १७ औं लोकसभा चुनाव अन्तर्गत आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सुरु भएको छ । अन्तिम चरणअन्तर्गत विभिन्न सात प्रदेश र केन्द्रशासित एक गरी आठ राज्यका ५९ लोकसभा सिटमा मतदान हुँदैछ ।

उत्तरप्रदेश (यूपी) का १३, बिहारका आठ, पश्चिम बंगालको नौ, पन्जाबका सबै १३, चण्डिगढको एक, झारखण्डको तीन, हिमाचलका सबै चार र मध्यप्रदेशका आठ लोकसभा क्षेत्रका दश करोडभन्दा बढी मतदाताले ९१८ उम्मेद्वारको भाग्यको फैसला गर्दैछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउड अभिनेता सन्नी देवलसम्मको भाग्यको फैसला समेत आजकै मतदानले गर्नेछ। सन् २०१४ को चुनावमा आइतबार मतदान भइरहेका ५९ वटा लोकसभा सिटमध्ये भारतीय जनता पार्टी र गठबन्धन दलले ३९ सिट मा जितको झण्डा र्फहराएका थिए।

आइतबार चुनाव हुने लोकसभा क्षेत्रहरुमध्ये युपीको वाराणसी, गोरखपुर, पञ्जाबको गुरदासपुर र बिहारको पटनासाहेब तथा पाटलीपुत्रको निर्वाचनलाई लिएर सर्वत्र चासो छ। सांस्कृतिक र धार्मिक नगरी बाराणासी प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र हो।

पाँच वर्षअघि मोदीले यही लोकसभा क्षेत्रमा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई पराजित गरेका थिए। तुलनात्मक रुपमा मोदीका लागि सहज ठानिएको बाराणासीमा यसपटक भारतीय राष्ट्रिय कांग्रेसका अजय राय मुख्य प्रतिस्पर्धाका रुपमा रहेका छन्।

सत्तारुढ दल भारतीय जनता पार्टीका लागि युपीकै गोरखपुर लोकसभा क्षेत्र प्रतिष्ठाको विषय बनेको छ। युपीका मुख्यमन्त्री योगी आदित्यनाथको गृहनगरी पनि भएकाले गोरखपुर विगत दुई दशकदेखि भाजपाको किल्लाका रुपमा चिनिँदै आएको थियो।

तर, एक वर्षअघि भएको उपनिर्वाचनमा समाजवादी पार्टी (सपा) ले भाजपाको किल्ला भत्काउन सफल भयो। उक्त हारका कारण पनि गोखरपुरमा गुमेको साख फर्काउन यसपटक भाजपाले पुरै जोड लगाएको छ। भाजपाका तर्फबाट भोजपुरी सिनेमाका हिरो रवि किशन र सपाले रामभुसल निषादलाई चुनावी मैदानमा उतारेको छ।

सातौं चरणअन्तर्गत पन्जाबका तेह्रवटै लोकसभा सिटमा चुनाव हुँदैछ। तीमध्ये गुरदासपुर बलिउड अभिनेता सन्नी देअलको उम्मेद्वारीका कारण चर्चामा छ। यो लोकसभा सिटबाट बलिउडका अर्का अभिनेता बिनोद खन्ना भाजपाका तर्फबाट चारपटक चुनाव जितेका थिए।

दुई वर्षअघि खन्नाको निधन भएपछि भाजपाले पुनः बलिउड कलाकारलाई नै मैदानमा उतारेको छ। साथै पाँच वर्षअघि आम आद्मी पार्टीका चारवटा सिटमा अप्रत्यासित जित हात पारेको थियो। तर, पछिल्लो समय उक्त पार्टीको जनाधार दिल्लीबाहिर खुम्चिँदै गएका कारण यसपटकको चुनावमा उसले हात पार्ने नतिजाप्रति पनि राजनीतिक वृत्तमा विशेष चासो रहेको पाइन्छ।

त्यसैगरी आइतबार मतदान हुने बिहारका आठ लोकसभा क्षेत्रमध्ये पटनासाबिह र पाटलीपुत्रको चुनावी रस्साकस्सी विशेष छ। पाँच वर्षअघि पटनासाहिबमा भाजपाको तर्फबाट अर्का बलिउड अभिनेता शत्रुध्न सिन्हा निर्वाचित भएका थिए। तर, यसपटक उनै सिन्हा भाजपा छाडेर क‌ांग्रेसबाट उम्मेद्वार छन्।

भाजपाले भने केन्द्रीय मन्त्री रवि शंकर प्रसादलाई सिन्हाको विरुद्ध मैदानमा उतारेको छ। एक त विरोधी खेमामा पुगेका सिन्हाको उम्मेद्वार र अर्कोतर्फ केन्द्रीय मन्त्री मैदानमा रहेकाले भाजपाले पटनासाहिबलाई प्रतिष्ठाको रुपमा लिएको छ।

चारदशकभन्दा बढी समयदेखि बिहारको राजनीतिमा आफ्नो प्रभाव छाड्दै आएका राष्ट्रिय जनता दल -राजद) का प्रमुख लालुप्रसाद यादवकी जेठी छोरी मिसा भारती र भाजपाका रामकृपाल यादवबीचको प्रतिस्पर्धाका कारण पाटलीपुत्र लोकसभा क्षेत्रको चुनावी परिणामलाई लिएर पनि विशेष चासो रहेको पाइन्छ।

कुनै समय लालुका विश्वासपात्र रहेका यादव पाँच वर्षअघि राजद छाडेर भाजपा प्रवेश गरेका थिए। २०१४ को चुनावमा यी दुईबीच नै प्रतिस्पर्धा थियो र यादवले मात्र चालिस हजार भोटले बाजी मारेका थिए। अघिल्लोपटक जस्तै यसपटक पनि यी काका र भतिजीबीचको भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ।

गएको १३ अपि्रलदेखि जारी १७ औं लोकसभा निर्वाचनको मतगणना भने २३ मे हुनेछ। भारतको निर्वाचन आयोगले छैटौं चरणसम्म ६६.८८ प्रतिशत मतदान भएको जनाएको छ।

चुनावअघिका केही अनौपचारिक मतसर्वेक्षणहरुले भाजपा नेतृत्वको राष्ट्रिय लोकतानिन्त्रक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत ल्याउने भविष्यवाणी गरेका थिए। तर, निर्वाचन सकिँदै गर्दा केही भारतीय सन्चारमाध्यम र राजनीतिक विश्लेषकहरुले यसपटकको चुनावमा कुनै पनि गठबन्धनको प्रष्ट बहुमत नआउने र सत्ताको साँचो क्षेत्रीय दलहरुको हातमा पुग्ने प्रक्षेपण गरेका छन्।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्