१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आठपहरिया बस्तीमा कुची र कलम

धनकुटा — आठपहरिया किराँत समुदायको मुन्धुम मन्दिर, पुर्खाहरूको मूर्ति र भ्युटावरसहितको चुलिवनमा चराहरूको चिरबिर लोभलाग्दो हुन्छ । यही चिरबिर पछ्याउँदै रंगकर्मीहरूले बाँसुरी बजाइरहँदा यत्रतत्र छरिएका स्रष्टामध्ये कोही आसपासका बस्ती, डाँडाकाँडा र तमोर नदी पृष्ठभूमि पारेर क्यानभासमा रंग पोतिरहेका थिए भने कोही चाहिँ घोत्लिएर कविता कोरिरहेका थिए ।

आठपहरिया बस्तीमा कुची र कलम

स्थानिय संस्कृति र सम्पदाको खोजी गर्दै काठमाडौं, धरान, इटहरीदेखि शनिबार धनकुटा आइपुगेका चित्रकार र कविहरूले यसपटक सदरमुकाम बजार र आठपहरिया बस्तीलाई आफ्नो सिर्जनाको केन्द्रमा राखे ।


जिल्लाको मौलिक संस्कृति र जनजीवन खोज्दै आठपहरिया बस्तीमा पहिलोपटक चित्रकार र कविहरू आइपुगेका थिए । उनीहरूको रहनसहन, इतिहास, राणाशासनको पालामा आठपहरिया समुदायमाथि भएको दमनजस्ता तथ्य खोतल्दै कविहरूले अक्षर र चित्रकारहरूले रंगको माध्यममार्फत आठपहरिया समाजको चित्र उतारे । स्थानीय र आगन्तुक गरेर तीन दर्जन स्रष्टालाई शनिबार बिहान झमककुमारी साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाइँ र वडा अध्यक्ष जंगबहादुर आठपहरियाले रातो टीका लाएर धनकुटा बजारमा स्वागत गरेका थिए । यसपछि चुली वनतिरको हाइकिङ थालेका कवि र चित्रकारहरूले वनको बीचमा रहेको आठपहरिया पुर्खा राम्ली र रिदिमा हाङसँगै मौलिक पोसाकसहितको आठपहरिया युवतीको मूर्ति, धार्मिक मन्दिर र भ्यु टावर अवलोकन गरेका थिए ।


संस्कृतिकर्मी सूर्य आठपहरियाले नेतृत्व गरेको टोलीमध्ये चित्रकारहरू एकातिर तमोर नदी र अर्कोतिर आठपहरिया बस्ती देखिने वनको मध्यतिरै जक्सन जमाएर क्यानभास कोर्न थाले । कवि अनीता लामा र सगरमाथा आरोही देउराली चाम्लिङको टोलीले भने आठपहरिया बस्तीमै झरेर मौलिक घर, खानपान र वेशभूषा अवलोकन गरे । सेलो थिएटरका रंगकर्मी शान्ति वाइबा, सोनाम लामा र सन्तोष तामाङले बाँसुरीको धुनले चित्रकार र कविलाई पार्श्वसंगीतको अनुभूति दिलाए ।


चित्रकार एनबी गुरुङ, उमेशचन्द्र अधिकारी, डिराम पाल्पाली, नरबहादुर बिके, विनोदकुमार गुप्ता, सुरेम देसार, आरपी याकामी, पुण्य तामाङ, डिल्लीकृष्ण आले, श्रीकृष्ण जोशी, धीरेन्द्र श्रेष्ठ, सुशील शाक्यलगायतको क्यानभासमा धनकुटा बजार र आठपहरिया बस्ती देखिए । यही बेला आठपहरिया समुदायको मौलिक परिधान प्रस्तुत गरेकी थिइन् स्थानीय सरकुमारी र जानुकाले । चित्रकलालाई प्रत्यक्ष प्रस्तुतिसँग जोड्दै थिए नरबहादुर बिके । उनले आठपहरिया बस्तीको चित्रलाई जम्माजम्मी १२ मिनेटमा उतारेर युट्युब भिडियोसमेत बनाउन भ्याए ।


‘युट्युबबाट आर्ट गर्ने तरिका र रंगबारे सिकुन भन्ने उद्देश्यले पछिल्लो समय कलाकर्मको प्रत्यक्ष भिडियो पनि बनाउँदै आएको छु,’ उनले भने । कला, साहित्य र रंगमञ्चमार्फत स्थानिय कला र मौलिकता प्रर्वद्धन गर्ने ध्येयसहित सुरु ‘जेसुम यात्रा’को आठौं शृंखलाअन्तर्गत आइपुगेका स्रष्टा दिउँसो स्थानीय निजामती स्कुलको परिसरमा भेला भएका थिए ।


उनीहरूलाई साथ दिन साहित्यकार झमक घिमिरे उपस्थित थिइन् । कवि स्नेह सायमी, अनीता लामा, विनाथिङ तामाङ, रमेश कँडेल, हेमन यात्री, सुदीप पाख्रिन, शीतल गिरी, केजी सुब्बा, मुकुन्द प्रयासलगायतले सिर्जना सुनाए । चित्रकारले आफ्नो कलाको प्रदर्शनी गरे । चित्र र कवितालाई छिट्टै प्रदर्शनी र पुस्तकमा समेटिने जेसुम संयोजक अनीताले बताइन् ।


झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंले एकै स्थानमा चित्र हेर्न र कविता सुन्न पाउँदा आफूलाई नौलो अनुभूति भएको भन्दै प्रशंसा गरे । प्रतिष्ठान सचिव जनार्दन घिमिरेले कवि र चित्रकारहरूको स्थलगत सिर्जनामा संयोजन गरेका थिए । त्यस्तै प्रतिष्ठानले ३८ औं वर्षमा टेकेकी झमकको जन्मदिनको अवसरमा शनिबार धनकुटास्थित घरमै विशेष कार्यक्रम गर्‍यो ।

‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्त कृतिका लागि मदन पुरस्कार पाएकी घिमिरेलाई शुभकामना दिन कवि, चित्रकारसँगै धनकुटा नगरपालिकाकी उपमेयर शकुन्तला बस्नेत, वाटर कलर सोसाइटी अध्यक्ष एनबी गुरुङलगायत पुगेका थिए ।

प्रकाशित : असार २३, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?