पुस्किनका सिर्जना नेपालीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै समय नेपाली लेखन रूसी साहित्यबाट समेत प्रभावित थियो । अलेक्जेन्डर पुस्किनदेखि आन्तोन चेखोबसम्म पढेर हुर्केका ठूलै साहित्यिक पुस्ता छ मुलुकमा । बिहीबार राजधानीमा ‘पुस्किन काव्यिक साँझ’ नै आयोजना गरियो, जहाँ पुस्किनले रचना गरेका ८ वटा कविता नेपाली भाषामा अनुवाद गरी सुनाइए । 

पुस्किनको २ सय २० औँ जन्मदिनको अवसरमा नेपाल रूसी साहित्य समाजले कार्यक्रम गरेको हो । ‘माया गरें तिमीलाई’, ‘बन्दी’, ‘स्वगीत’, ‘धाईआमा’, ‘हिँउदको साँझ’, ‘साइबेरियाको गहिराइ’ जस्ता कविताहरूमा कतै प्रेम, कतै मित्रताको आग्रह र कतै धाईआमाप्रति सम्मान प्रस्तुत गरिएको थियो ।

‘बन्दी’ कवितामा भने युद्धका समयमा जेल बस्दाको अनुभव र भावलाई दर्साइएको थियो । यो कवितालाई शैली थियटरका रंगकर्मी नवराज बुढाथोकीले रंगमञ्चीय शैलीमा प्रस्तुत गरेका थिए । पुस्किन सम्झेर कविता सुनाउनेहरूमा मोमिला जोशी, गीता त्रिपाठी, विष्णुबहादुर सिंह, सुलोचना मानन्धर र रूसी कवि लुलिया एन्ड्रोसोभसमेत थिए ।

रामबहादुर पहाडीले पुस्किनलाई समर्पित गर्दै आफ्नै रचना तथा संगीतमा गजल पनि गाए । सबै कविताहरू साहित्यकार जंगव चौहानले नेपालीमा अनुवाद गरेका हुन् । कार्यक्रममा पुस्किनको जीवनसँग सम्बन्धित डकुमेन्ट्री फिल्म पनि देखाइएको थियो ।

कवि एवं प्राज्ञ मेघराज शर्मा (मञ्जुल) ले पुस्किन संसार प्रसिद्ध रूसी साहित्यकार भएको बताए । समाजका अध्यक्ष चौहान र सुशील सिग्देल लगायतले पुस्किनलाई नेपाली भाषा साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटासँग तुलना गरे ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्री कार्यालयले रोक्यो चार्जिङ स्टेसन

विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माण हुने भएपछि उत्साहित लुम्बिनीवासीको आशा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काम रोक्न निर्देशन दिएपछि निराशामा परिणत भएको छ । 
दीपेन्द्र बडुवाल, मनोज पौडेल

लुम्बिनी — बिजुलीबाट सञ्चालन हुने सवारीसाधन (बस) का लागि चाहिने चार्जिङ स्टेसनको काम रोकिएको छ । लुम्बिनी परिसरमा स्टेसन निर्माण गरेको भन्दै प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले काम रोक्न निर्देशन दिएको हो । 

लुम्बिनीमा निर्माणाधीन सोलार पावरहाउस चार्जर स्टेसनस्थल । प्रधानमन्त्री कार्यालयले राष्ट्रिय गौरवको आयोजना क्षेत्र लुम्बिनीमा यसको काम अघि नबढाउन निर्देशन दिएको छ । तस्बिर : मनोज/कान्तिपुर

लुम्बिनी क्लिन ट्रान्सपोर्ट परियोजनाअन्तर्गत निमार्णाधीन चार्जिङ स्टेसनको काम अहिले ठप्प छ । एसियाली विकास बैंक (एडीबी) को १३ करोड रुपैयाँको सहयोगमा स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । लुम्बिनी परिसरमा स्टेसन निर्माण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गरेका थिए । लुम्बिनी र बुटवलमा केही महिनाअघि आयोजित सार्वजनिक कार्यक्रममा उनले स्टेसन निर्माण रोक्नुपर्ने बताएका हुन् ।

चैत अन्त्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काम रोक्न पत्राचार गरेको हो । प्रधानमन्त्रीको कार्यालयले लुम्बिनी विकास कोषलाई काम रोक्न पत्राचार गरेको स्रोतले जनायो । स्टेसन निर्माणको स्थानीयस्तरमा अनुगमन र निरीक्षण कोषले गर्दै आएको थियो । करिब दुई महिनादेखि काम रोकिएपछि सोलार पावर हाउस चार्जर स्टेसन स्थल खण्डहर बनेको छ । चारैतिर घाँसपात उम्रिएका छन् । कामदार छैनन् । बिहीबार निर्माणस्थलमा कोही थिएनन् ।

जापानको इसाका इलेक्ट्रिक कम्पनीले पावर हाउस निर्माणको काम गरिरहेको हो । डिसेम्बरमा सुरु निर्माण अप्रिल तेस्रो साताभित्र पूरा गर्ने लक्ष्य थियो । ‘काम तीव्र गतिमा भइरहेको थियो,’ स्टेसनका साइट इलेक्ट्रिक इन्जिनियर जीवन खनालले भने, ‘एक्कासि काम रोकियो । नत्र, अहिलेसम्म सञ्चालनमा आइसक्थ्यो । अब काम हुन्छ/हुन्न अन्योल छ ।’

स्टेसनको ‘रि–डिजाइन’ गर्न काम रोकिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले बताए । ‘निर्माण भइरहेको ठाउँ उपयुक्त भएन,’ उनले भने, ‘त्यहाँ गाडी चार्ज गर्दा कोलाहल र भीडभाड हुने देखियो ।’ शान्ति खोज्दै ध्यान गर्न आउने स्थानमा गाडीको भीडभाड उपयुक्त नहुने उनले बताए । ‘पहिले नै सोचेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘महत्त्वपूर्ण स्थानमा स्टेसन बनाउन उपयुक्त थिएन ।’ त्यही भएर अर्को ठाउँमा सार्नका लागि काम रोक्नुपर्ने बाध्यता आएको उनले बताए ।

आगामी तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने गाडी विस्थापित गर्ने योजनाअनुसार काम थालिएको उनले सुनाए । अहिले अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र नजिकै स्टेसन निर्माण भइरहेको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले निर्माण रोकिएका बारेमा आफूलाई जानकारी नभएको बताए । उनले पर्यटन वा ऊर्जा मन्त्रालयमा जानकारी लिँदा राम्रो हुने सुझाव दिए ।

'काम रोकिनु दुःखद’
यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले विद्युतीय गाडी सञ्चालन गर्ने कुरा सुखद भएको बताउँदै पूर्वाधार निर्माण रोकिनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । ‘लुम्बिनी विकासका काममा भर्खरै वामे सर्दै थियो, यस्तो निर्णयले ठेस लाग्यो,’ प्रदेश सांसद फखरुद्दिन खाँले भने, ‘यस्तो हुनु दुःखद हो ।’

निर्माण रोकिनुको कारण स्थानीयले थाहा पाउनुपर्ने उनले बताए । ‘के कारणले रोकियो, जनताले थाहा पाउनुपर्छ,’ उनले भने, ‘कसैको स्वार्थमा रोक्नुहुन्न । तत्काल काम सुरु गर्नुपर्छ ।’ लुम्बिनी विकास कोषले यसको काम रोकिएको विषय गुपचुप राखेको छ ।

‘यही महिनाबाट विद्युतीय जिप चढ्ने सपना थियो,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले भने, ‘सपना सबै हावाले उडायो ।’ निर्माणको अन्तिम चरणमा पुगेको पूर्वाधार रोकिनु दुःखद भएको र यसले स्थानीयको भावनामा ठेस पुर्‍याएको उनले बताए । ‘पहिल्यै उपयुक्त ठाउँ खोज्नुपर्थ्यो,’ भिक्षु महासंघका अध्यक्ष मैत्री महाअस्थवीरले भने, ‘निर्माण पूरा भएपछि यस्तो गर्नु हुँदैन ।’ यसले लुम्बिनीबारे राम्रो सन्देश नजाने बताए ।

८० प्रतिशत काम
स्टेसनको निर्माण ८० प्रतिशत र सोलार प्यानल जडान गर्ने काम सम्पन्न भएको छ । इक्विपमेन्ट कन्ट्रोल कोठाबाट प्यानलसम्म तार जोडिसकिएको छ । घामबाट सोलार प्यानल चार्ज भएपछि विद्युत् उत्पादन हुन्छ । ५ सय ९४ सोलार प्यानल जडान गरिएको छ । यसबाट १५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यो मुलुककै ठूलो सोलार चार्जर स्टेसन हो । पावर हाउसका लागि आवश्यक सामग्री विदेशबाट ल्याइएका छन् ।

सोलार प्यानल जापानबाट, पूर्वाधारका सामान चीन र जंसन बक्स (पावर कन्ट्रोल र सप्लाई गर्ने उपकरण) इटालीबाट आयात गरिएको हो । लिथेमाइन ब्याट्री मात्र आउन बाँकी छ । कोरियाबाट ल्याइएको ब्याट्री कोलकाता बन्दरगाहसम्म आइपुगेको छ । ब्याट्री आउनासाथ जडान गरेर स्टेसन सञ्चालन हुन्थ्यो । सोलारले ब्याट्री चार्ज गरेर इन्भर्टरबाट ऊर्जा सप्लाइ गर्छ । ब्याट्रीको क्षमता ९ सय किलोवाटको छ ।

पावर हाउसमा २३ वटा गाडी चार्जर स्ट्यान्ड राख्न मात्र बाँकी छ । यिनमा तीनवटा क्विक चार्जर हुन्छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा जिप, कार एकैपटक क्विक चार्ज गर्न सकिन्छ । क्विक चार्जबाट फुल चार्ज हुन आधा घण्टा लाग्छ । बाँकी २० वटा सामान्य चार्जर हुन्छन् । यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । पावर हाउसबाट एकैपटकमा १३ वटा सवारीसाधनले चार्ज गर्न सक्नेछन् ।

योजनाअन्तर्गतका २५ चार्जरमध्ये तीनवटा पावर हाउस स्टेसनबहिर जडान गरिनेछ । एउटा लुम्बिनी विकास कोष परिसर र दुईवटा भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा राखिनेछ ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT