हतुवागढीमा साहित्यिक रौनक

रमेशचन्द्र अधिकारी

धनकुटा — असारको महिना भित्रिसक्दा पनि भुईं कुहिरोले मौसम ठन्डा बनाएको थियो । झन्डै १४ सय मिटर उचाइको भोजपुरको दक्षिणी क्षेत्र घोरेटार हतुवागढीस्थित फलामढुंगाको मौसमलाई भने गीत, नृत्य र साहित्यिक जमघटले खुबै ततायो । 

भोजपुरको हतुवागढी गाउँपालिकास्थित फलामखानीमा हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः रमेशचन्द्र/कान्तिपुर 

हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको चारदिने महोत्सवमा सर्वसाधारणको जमघट खचाखच थियो । त्यस अवसरमा मुलुकभरका मात्रै होइन, भारतका समेत कलाकार, साहित्यकारको प्रस्तुति थियो । विशेष गरी स्थानीय स्तरका कलाकार र हतुवागढी क्षेत्रमा जन्मिएर मुलुकमा स्थापित कला, भाषा र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सहभागी थिए । कार्यक्रमस्थल आसपासका घोरेटार, रानीबास, पूर्णे, वयाङ, सिन्द्राङलगायतका सर्वसाधारणको उपस्थिति बेसी थियो ।

कार्यक्रममा प्रतियोगितात्मक कविता नेपाल तथा भारतका २ सय ५ कविको रचना समावेश गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट १० कविमध्ये सुर्खेतका विज्ञानराज कार्की सर्वोत्कृष्ट ठहरिए । उनको मौन प्रश्न शीर्षकको कविताले पहिलो स्थान हात पार्दै १५ हजार रुपैयाँ प्राप्त गरेको छ । उनले वाचन गरेका हरफहरू थिए :

भर्खरै सफल भएको छ
बाध्यता मृत्युको हाँगामा झुन्ड्याउन
एक सुस्केरा जिन्दगी
उसरी नै सफल भएको छ एक
जोडी आँखा परेलीमा झुन्ड्याउन
केही थोपा पीडा
के ऊ यसरी आफूलाई झुन्ड्याउन सक्ला ?
अस्तित्वको लहरामा
ऊ अर्थात देशप्रेमी ।

प्रतियोगितामा तेह्रथुमका कवि इन्दु केसीको कफनमा फिरेको देश शीर्षकको कविता दोस्रो भएको छ । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यस्तै, भोजपुरका कवि यादव समीर राई तेस्रो स्थानसहित ५ हजार र सुनसरीका किरण शिवाले सान्त्वना प्राप्त गरे । टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथि कवि कुन्ता शर्मा, मायामितु न्यौपाने, राजेश विद्रोहीलगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा गायिका लीला राईले आफ्नो चर्चित ‘गीत भेटैमा भयो सोल्टीज्यू राम्रै छ खबर, धरान धनकुटा भेडेटार सोल्टीज्यू जोडौं न घरबार’ लगायत गीत प्रस्तुत गरिन् । गायक बाबुराम प्रधान, हिरन राई, नृत्यकार प्रतिभा राईलगायतले पनि प्रस्तुति राखेको अध्यक्ष कृपालसिं राईले बताए ।

प्रकाशित : असार २, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

सुपुर्दगी विधेयकको विरोध : हङकङमा रोकिएन प्रदर्शन 

प्रमुख कार्यकारीको राजीनामा माग 
एजेन्सी

हङकङ — हङकङ सरकारले सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयक स्थगनको घोषणा गरे पनि सर्वसाधारणले विरोध प्रदर्शन जारी राखेका छन् । मुख्य भूमि चीनमा सुपुदर्गी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि गत आइतबारदेखि हङकङमा विरोध प्रदर्शन चर्केको हो । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले शनिबार विधेयक स्थगनको घोषणा गरेकी थिइन् । 

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा आइतबार हङकङको भिक्टोरिया स्क्वायरमा गरिएको प्रदर्शन । तस्बिर : रोयटर्स

एक पत्रकार सम्मेलनमा बोल्दै उनले ‘समाजमा विभाजन आएकाले तत्कालका लागि विधेयकलाई रोकेर पुनर्विचार गर्नु उचित’ भएको बताइन् । विधेयक ल्याउनुपूर्व संवाद र व्याख्यामा कमजोरी भएको स्वीकार गर्दै उनले हङकङ शान्ति र सुव्यवस्था कायम गर्न क्रियाशील रहेको बताएकी थिइन् ।

तर आइतबारको प्रदर्शनमा विधेयक खारेजीको माग गरिएको छ । प्रदर्शनमा सहभागी कतिपयले प्रमुख कार्यकारी लामको राजीनामा माग गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आइतबार कालो पोसाक लगाएर हातमा सेतो फूल लिएका ठूलो संख्याका प्रदर्शनकारी हङकङको प्रमुख स्थान भिक्टोरिया स्क्वायरमा भेला भएका थिए । प्रदर्शनकारीले आइतबारको विरोधमा कम्तीमा १० लाख मानिसको उपस्थिति रहेको दाबी गरेका छन् ।‘क्यारी लामले हङकङवासीको भावना सम्बोधन गर्न सकिनन्,’ विरोधमा सहभागी ६७ वर्षीय मा ले भने, ‘दस लाख मानिस सडकमा ओर्लंदा पनि लामले केही नभएको जस्तो स्वाङ पारेकी छन् ।’

यसअघि लामले संवाददाताहरूसँग कुराकानी गर्दै ‘देशको आवश्यकतअनुसारै कानुन ल्याइएको’ दाबी गर्दै कुनै पनि हालतमा ‘विधेयक फिर्ता नगरिने’ बताएकी थिइन् । उनले हङकङमा मानव अधिकारमाथि हस्तक्षेप हुने आशंकका कसैले पनि गर्न नपर्ने बताइन् ।

प्रस्तावित कानुनअनुसार हङकङमा अपराध तथा बलात्कारका आरोपीलाई चीन, ताइवान र मकाउले सुपुर्दगीको आग्रह गर्न सक्नेछन् तर सुपुर्दगी गर्ने/नगर्ने विषय घटनाको प्रकृतिमा भर पर्ने सरकारको दाबी छ । आलोचकहरूले चीनको स्वतन्त्रताविरोधी कानुन र न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी गर्दे सुपुर्दगी कानुन खारेजीको माग गरेका हुन् ।

ताइवानमा एक पुरुषले आफ्नी प्रेमिकालाई हत्या गरी हङकङ फर्केपछि सुपुर्दगी विधेयक प्रस्ताव गरिएको थियो । हङकङ अपराधीका लागि सुरक्षित स्थल हुन थालेको भन्दै सरकारले उक्त विधेयक ल्याइएको जनाएको छ ।

गत बुधबार लाखौं मानिस विधेयकको विरोधमा उत्रेपछि लामले हङकङमा ‘संगठित दंगा’ भएको बताएकी थिइन् तर उनको अभिव्यक्तिले मानिसहरू थप रुष्ट भएका जनाइएको छ । बीबीसीका अनुसार बुधबार बृहत् प्रदर्शनको तयारी गरिएको छ ।
व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधरको सहभागिता रहेको प्रदर्शन क्रममा हालसम्म दर्जनौं घाइते भइसकेका छन् । प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै मानव अधिकार समूहहरूले प्रहरीको आलोचना गरेका छन् ।

सन् १८४१ देखि बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ १९९७ मा स्वतन्त्र भएको हो । त्यसयता चीनको ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत सञ्चालित हङकङमा छुट्टै न्यायिक स्वतन्त्रता, संसद् र अर्थव्यवस्था छ । चीनले हङकङलाई विशेष प्रशासकीय क्षेत्र बताउने गर्छ ।

प्रकाशित : असार २, २०७६ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्