कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘फस्टाएन दार्जिलिङको चित्रकला’

मनोज बोगटी

दार्जिलिङ, भारत — प्रसिद्ध हास्य कलाकार महेन्द्र बागदासले हातमा तीनवटा फाइल च्यापेका थिए । उच्चकन्या उच्चतर माध्यामिक विद्यालयमा १२ कक्षा पढिरहेकी अभिषिका छेत्रीले प्रदर्शनीकक्षबाट बाहिरिँदै गर्दा बागदासको हातका फाइल देखिन् ।

‘सर, हेर्न पाउँ न,’ उनले मुख फोरिहालिन् । अभिषिकालाई खाता दिँदै बागदासले भने, ‘मेरी छोरीले पनि राम्रो पेन्टिङ गर्छे । म उसैलाई लिएर आएको हुँ यो उसैको पेन्टिङ बुक हो ।’


कालेबुङ आर्टस् एसोसिएसनले रामकृष्ण रंगमञ्चमा गरेको चारदिने चित्र प्रदर्शनीकक्षाको आँगनमा देखिएको दृश्य हो यो । प्रदर्शनी आँगनबाटै सुरु भएर रंगमञ्चको दुइटा कोठाका भित्तासम्म पुगेको थियो । पाँचवटा क्रूर औंलाका कारागारमा निरीह मानिस थुना परेको चित्रअघिल्तिर थिए आशकुमार राई ।


‘सत्ताले मानिसलाई कसरी दमन गर्छ, मैले रङले यति नै बताउन सकेको छु,’ आफूले बनाएको चित्रबारे बोल्दै आशकुमारले भने । एसोसिएसनले निरन्तर प्रदर्शनी गर्दै आइरहेको छ । चित्रकारिताको स्कोप कस्तो छ ? एसोसिएसनका सचिव टीका प्रधानले यो प्रश्नको धुमाउरो उत्तर दिए, ‘बर्सेनि प्रदर्शनी हुनु नै उत्तर हो ।’


प्रधानले यस्तो उत्तर दिए पनि खरसाङका प्रौढ चित्रकार बीबी रसाइलीले भारतको दार्जिलिङदेखि सिक्किमका चित्रकला खस्किएको किटान गरे । ‘ढुंगामा उम्रिएको बिरुवा हुन्छ नि, ठीक त्यस्तै छ यताका चित्रकलाको अवस्था,’ उनले भने, ‘न प्रवर्द्धनको अभ्यास बंगाल सरकारमा छ, न भारतीय नेपाली चित्रकारहरूसित दह्रिला कला संस्थान नै छ । जति जे छन्, भुइँफुट्टा छन् ।’ भारत सिक्किमका चित्रकार हेम खवासको कुरा अर्कै छ, ‘पश्चिम बंगालमा केही नहोला तर सिक्किममा त्यस्तो छैन ।


सिक्किममा ग्यालरी पनि छ, सरकारी सहयोग पनि छ ।’ खवासअनुसार व्यावसायिक हिसाबमा पनि सिक्किमका चित्रकार कोही पनि नोक्सानीमा छैनन् । सिक्किममा वर्षमा थुप्रै पर्यटन उत्सव हुन्छन्, यहाँ पर्यटकलाई सिक्किम सरकारले राम्रो मूल्यमा पेन्टिङ बेचिदिन्छ । अन्य राज्यतिर चित्रकारहरूलाई पठाउँछ ।


यता चित्रकारहरूले व्यक्तिगत रूपमा मात्र दार्जिलिङले चित्रकलाको विरासत धानिरहेको चूडामणि लाबरको ठहर छ । ‘दार्जिलिङ चित्रकारितामा धनी हो, तर यहाँ हुने निरन्तर आन्दोलनले त्यसलाई धान्ने स्थिति नै बनेन,’ उनले भने । १२ चित्रकारले सुरु गरेको एसोसिएसनमा अहिले ३६ जना सदस्य छन् । हरेक वर्ष हुने प्रदर्शनीले चित्रकारलाई कुनै न कुनै फाइदा दिएकै छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?