२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘परराष्ट्रका पात्र’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वपरराष्ट्र सचिव तथा राजदूत मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र’ शनिबार लोकार्पण भएको छ । भट्टराईका सहपाठी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुस्तकले ‘नेपालको कूटनीतिक इतिहासको एउटा ऐतिहासिक तस्बिर उतारेको’ टिप्पणी गरे । 

‘परराष्ट्रका पात्र’ सार्वजनिक

‘हाम्रो परराष्ट्र मामिला कहाँबाट आजको अवस्थामा आइपुग्यो भन्ने जनाउ दिने गतिलो दस्तावेजका रूपमा आएको पुस्तक हो यो,’ श्रेष्ठले भने, ‘यति महत्त्वपूर्ण विषयमाथि कलम चलाएर लेखकले नेपालको इतिहासको पाटोलाई जोगाउने काम गर्नुभएको छ ।’


पूर्वराजदूत तथा अर्थशास्त्री शंकरप्रसाद शर्माले पुस्तकले प्रकाशमा ल्याएका पुराना तथ्यहरूको प्रशंसा गरे । ‘नेपालको परराष्ट्र नीतिलाई एउटै पुस्तक पढेर बुझ्न परे कुन पढ्ने होला भन्ने खुलदुली यो कृतिले मेटिदिएको छ,’ उनले भने, ‘पृथ्वीनारायण शाहका पालादेखि हाजसम्मको नेपालको परराष्ट्र्र नीतिलाई सजिलो भाषामा प्रस्तुत गर्न सक्नु लेखकको खुबी हो ।’


विश्व स्वास्थ्य संगठनको पहिलो महिला क्षेत्रीय निर्देशकसमेत रहेकी डा. रिता थापाले पुस्तकको लैंगिक पक्षमाथि टिप्पणी गरेकी थिइन् । उनी पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाकी पत्नी हुन् । डा. थापाले कूटनीतिज्ञहरूका पत्नीको नाम सोधखोज गरेर पुस्तकमा उल्लेख भएकामा आफूलाई खुसी लागेको बताइन् ।


‘झट्ट सुन्दा महिलाको नाम उल्लेख गर्नुको खास अर्थ छैन भनेजस्तो लाग्न पनि सक्छ,’ उनले भनिन्, ‘तर, त्यो समयमा स्वास्नी मानिसहरू कसैको पत्नी वा आमा वा छोरी भनेर चिनिने गर्थे, यसरी गुमनाम भएकाहरूको नाम पुस्तकमा खोजीखोजी उल्लेख गर्नु भनेको लैगिंक समानताप्रति लेखकको प्रस्ट झुकाव हुनु हो ।’


हालसम्म दुईजना मात्रै महिला परराष्ट्र मन्त्री भएको र आक्कलझुक्कल महिला राजदूत नियुक्त गरिएको तथ्यलाई पनि पुस्तकमा राखेकामा पनि थापाले खुसी व्यक्त गरिन् ।


किताब पब्लिसर्सले बजारमा ल्याएको पुस्तकका लेखक भट्टराईले पाठकबाट मिश्रित प्रतिक्रिया पाएको बताए । ‘केहीले पुराना कुरा लेखेर समय बर्बाद गरेको भन्ने प्रतिक्रिया दिए भने केहीले चाहिँ इतिहासलाई मर्न नदिएर गजब गरिस् पनि भने,’ उनले भने, ‘दुवै प्रतिक्रियाको म सम्मान गर्छु र हौसलाका रूपमा यसलाई ग्रहण गर्छु ।’

प्रकाशित : श्रावण १२, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?