कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कवितामा फर्के मुकारुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — कविता हुँदै आख्यानमा स्थापित भएका राजन मुकारुङ पुन : कवितासहित आएका छन् । ‘दमिनी भीर’ उपन्यासका लागि मदन पुरस्कार विजेता यिनको ‘हाटा जाने अघिल्लो रात’ को शुक्रबार राजधानीमा सार्वजनिक गरियो । कवि मुकारुङ, पत्रकार तथा लेखक यज्ञश, अभिनेता दयाहाङ राई र अधिकारकर्मी कैलाश राईले कृतिको लोकार्पण गरे ।

कवितामा फर्के मुकारुङ

‘सिर्जनशील अराजकता’ समूहका अभियन्ताका रूपमा रहेका मुकारुङले साहित्यकै माध्यमबाट सत्तापक्षबाट दबिएर रहेका आदिवासी जनजातिको पहिचान र विस्थापित बन्दै गएको उनीहरूको मुद्दालाई सशक्त बनाएर उठाउँदै आएका छन् । लोकार्पणकै क्रममा उनले आफ्नो पछिल्लो संग्रहमार्फत परिवर्तन गर्छु भनेर लागेका सत्तापक्षलाई नै प्रश्न गरेको उल्लेख गरे ।


आदिवासी जनजाति महिलाका विषय अध्ययन अनुसन्धान गरिरहेकी राईले संग्रहमाथि समीक्षा गर्दै कवितामा जातीय पहिचान र लैंगिक चेत रहेको बताइन् । किराती महिलाको मनोवैज्ञानिक पक्षलाई समेटेर संग्रह तयार भए पनि महिलाको यौवन, शरीर र यौनिकताभन्दा माथि उठेर उनीहरू पछि पर्नुको कारणसहित अलिकति फराकिलो हुँदै लेखन अगाडि बढ्नुपर्ने उनले सुझाइन् । लेखक यज्ञशले कविता संग्रहमा समय, राजनीतिक परिवेशअनुसार वर्ग, पहिचान र विद्रोहको भाव रहेको उल्लेख गरे । यसअघि मुकारुङको ‘सेतो आरोहण’, ‘प्रारम्भ प्रक्षेपण’, ‘मिथक माया’ लगायतका कविता संग्रह प्रकाशित छन् ।


प्रकाशित : श्रावण १९, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?