‘प्रगतिशील लेखन भाले मौरीजस्तो’

काठमाडौँ — पछिल्लो समय प्रगतिशील लेखन पछि परेको चर्चा–परिचर्चा हुँदै आएको छ । प्रगतिशीलताको नाममा पार्टीको नारा बोक्ने या परम्परागत लेखनमै रमाउनेजस्ता आरोप लाग्दै आएका पनि छन् ।

केहीअघि प्रगतिशील लेखक संघबाट विद्रोह गरेर निस्केका स्रष्टाहरूले पनि प्रगतिशील लेखनको दिशा, दृष्टिकोण र गुणवत्तामाथि प्रश्न ठड्याएका थिए । राजधानीमा केही स्रष्टाहरूले ‘अबको प्रगतिशील लेखन’ बारे शुक्रबार घना बहस गरे ।


ताराकान्त पाण्डेयले यही शीर्षकमा पेस गरेको ‘अबको प्रगतिशील लेखन’ विषयक कार्यपत्रमा ‘प्रगतिशील लेखकहरूले चिन्तनको तरिका र मस्तिष्कको पद्धतिमै परिवर्तन ल्याउनुपर्ने’ आवश्यकता औंल्याए । कवि स्नेह सायमीले प्रगतिशील लेखन बलियो हुन नसक्नुमा परम्परावादी लेखन जिम्मेवार रहेको विचार दिए ।


कार्यपत्रमाथि टिप्पणी गर्दै कवि वासुदेव अधिकारीले ‘प्रगतिशील लेखनको आन्दोलन भाले मौरीहरूको जमातजस्तो’ भएको भन्दै प्रगतिशील लेखनका अगुवाहरू रानीमौरीजस्तो हुनुपर्ने बताए । कवि तथा आख्यानकार सरल सहयात्रीले अहिलेको प्रगतिशील लेखनमाथि वैचारिक तहबाटै बहस ल्याउनुपर्ने बताए, गीता त्रिपाठीले पनि सही थपे ।


नेपाल प्रज्ञा प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग र युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आयोजित विमर्शमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यकारले मुलुकमा भएको परिवर्तनलाई आत्मसात गरी सोहीअनुसार दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने बताए । सदस्यसचिव जगत्प्रसाद उपाध्यायले युद्धप्रसाद मिश्रको लेखनको तारिफ गर्दै प्रगतिशील लेखकहरूले समाजलाई रूपान्तरण गराउन सर्वप्रथम आफैं रूपान्तरित हुनुपर्ने बताए ।


निबन्ध तथा समालोचना विभागका प्रमुख गोपीन्द्र पौडेलले मिश्रबाट नयाँ पुस्ताले सिक्नुपर्ने औंल्याए । विमर्शमा प्रगतिशील लेखक संघका अध्यक्ष जीवेन्द्रदेव गिरी, पूर्व अध्यक्ष मातृका पोखरेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, रामप्रसाद ज्ञवाली, सावित्रीकुमार कक्षपती मल्ल, पुष्करराज भट्ट, बालाकृष्ण अधिकारीलगायतले विचार राखेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?