पुस्तकमा मेचे

कान्तिपुर संवाददाता

काठमाडौँ — अनुसन्धाता सन्तलाल मेचेले ‘तराईका आदिवासी मेचेको परिचय (द मेचे ः अ तराई इथ्नोग्राफी)’ पुस्तक प्रकाशनमा ल्याएका छन् । मेचे भाषा तथा साहित्य परिषद्द्वारा प्रकाशित पुस्तक अंग्रेजी भाषामा रहेको छ । यसलाई नेपालीमा समेत प्रकाशन तयारी गरिएको जनाइएको छ । लेखकको मेचे समुदायसम्बन्धी यो चौथो पुस्तक हो ।

पुस्तकमा मेचे समुदायबारे स्थलगत अध्ययनका आधारमा अनुसन्धान तथा मानवशास्त्रीय सिद्धान्तमा विश्लेषण गरिएको छ । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागअन्तर्गत विद्यावारिधि शोधार्थीसमेत रहेका लेखक मेचेले नेपाल र भारतमा रहेका मेचे जातिको तुलनात्मक अध्ययन गरेका हुन् ।

लेखकका यसअघि ‘मेचे इतिहास र संस्कृति’, ‘मेचे–नेपाली–अंग्रेजी शब्दकोश’ पुस्तक प्रकाशित छन् । त्यस्तै, उनैको लेखन तथा सम्पादन रहेको मेचे भाषाको कक्षा–१ कोपाठ्यपुस्तक ‘जङ्नि राउ’ (हाम्रो भाषा) प्रकाशित छ ।

सरकारको तथ्यांकअनुसार १० लोपोन्मुख आदिवासी जनजातिमध्ये मेचे एक हो । पछिल्लो राष्ट्रिय जनगणना अनुसार देशमा ४ हजार ८ सय ६७ मेचे रहेका छन् । नेपालमा मेचे जातिको मुख्य बसोबास स्थल झापा जिल्ला हो । भारतको पश्चिमबंगाल तथा असममा धेरै ठूलो जनसंख्या मेचेहरू रहेको पाइन्छ । उनीहरूलाई मेच, बोदो र कछारी भनेर पनि चिनिन्छ ।

प्रकाशित : असार २३, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

चखौरामा थारु संग्रहालय

दुर्गालाल केसी

चखौरा, दाङ — दाङमा थारू राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा यस क्षेत्रको गाउँपालिकालाई दंगीशरण नामकरण गरिएको छ । दंगीशरण–३, चखौरामै थारू जातिको इतिहास र संस्कृति बचाउन संग्रहालय निर्माण भइरहेको छ । यसमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोसाक, गहना र परम्परागत सामग्रीमा देख्न सकिनेछ ।

थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ पनि तयार गरिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी संग्रहालय बनाउन थालेको निर्माण संयोजक प्रदेश सांसद डिल्लीबहादुर चौधरीले बताए । ‘राना, डंगौरा, देउखुरी, चितवन, मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ,’ उनले भने, ‘यो देशकै ठूलो थारू संग्रहालय हुनेछ । यो थारू जातिको अध्ययन र अनुसन्धानको केन्द्र बन्दै छ ।’

संग्रहालय सबलीकरणका लागि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले ६५ लाख रुपैयाँ प्रदान गरेको थियो । थारू समुदायका पुराना सामान, गहना र पोसाक भेटाउन साह्रै कठिन भएको प्रदेश सांसद चौधरीले बताए । ‘थारू जातिमा मान्छे मरेपछि घरका सबै सामान फाल्ने चलन छ । यसले गर्दा पुराना सामान भेट्टाउन कठिन भएको छ,’ उनले भने, ‘कैलाली, कञ्चनपुरका गाउँ–गाउँमा पुगेर सामान संकलन गरिरहेका छौं । विभिन्नखाले थारू नाचका पोसाक जुटाइसकेका छौं ।’

५ बिघा क्षेत्रफलमा संग्रहालय बन्दै छ । यसमा अहिले जग्गा र अन्य संरचनासहित ५० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जोडिसकेको उनले बताए, जसमा थारू फुडल्यान्डसमेत बन्नेछ । यसमा थारू जातिका खानाका परिकार पाइनेछन् । यहाँ पुग्ने पाहुनाले रोजेर थारू परिकार खान पाउने चौधरीले बताए । संग्रहालयको अगाडि थारू राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्सा तयार हुँदै छ । यसले थारू राज्यको इतिहास थाहा हुन्छ । अहिले हरेक शनिबार संग्रहालयमा थारू जातिका फिल्म र गीतहरू देखाइन्छ । गाउँका बासिन्दा जम्मा भएर आफ्नो कला र संस्कृतिबारे बहस गर्छन् । अब हरेक माघी पर्वमा पश्चिम तराईका सबै थारू जाति चखौरामै जुट्ने र पर्व मनाउने योजना बनाइरहेको चौधरीले बताए ।

पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण हुन नसकेको थारू संस्कृतिका ज्ञाता अशोक थारूले बताए । उनले नै संग्रहालयमा आवश्यक सबै चित्र, मूर्ति र सामग्रीको खाका तयार पारिरहेका छन् । ‘संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएको छ । अब यसलाई बचाउन संग्रहालय जरुरी भएको छ,’ उनले भने, ‘अब यो थारू जातिको कला, संस्कृति, मनोविज्ञान र इतिहास अध्ययन गर्ने केन्द्र बन्छ । नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ संकलन गरिएका छन् ।’

थारू जातिका संस्कृति झल्किने चित्र र मूर्तिलाई ललितकलाका विद्यार्थी मिठ्ठु थारूले बनाइरहेका छन् । कैलालीका थारू आफ्नै पूर्खाको मूर्ति बनाउँदा निकै नौलो अनुभव गरिरहेका छन् । ‘पहिलोपटक आफ्नै पूर्खाको मूर्ति बनाउन पाएँ । यसले मलाई धेरै सिकाइ भएको छ । आफ्नो कला, संस्कृति र इतिहास थाहा भएको छ,’ उनले भने, ‘मैले बनाएका चित्र र मूर्तिले धेरैलाई हाम्रो इतिहास सिकाउनेछ । हाम्रो पहिचान सुरक्षित हुनेछ ।’

दाङ थारू जातिको आधारभूमि मानिन्छ । बाँके, बर्दिया, कैलाली र कन्चनपुर पनि दाङबाटै थारू बसाइँसराइ गरेर गएको विश्वास गरिन्छ । अहिले पनि दाङमा थारू जातिकै बाहुल्य छ । ०६८ सालको जनगणना अनुसार जिल्लामा १ लाख ६३ हजार १ सय १६ अर्थात् कुल जनसंख्याको २९.५२ प्रतिशत थारू जातिको छ । त्यसमध्ये १ लाख ५५ हजार ४ सय १३ अर्थात् २८.१२ प्रतिशतको मातृभाषा थारू छ ।

प्रकाशित : असार २३, २०७६ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्