१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दार्जिलिङ भानुमय

मनोज बोगटी

दार्जिलिङ — पश्चिम बंगाल सरकराले यसवर्ष सानोतिनो कार्यक्रममै भानुजयन्ती टार्ने भएको छ । तर गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) ले भने धुमधामले भानुजयन्ती मनाउने तयारी गरेको छ ।

जीटीएले यसवर्ष प्रदान गरिने पुरस्कारहरू घोषणा गरिसकेको छ । नेपाली साहित्य सम्मेलनसित मिलेर जीटीएले भानुजयन्तीकै सन्दर्भमा नाट्य, चित्रकारिता, पत्रकारिता र लोकसंगीतको विधामा पनि छुट्टाछुट्टै पुरस्कार घोषणा गरेको छ ।


दार्जिलिङको रेलवे स्टेसनदेखि चौरस्ता परिसरसम्म भानुजयन्तीको दिन शोभायात्रा पनि निकाल्ने तयारी भइरहेको छ । यता कालिङबुङस्थित नेपाली साहित्य अध्ययन समितिले पनि भानुजयन्तीकै छेक पारेर पुरस्कृतहरूको नाम सार्वजनिक गरेको छ ।


समितिका सचिव बलभद्र शर्माका अनुसार यस वर्ष पूर्ण राई स्मृति पुरस्कार कथाकार निरज थापालाई र भाइचन्द प्रधान स्मृति पुरस्कार कवि जय ‘क्याक्टस’ लाई दिइने जनाइएको छ । सिलगढीमा पनि हरेक वर्ष भानुजयन्तीमा नेपालीभाषीले जातीय पोसाक लगाएर शोभायात्रा निकाल्ने गरेका छन् ।


भानुजयन्ती समारोहले गर्ने शोभायात्रामा अन्य भाषीको समेत सहभागिता हुनेगर्छ । सिक्किमको नेपाली साहित्य परिषद्ले पनि भानुजयन्तीलाई छेक पारेर दिइने पुरस्कार घोषणा गरिसकेको छ । परिषद्ले यस वर्षको भानु पुरस्कार नाटककार ध्रुव लोहागुणलाई प्रदान गर्ने छ ।


भानुभक्त आचार्यबारे विद्यावारिधि गरेका कविता लामाका अनुसार दार्जिलिङले नै सबैभन्दा पहिले भानुजयन्ती मनाउने परम्परा बसालेको हो । ‘सन् १९२४ मा दार्जिलिङमा नेपाली साहित्य सम्मेलन खोलियो,’ उनले भनिन् ।


सन् १९४९ मा नेपाली साहित्य सम्मेलनले नै दार्जिलिङमा सबैभन्दा पहिले भानुभक्तको अर्धकदको सालिक स्थापना गरेको थियो । त्यसपछि समितिले बनाएको पूर्णकदको सालिक अहिले दार्जिलिङको चौरास्तामै छ ।

प्रकाशित : असार २७, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?