थाङ्का कलामा आधुनिकता

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली पम्परागत कला विधामा पर्छ थाङ्का  । चित्रमार्फत बौद्ध दर्शनको विस्तारका क्रममा कलाको यो शैली विकास भएको मानिन्छ  । तामाङ, शेर्पा, ह्योल्मोलगायत समुदायमा गुम्बा सजाउनेदेखि मृत्युसंस्कारसम्म थाङ्का कलाको प्रयोग हुन्छ । यसलाई फ्युजन गरी समसामयिक बनाउँदा कस्तो हुन्छ होला ? राजधानीमा बहस चल्यो ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न ‘कलामा तामाङ सौन्दर्यको खोजी’ शीर्षकको चित्रकला एवं परम्परागत मूर्तिकला प्रदर्शनी क्रममा यस्तो बहस चलेको हो । पछिल्लो समय केही चित्रकारहरूले थाङ्काको प्रभाव ग्रहण गरेर मौलिक कलाकृति बनाइरहेको सन्दर्भ जोड्दै पूर्वप्राज्ञ एवं थाङ्काविद् निमा ग्याम्जो लामाले भने, ‘बजारका लागि समसामयिक बनाउन सकिए पनि परम्परागत विधालाई भने सुरक्षित नै राख्नुपर्छ ।’

सहरका ग्यालरीहरूमा पछिल्लो समय मिथिला चित्रमा पनि आधुनिकता भित्रिँदै गइरहेको भेटिन्छ । प्रभाव मात्रै मिथिलाको राखेर चित्रकारहरूले मौलिकता मिसाएर बनाएका कलाकृतिको व्यापार पनि राम्रै भइरहेको छ । यही सन्दर्भ जोडे थाङ्का कला समीक्षक म्हेन्दो लामाले। उनले थाङ्कामा प्रयोग हुँदै आइरहेको बुद्ध, हरित तारा (भृकुटी), गुरु रिम्पोछे (पद्मसम्भव), ह्वाइट तारा (स्रङचङ गम्पोकी जेठी बुढी), आर्य अवलोकितेश्वरजस्ता फिगरहरूका ठाउँमा समसामयिक फिगर राखेर कोरे कलामा समसामयिक समाज र विषय आउने तर्क गरे । ‘अहिले थाङ्कामा जुन परम्परा चलिरहेको छ, त्यसलाई नबिगारीकनै आधुनिक शैली भित्र्याउन सकिन्छ,’ उनले भने, ‘यसो भयो भने दुईवटा धार निर्माण गर्न सकिन्छ । परम्परागत र समसामयिक ।’ यसका लागि थाङ्का कलामै काम गरिरहेका हस्तीहरू अघि बढ्नुपर्ने उनले बताए ।

बहसमा प्रमुख अतिथि बनेका ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं पम्परागत शिल्पकला विभागका प्रमुख बुद्धिबहादुर गुरुङले मुलुकका बौद्ध सम्प्रदायमा प्रचलित थाङ्का कलाको व्यापार अहिले अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गइरहेको बताउँदै यसमा नयाँ र सिर्जनशील कार्य गर्न सकिने औंल्याए । ‘छिमेकी चीनमै थाङ्काको ठूलो बजार छ,’ उनले भने, ‘सिर्जनशीलता ल्याउन सकियो भने थाङ्काको आयाम झन् फराकिलो हुनेछ ।’ अर्का थाङ्का कलाकार एवं प्राज्ञ मानबहादुर दोङले पनि थाङ्का कला तामाङ समुदायको सांस्कृतिक चिनारी भएकाले यसको परम्परागत शैली नबिगारीकन आधुनिकतामा जान सकिने बताए ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग र परम्परागत शिल्पकला विभागसँगको सहकार्यमा सेलो फाउन्डेसनले गरेको प्रदर्शनीमा तामाङ समुदायमा प्रचलित परम्परागत मूर्तिकला पनि राखिएको थियो । लामो समयदेखि काष्ठकलामा काम गर्दै आएका सिन्धुपाल्चोक लिसंखुका पासाङ दोण्डुप लामा गाउँमै निर्मित मुकुन्डोकला लिएर आइपुगेका थिए । उनका अनुसार ‘पहिले पहिले गाउँमा गुम्बा सजाउन, लामा नृत्य गर्न र जात्रा निकाल्न मात्रै मुकुन्डो प्रयोग हुन्थ्यो ।’

अहिले यो बजारमा राम्रो पैसामा बिक्री हुन्छ । विशेष गरी बौद्ध, स्वयम्भू, पाटन दरबार स्क्वायर, भक्तपुर र ठमेलमा यसको ठूलो बजार छ । ‘मनग्गे आम्दानी भए पनि नयाँ पुस्ता यतातिर तानिन सकेको छैन,’ उनले भने, ‘सरकारी क्षेत्रबाट पनि यतातिर ध्यान पुर्‍याउनुपर्छ ।’ तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको समेत सन्दर्भ बनाइएको प्रदर्शनीमा पेमा ग्याम्जो लामा, अजय लामा, वाङ दोर्जे मिप्चन, कुन्छाङ लामा, मुन्ना लामा र प्रदीप पाख्रिनले ढलौट, माटो र काठ माध्यमका मूर्तिकला राखेका थिए भने टुल्कु मोक्तान, कर्म लामा, कान्छामान लामा, ज्ञानबहादुर तामाङ, रमिता तामाङ, दीपक योञ्जन, कुमार घिसिङ, पदम लामा, राजेन्द्र लामा र राजु लामाले थाङ्का चित्र राखेका थिए।

प्रकाशित : असार २, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्

चन्द्रागिरि हिल्सको स्पष्टीकरण : वन जोगाउन ठूलो संरचना

पूरक ईआईए नगरी कानुन उल्लंघन गरेर संरचना बनाएकाले कारबाही प्रक्रियामा जान्छौं : मन्त्रालय
अब्दुल्लाह मियाँ

काठमाडौँ — चन्द्रागिरि हिल्स लिमिटेडले वन धेरै विनाश नहोस् भनेर चन्द्रागिरिमा कटेजको सट्टा स्थायी प्रकृतिका भौतिक संरचना बनाएको जवाफ वन तथा वातावरण मन्त्रालयलाई दिएको छ । हिल्सले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेपछि वातावरण विभागको सिफारिसमा मन्त्रालयले गत महिना लिखित स्पष्टीकरण सोधेको थियो । 

काठमाडौंको चन्द्रागिरिमा रिसोर्टका लागि बनाइएका कंक्रिट भवनहरू । तस्बिर : किरण पाण्डे/कान्तिपुर

कम्पनीका तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाहले मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखालाई जवाफ लेख्दै ‘८/८ कोठासहितका ४० वटा कटेज बनाउँदा अहिलेभन्दा बढी क्षेत्र ओगट्ने र त्यसका लागि वन क्षेत्र धेरै विनाश हुने भएकाले थोरै क्षेत्रमा स्थायी संरचना बनाइएको’ उल्लेख गरेका छन् । ‘धेरै संरचना बनाउँदा वन क्षेत्र धेरै विनाश हुन्थ्यो, त्यसैले कम जमिनमा ठूलो संरचना खडा गरेका हौं भन्ने जवाफ आएको छ,’ मन्त्रालय स्रोतले कान्तिपुरसँग भन्यो, ‘त्यसो भनेर उहाँहरू पन्छिन पाउने अवस्था छैन । निर्माणक्रममा ईआईए उल्लंघन भएकै देखिन्छ, खडा भएका संरचना अवैध छन् ।’

चन्द्रागिरिले बुझाएको जवाफ जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख यज्ञनाथ दाहालले सचिव विश्वनाथ ओलीसमक्ष पेस गरेको जानकारी मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले दिए । ‘सचिवज्यू विदेश (कोरिया) मा भएकाले अघि बढेको छैन,’ ढुंगानाले भने, ‘उहाँ आएपछि प्रक्रियामा जाला ।’ सचिव ओली एसिया प्यासिफिक फरेस्ट्री विक २०१९ मा भाग लिन शनिबार कोरिया गएका छन् ।

वातावरण नियमावली २०५४ को ११ (ख) मा संरचना फेरबदल गर्न पूरक ईआईए प्रतिवेदनका लागि निवेदन दिन सक्ने व्यवस्था भए पनि चन्द्रागिरिले त्यतातिर ध्यान नदिई आफूखुसी संरचना बदलेर कंक्रिट टावर खडा गरेको हो । त्यसको कुनै जानकारी सम्बन्धित निकायलाई दिइएको थिएन भने मन्त्रालयले समेत अनुगमन गरेको थिएन ।

चन्द्रागिरिले ईआईए उल्लंघन गरेको देखिएकाले कारबाही प्रक्रियामा जाने ढुंगानाले बताए । गत भदौमा संशोधन भएको वातावरण ऐनमा ईआईए उल्लंघन गर्नेलाई २५ लाख रुपैयाँसम्म जरिवाना वा तुरुन्त बन्द गर्न सक्ने वा दुवै व्यवस्था छ । तत्कालीन वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवबाट २०६९ भदौ १९ मा स्वीकृत चन्द्रागिरिको ईआईए प्रतिवेदनमा वातावरणमैत्री ४० कटेज (४ देखि ८ कोठासम्मको) र वातावरणमैत्री पाँचतारे रिसोर्ट बनाउने उल्लेख छ ।

चन्द्रागिरिले त्यसविपरीत भालेश्वर डाँडामा अत्याधुनिक ५ वटा कंक्रिट संरचना खडा गरी रिसोर्टको सफट लन्च गरिसकेको छ । १ सय कोठा क्षमताको रिसोर्टमा अहिले ४८ कोठा सञ्चालनमा छन् ।

स्पष्टीकरणको जवाफमा चन्द्रागिरिले कम क्षति गरेर मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको जिकिर गरेको छ । ‘भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो परियोजनाले समेत ठूलो योगदान पुर्‍याउने हाम्रो अपेक्षा छ,’ उसले भनेको छ, ‘पर्यटन प्रवर्द्धन गरी मुलुकलाई थप योगदान दिने लक्ष्य छ ।’

चन्द्रागिरिले स्थानीयलाई रोजगारी दिएको, डिभिजन वन कार्यालय काठमाडौंलाई नियमित रूपमा प्रतिवेदन बुझाएको, सरकारले तोकेअनुसार राजस्व तिरेको, बेलाबखतमा सरकारबाट प्राप्त सुझावलाई समेत ध्यान दिएकोलगायत विषय जवाफमा उल्लेख गरेको छ ।

वातावरण विभागको अध्ययन प्रतिवेदनमा भने चन्द्रागिरिले होटल/रिसोर्टको संरचना निर्माण गर्दा ईआईए प्रतिवेदनलाई ख्याल नगरेको र प्रतिवेदनमा उल्लेख भएभन्दा फरक संरचना खडा गरेको उल्लेख छ ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : असार २, २०७६ २१:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्