नेपालभाषामा सिर्जना घट्दै

काठमाडौँ — नेपालभाषा (नेवारी भाषा) साहित्य सिर्जना कार्यक्रम घट्दै जान थालेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपालभाषा परिषद्ले संयुक्त रूपमा आयोजना गरेको ‘नेपालभाषा साहित्यमा काव्ययात्रा गोष्ठी’ मा ऊक्त विचार व्यत्त गरेका हुन् ।

नेपालभाषाको काव्यिक इतिहास ४ सय ६८ वर्षअघि सुरु भएको हो । मल्ल कालमा नेपालभाषा राजकीय भाषाका रूपमा प्रयोग गरिन्थ्यो ।


‘नेपालभाषा साहित्य प्राचीनकालदेखि अहिलेको अवस्थासम्म हेर्दा सबैभन्दा बढी लेखिएको, बढी पुस्तक प्रकाशन भएको तथा बढी सर्जक भएको विधा कविता नै हो,’ नेपालभाषाको कविता यात्रा शीर्षक कार्यपत्र प्रस्तुत गर्दै राजेन मानन्धरले भने, ‘प्रजातन्त्रपछि गणतन्त्र आयो । मानौं जनताले चाहेको सबै थोक आयो । यस्तो अवस्थामा नेपालभाषा काव्य क्षेत्र फेरि एकपल्ट खुलेर हुर्कनुपर्ने थियो । तर त्यो पनि अपेक्षाकृत सक्रिय बन्न सकेन । न नयाँ सिर्जनाले नयाँ रंग देखाउन पायो न पुराना हस्तीहरूले आफूलाई समयसापेक्ष बनाएर पस्कन सकेँ ।’


काव्य विधाअन्तर्गत गद्य र पद्य कविता, मुक्तक, गीत, गजल, हाइकु, खण्डकाव्य, महाकाव्यलाई लिइएको मानन्धरले उल्लेख गरेका छन् । राजनीतिक आन्दोलनसँगै जातीय मुद्दाले भाषालाई पहिचानको विषयका रूपमा उठाइएकोले भाषा बाँचिरहेको भान मात्र परेको तर सम्बन्धित समुदायका स्रष्टाहरूको प्रवर्द्धन हुन नसकेको दाबी गरे ।


‘अर्कोतर्फ अबको समाज पहिलेजस्ता साँघुरिएको परम्परावादी वा यथास्थितिवादी रहेन,’ कविहरू प्रविधिको प्रभावबाट मुक्त नरहेको उल्लेख गर्दै मानन्धरले भने, ‘विज्ञान र प्रविधिको विकाससँगै मोबाइल, इन्टरनेटमा व्यक्तिगत पहुँच बढेकाले समाजलाई व्यापक परिवर्तन गरिदिएको छ ।’


समालोचक पूर्ण ताम्राकारले कार्यपत्रमाथि टिप्पणी गर्दै शुक्रराज शास्त्रीले नेपालभाषामा कृति लेखन र ग्रन्थ प्रकाशन गरेकैले तत्कालीन राज्यसत्ताले फाँसी चढाएको बताए । उनले भने, ‘यो भाषा नेवार जातिले बोल्छन्, लेख्छन् पढ्छन्, साहित्यको संरक्षण गर्छन् । तर, सरकारले मुलुकमा बोलिने भाषाहरूलाई उचित स्थान नदिएकाले आज ह्रासोन्मुख स्थितिमा पुगेका छन् ।’

प्रकाशित : जेष्ठ ७, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?