१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रञ्जना लिपि सिक्दै युवा

ललितपुर — झम्सिखेलको दिफोएर रेस्टुरेन्टमा ३० वर्ष मुनिका ६० भन्दा बढी युवायुवतीहरू गफ गर्दै थिए । गफको विषय थियो, रञ्जना लिपि । नामै ‘लिपि गफ’ राखिएको थियो ।

रञ्जना लिपि सिक्दै युवा

युवामाझ एक जना परिपक्व व्यक्ति गफिदै थिए । उनी अर्थात् प्रदेश नं ३ का सांसद राजेश शाक्य । लिपि गफ गर्ने क्रममा सांसद शाक्यले रञ्जना लिपिको महिमा र गुणगानको गाँठो फुकाउँदै थिए । संयुक्त राष्ट्र सङ्घमा नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा प्रस्तुत गर्ने काम रञ्जना लिपिको अहम भूमिका रहेको बताए । राष्ट्रको पहिचान गराउने रञ्जना लिपि हो । यसलाई सबै नेपाली माझ पुर्‍याउन आफ्नो सांसद कोषको पचास लाख रुपैयाँ रञ्जनालिपिको प्रचारप्रसार अभियानमा छुटाएको जानकारी गराए ।


त्यतिखेर ‘लिपि गफ’ उपस्थित युवा युवतीहरू निक्कै उत्साहित देखिन्थे । किनभने गफभन्दा व्यवहार धेरै निन्दनीय हो । रञ्जना लिपि नेवारको मात्र होइन रहेछ । एक जनप्रतिनिधिले नयाँ पुस्तामाझ खुसी बाँडिरहेको क्षण साँच्चै अविस्मरणीय हो ।


नेपाल लिपि गुथिले ‘लिपि गफ’ को आयोजना गरेको हो । गुथिका अध्यक्ष इन्जिनियर निरञ्जन ताम्राकार उत्तिकै उत्साहित छन् । उनको ठम्याइ छ, युवा पुस्तालाई नेपालको मौलिक लिपिहरू सिकाए भने कमसेकम पचास वर्षसम्म उनीहरूले अरूलाई सिकाउन सक्छन् । गुथिका उपाध्यक्ष अनिल स्थापितले रञ्जना लिपिको ऐतिहासिक पक्ष सुनाइ दिए ।


सहभागीले लिपिबारे गफिदै समूहमा बाँडिएर लेखेरै छलफल गरे । र, निष्कर्षमा आफूकहाँ ग्राफिक्स र एनिमेसन सिक्न आउनेहरूलाई एनिमेसनमा रञ्जना लिपि पनि सिकाउने एउटा समूहले जुक्ति निकाले । अर्को समूहले वेविनार गरेर विदेशमा रहेका आफ्ना साथीहरूलाई रञ्जना लिपि सिकाउन सकिने उल्लेख गरे । स्टार बक्समा जस्तै कफी, चिया पिउन आउनेहरूको नाम कपैमा रञ्जना लिपिले लेखेर दिँदा ग्राहक उत्साहित र दङ्ग हुने सुनाए ।


अर्को समूहले रञ्जना लिपिलाई ‘बर्थडे केक’ र ‘कार्ड’मा पनि प्रयोग गर्न सकिन्छ भन्न नपाउँदै उताबाट ‘भालेन्टाइन्स डे’ र ‘टोकन अफ लभ’ मा पनि रञ्जना र नेपाल लिपि प्रयोग गर्न सकिन्छ भने । मोबाइलको ‘जीआईएफ’ र ‘स्टिकर’मा रञ्जना कुँदेमा शोभायमान बन्छ । लिपिमै अनेक सन्देश लेख्न सकिन्छ । प्रविधिसित लिपि गाासिदै जाँदा युट्युबबाट लिपि सिकाउन सक्ने उत्तम उपाय निकाले ।


फेसबुकको वालैभरि अनेकन फोटो राखेजस्तै रञ्जना र नेपाल लिपिबाट लेखेको शिलालेख र यसको लिपि अनुवाद राख्दा इतिहास कुँदेजस्तै हुने भन्न भ्याए । ऐतिहासिक तथ्य पनि थाहा पाउन सक्ने कुरा अघि सारे । ‘र, जान्नै पर्ने पुस्ता मचा, मस्त (बालबच्चाहरू) हुन्, त्यसैले उनीहरूका स्कुल ब्यागमा स्कुलको नाम छापेर दिँदा रञ्जना र नेपाल लिपि घरदेखि स्कुल अनि बाटोघाटामा अरूले पनि देख्छन्,’ गुथिका प्राज्ञ निर्मलमान तुलाधर भन्छन्, ‘यसरी लिपिगफले नयाँ बाटो पहिल्याएको छ ।’

प्रकाशित : असार ८, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?