कला-साहित्यमय बन्यो बेलबारी

विराटनगर — चर्चित साहित्यकार तथा कलाकारहरुको जमघटकाबीच मोरङको बेलबारी शुक्रबार र शनिबार दुई दिन कला साहित्यमय बन्यो । विभिन्न स्रष्टाहरुले बेग्लाबेग्लै भाषामा सिर्जना प्रस्तुत गरे । विद्यार्थी र स्थानीय कलाकारको सहभागितामा चित्रकला प्रतियोगिता पनि आयोजना गरियो ।

कला-साहित्यमय बन्यो बेलबारी

यसै अवसरमा आयोजक संस्थाले स्थापना गरेका दुईवटा पुरस्कार दुईजना स्रष्टालाई प्रदान गरिएको थियो । स्थानीय बेलबारी साहित्य विकास समितिले आयोजना गरेको कला तथा साहित्य महोत्सवका अवसरमा विभिन्न स्थानका सर्जकहरु भेला भएका थिए । बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले महोत्सव उद्घाटन गरेका थिए ।


बेलबारी नगरका दुई दर्जन चित्रकारहरूले नगरको प्राकृतिक, सांस्कृतिक महत्व झल्कने कलात्मक चित्र बनाएका थिए । यसैगरी अरु विभिन्न विषय र सन्दर्भमा सिर्जना गरिएका चित्रहरु प्रदर्शन गरिएको थियो । प्रतियोगितात्मक रुपमा राखिएको चित्रकला प्रतियोगितामा सुमन तामाङ, निशा राई, शृंखला धिमालका चित्रहरुलाई उत्कृष्ट मान्दै पुरस्कृत गरियो । यसैगरी रोहन धिमालको चित्रले प्रोत्साहन पुरस्कार पायो ।


महोत्सवकै अवसरमा बहुभाषिक साहित्य गोष्ठी पनि आयोजना गरिएको आयोजक समितिकी अध्यक्ष रेखा सुवेदीले बताइन् । यस अवसरमा लिम्बू, राई, थारू, मैथिली, गुरूङ, तामाङ, नेपाली, हिन्दी, अंग्रेजीलगायत विभिन्न भाषामा सिर्जना प्रस्तुत गरिएको थियो । कतिपय स्रष्टाले अनुदिन रचनाहरु पनि सुनाएका थिए । महोत्सवका अवसरमा सहभागी हुन आएका देशका विभिन्न क्षेत्रका सर्जकहरुलाई बेलबारी १ स्थित प्राकृतिक सौन्दर्ययुक्त सिसौली सिमसारलगायत पर्यटकीय क्षेत्र अवलोकन समेत गराइएको समिति अध्यक्ष सुवेदीले बताइन् ।


महोत्सवमा २५ हजार राशीको ‘बेलबारी साहित्य पुरस्कार’ द्वारा साहित्यकार हर्कमान तामाङलाई प्रदान गरियो । यसैगरी १५ हजार राशीको ‘बेलबारी कला पुरस्कार’ सोमप्रसाद गौतम (श्याम) लाई प्रदान गरिएको थियो । यसै अवसरमा कथाकार धनजीत पराजुलीको कथा संग्रह ‘हुलिया’ सार्वजनिक गरिएको थियो । यसैगरी ‘निगुरो’ अनलाइन पत्रिका र टिभिको शुभारम्भ पनि गरिएको थियो ।

महोत्सव अवसरमा साहित्यकार तथा समालोचक प्राडा राजेन्द्र सुवेदी, डा बद्रीविशाल पोखरेल, प्राज्ञ गंगा सुवेदी, हर्कमान तामाङ, सरला चापागाईं, इरान राई, जीविका अश्रु, मुकुन्द प्रयास, देवी पन्थी, भरत गुरागाईलगायत सर्जकहरु सहभागी थिए ।


यसैगरी शिवनारायण पण्डित सिंगल, भवानी पोख्रेल, बद्री अधिकारी, धर्मराज राई, जेबी थुलुङ, राधिका गुरागाई, टीका लामिछाने, लेखबहादुर मगर, बिज्ञेन राई, हिमांशु राय, हिरा खड्का, दीप मंग्राती, उमा सिजापती, नितु थापा, सावित्रा कोइरालालगायत सर्जकले पनि महोत्सवमा सहभागिता जनाए ।

प्रकाशित : जेष्ठ ११, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?