साहित्यकार लीलबहादुरलाई २ लाख राशिको पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) नेपाली भाषा–साहित्यका क्षेत्रमा आधा शताब्दी लामो अनवरत योगदान गर्ने भारतको आसामबासी साहित्यकार लीलबहादुर क्षेत्रीलाई अनेसास वासुदेव–मालती साहित्य पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको राशि २ हजार १ सय ११ डलर रहेको छ ।

साहित्यकार लीलबहादुरलाई २ लाख राशिको पुरस्कार

क्षेत्रीका ‘बसाई’, ‘ब्रम्हपुत्रको छेउ छाउ’ लगायतका उपन्यास प्रकाशित छन् । क्षेत्रीका कथा, निबन्ध, समालोचना, कवितासहित एक दर्जन कृति प्रकाशित छन् । ८६ वर्षीय लेखक क्षेत्रीको ‘बसाई’ उपन्यासलाई पहिलो पटक मदन पुरस्कार पुस्तकालयले २०१४ सालमा प्रकाशित गरेको थियो ।


नेपाली पहाडी समाजको चित्र र बसाइ सराइको कथामा बुनिएको ‘बसाई’ नेपाली साहित्यमा सबैभन्दा बढी बिक्री हुनेमध्ये एक लोकप्रिय सामाजिक यथार्थको उपन्यासका रूपमा चिनिन्छ । भाषा–साहित्यको प्रवर्द्धनमा जगदम्बाश्री, भानु पुरस्कार, अगम स्मृति अवार्डलगायतका सम्मान पाइसकेका स्रष्टा क्षेत्रीको योगदानको कदर गर्न अमेरिकाबासी दुर्गा दाहालले प्रायोजन गरेको विशेष नगद पुरस्कार सहितको सम्मान प्रदान गर्न लागिएको हो ।


अनेसासका महासचिव गणेश घिमिरेले जारी गरेका विज्ञप्तिअनुसार, आगामी अगस्ट पहिलो साता लन्डनमा आयोजना हुने छैटौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा यो पुरस्कार प्रदान गरिने भएको छ । ‘मैले गरेको नेपाली भाषा–साहित्यको कर्मलाई योगदान सम्झेर पुरस्कृत गरिएकोमा आनन्द लागेको छ,’ क्षेत्रीले कान्तिपुरसँग फोनमा भने,‘यस्तो खबरले यो उमेरमा पनि सृजनशील बनिरहन प्रेरणा दिएको छ ।’

प्रकाशित : श्रावण १२, २०७६ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?