भिजुअल कविता

कान्तिपुर संवाददाता

काठमाडौँ — वाईफाई, फेसबुक, युट्युब, गुगलजस्ता शब्दहरू पछिल्लो समय तन्नेरीमाझ प्रिय छन् । यिनै माध्यमको प्रयोगमार्फत मौलिक संस्कृति र ज्ञान प्रवर्द्धन गर्ने ध्येयले बुधबार राजधानीमा ‘दृश्य कविता’ प्रस्तुतिका साथ बहुभाषी कवि गोष्ठी गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागको सहकार्यमा सेलो फाउन्डेसनले गरेको कार्यक्रममा विभिन्न ६ जना स्रष्टाको कवितामाथि बनेको भिडियो देखाइएको थियो ।

भिडियोमा कवि अनिता लामा, बिना थिङ, ङेमा थाङपाल, मिलन तामाङ, सजना गोले, हीरामान वलको तामाङ भाषाको कविता समेटिएको थियो । बहुभाषी कवि गोष्ठीमा भने स्नेह सायमीले नेवार भाषामा, राकेश मायालुले मगर भाषामा, सोम धिमालले धिमाल भाषामा, छविरमण सिलवाल, विकु लामा, देवकी अभिलाषीले नेपाली भाषा कविता सुनाए ।

त्यस्तै अटुट दोङ, ईश्वर थोकर, सिर्जना गोले, शीतल मोक्तान र एनिका ग्लानले तामाङ भाषामा कविता सुनाए । कवितामा समसामयिक राजनीतिक चेतनादेखिमातृभाषा र समुदायप्रतिको समर्पण झल्किएको प्रज्ञा प्रतिष्ठान मात्रृभाषा साहित्य विभागकी प्रमुख एवं प्राज्ञ लक्ष्मी मालीले बताइन् ।

मुलुकभरका मातृभाषा प्रवर्द्धनका लागि प्रतिष्ठानलेकाम गर्दै आएको बताउँदै मातृभाषा साहित्य अनुसन्धान र लेखनमा प्रोत्साहनमूलक कार्यक्रमहरूको तयारी भइरहेको पनि उनले बताइन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपालीलाई मृत्युदण्डको फैसला

होम कार्की

काठमाडौँ — आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएर १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ ।

उदयपुरको बसाहा–७, बैकडाँडाका दाहालले मोरङ, बबियाबिर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए । उनलाई जुवेलस्थित हायल जेलमा राखिएको छ ।

सार्वजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो । अदालतले पीडित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ ।

दाहालको जीवन बचाउन रियादस्थित नेपाली दूतावासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो । पुनरावेदनका तीन न्यायाधीशको संयुक्त इजलासले मृत्युदण्डको फैसला सुनाएको हो । ‘दुई जना न्यायाधीश मृत्युदण्ड नै दिनुपर्नेमा मतमा उभिए । एक जना न्यायाधीश निजी कानुनअनुसार पीडित परिवारलाई फैसला गर्न दिनुपर्ने पक्षमा उभिएका थिए,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, ‘पुनरावेदनले मृत्युदण्डको सजाय नै तोक्यो ।’

दाहाल, विष्ट र एक जना सुडानी जुवेलको मरुभूमिमा ऊँट गोठाला थिए । विष्ट दाहालका नातेदार पनि हुन् । ‘विष्ट र सुडानी राति सुतिरहेका बेला दाहालबाट आक्रमण भएको मिसिलमा उल्लेख छ । आक्रमण हुनेबित्तिकै विष्टकोज्यान गयो । सुडानी घाइते भए,’ राजपुतले भने, ‘प्रतिकार नै गर्न नसक्ने अवस्थामा हत्या गरेको हुँदा अदालत पीडित पक्षलाई ब्लडमनी दिलाई माफी दिने पक्षमा देखिएन ।’

पीडित पक्षले पीडकलाई माफी दिइसकेको पत्र दूतावासले अदालतलाई बुझाएको थियो । ‘यो केसमा न्यायाधीशले निजी कानुनभन्दा बढी सार्वजनिक कानुनअनुसार फैसला गरेको देखियो,’ उनले भने । दूतावासले पुनरावेदन अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले झन्डै १३ वर्ष जेलमा बसिसकेको र पीडित पक्षले माफी दिइसकेको हुँदा दाहाललाई माफी दिन साउदीका राजासमक्ष पत्र पठाइसकेकी छन् । ‘हामीले राष्ट्रपतिको पत्र साउदीको परराष्ट्र मन्त्रालयमा बुझाइसकेका छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्