पुस्तकमा बुद्ध जीवनी

कान्तिपुर संवाददाता

लुम्बिनी — राजकुमार सिद्धार्थ सेतो हात्तीका रूपमा कसरी गर्भ प्रवेश गरे ? गृहत्याग गर्नुअघि छोरा र पत्नी सुतेको कसरी हेर्न पुगे ? अनोमा नदीपारि पुगेर केश काटेर कसरी भिक्षु भेष धारण गरे ? यी र यस्तै कतिपय प्रश्नको उत्तर अब सचित्र पुस्तकबाट मिल्ने भएको छ ।

यहाँ आउने श्रद्धालुलाई बुद्धका बारे बुझाउन उनको जीवनी सचित्र पुस्तकमा उतारिएको हो । त्यसको नाम ‘भगवान् बुद्धको जीवनी र उपदेश’ राखिएको छ ।

भगवान् गौतम बुद्धलाई नजिकबाट जानेर शान्ति, सद्भाव, करुणा र मैत्रीभाव जगाई जीवन र जगत्लाई सार्थक बनाउन पुस्तक बाहिर ल्याइएको हो । पढ्न लेख्न नसक्नेले पनि चित्रावली हेरेर बुझ्न सकून् भनेर पुस्तकमा चित्र बढी छन् । महाराष्ट्र भारतका एक कुशल चित्रकारले बनाएका चित्र समावेश गरिएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनीको पवित्रता र आध्यात्मिकता फैलाएर शान्तिको क्षेत्रमा काम गर्ने इच्छा थियो’, पुस्तकका परिकल्पनाकार भन्ते सुमंगलोले भने, ‘जुन पूरा गर्न पाउँदा बुद्धको सेवा गरेको महसुस भयो ।’

पुस्तकमा साना–ठूला ११७ रंगीन चित्र छन् । ७० पृष्ठको पुस्तकमा राजकुमार सिद्धार्थको गर्भ प्रवेश, जन्म, बाल्यकाल र विवाहका चित्रावली छन् । गृहत्याग, ज्ञानको खोजी र बुद्धत्व प्राप्तिका चित्र पनि छन् । त्यस्तै बुद्धको प्रथम धर्मदेशना, कपिलवस्तु आगमन र महापरिनिर्वाणका घटना पुस्तकमा सचित्र देख्न पाइन्छ । पुस्तकमा मगध सम्राट अशोक बुद्धप्रति किन आकर्षित भए, उनको परिवार धर्म प्रचार गर्न कहाँ कहाँ पुगे भन्ने कुरा चित्रित गरिएको छ । चित्रका अतिरिक्त बुद्ध कथा र बुद्ध देशित ३८ मंगल र ४ भावना उल्लेख छ ।

पुस्तक लुम्बिनी आउने पर्यटकलाई निःशुल्क वितरण गरिनेछ । मायादेवी मन्दिरको प्रमुख प्रवेशद्वार शान्ति द्वीपमा स्टल राखेर दैनिक बिहानदेखि साँझसम्म पुस्तक वितरण गरिनेछ । पुस्तक नेपाली भाषामा छ । सारिपुत्त फाउन्डेसन, लुम्बिनीद्वारा प्रकाशित पुस्तकमा ८० प्रतिशतभन्दा बढी चित्र छन् । चित्र बुझाउन क्याप्सन उल्लेख छ । सुरुमा २० हजार प्रति छापिएको छ ।

६ महिनापछि एक लाख प्रति छापिने बताइएको छ । लगत्तै चिनियाँ र अंग्रेजी भाषामा प्रकाशन गरिनेछ । भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले तीन दशकयता लुम्बिनीमा एउटा राम्रो कामको सुरुआत गर्न पाएकामा गौरवान्वित भएको बताए । ‘लुम्बिनीको महिमा र पवित्रता फैलाउन पुस्तक कोसेढुंगा बनेको छ,’ उनले भने ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

समकालीन कलामा युवा

सुशीला तामा‌ङ

काठमाडौँ — साधारण जीवनशैलीमा देखिने एक अधबैंसे पुरुष रिक्साभरि घरायसी सामान लिएर निकै निराश मुद्रामा गन्तव्यतिर लम्किरहेका छन् । उनको वरिपरि कुकुर छन् । छेउमै आधुनिक जीवनशैलीमा देखिएकी चिटिक्क युवती ।

युवा चित्रकार सुरेश बस्नेतले आफूवरिपरि देखेको दृश्यलाई एक्रेलिक माध्यमबाट यसरी कलामा उतारेका छन् । त्यस्तै अर्का चित्रकार दीपक थामीको कलाकृतिमा पनि अहिलेकै समसामयिक परिवेश छन् । उनको चित्रमा नेवार समुदायकी एउटी बूढीआमाको काखैमा परेवा उडिरहेको देखिन्छ भने त्यस्तै दृश्य बूढाबाको आकृति कोरिएको क्यानभासमा पनि छ । उनले वाटर कलर र मिक्स मिडिया माध्यमबाट चित्रकला तयार पारेका हुन् ।

पाटनढोकास्थित क्लासिक ग्यालरीमा शुक्रबारदेखि जारी ‘बिइङ टुगेदर २०१९’ शीर्षक प्रदर्शनीमा पाँच जना युवा चित्रकारका ३५ वटा कलाकृतिमा समकालीन समाजको चित्रण पाइन्छ । भदौ २४ गतेसम्म जारी रहने प्रदर्शनीमाचित्रकारले कसैले संस्कृति, कसैले समाज र कसैले भूगोललाई नियालिरहेका छन् ।

यतिबेला आफूले भोगेको र देखेको समाजलाई यसरी कलामा व्यक्त गर्ने यी पाँच स्रष्टा मात्र छैनन् । चित्रकलामा समकालीन समाजको अवस्थिति र समस्या अभिव्यक्त गर्ने युवाको जमात अहिले हात्तै बढेको छ । विभिन्न ठाउँमा हुने प्रदर्शनीमा पनि परम्परागत चित्रभन्दा समसामयिक नै बढी देखिन्छन् । कला र व्यापारको दृष्टिकोणबाट पनि परपम्परागतभन्दा आधुनिक शैलीका समसामयिक चित्रहरू नै फस्टाइरहेको कलाकार बताउँछन् ।

‘बिइङ टुगेदर’ प्रदर्शनीमा वनविनाशले वातावरणमा पारेको प्रभाव र आधुनिकताले संस्कृतिमा पार्न सक्ने चुनौतीका विषयमा आफ्नो विचार पोखेका युवा चित्रकार लियो झन्कार ‘कला भनेकै भावना व्यक्त गरिने माध्यम भएकाले समकालीन कलामा शब्दबिनै भावना व्यक्त गर्न सजिलो हुने’ बताउँछन् । नयाँ पुस्ताको विचार पोख्ने गतिलो माध्यम नै समकालीन कला भएको उनको दाबी छ ।

उनको कुरालाई सही थप्दै चित्रकार थामीले पनि समकालीन कलामा युवाको अनुभव र विचार प्रत्यक्ष रूपमा प्रकट हुँदै आएको तर्क गर्छन् । ‘परम्परागत शैलीका चित्रका आफ्नै नीति, नियम र मौलिकता छन्,’ उनी भन्छन्, ‘यस हिसाबले यो नियन्त्रणमुखी देखिन्छ । स्वतन्त्र रूपमा आफ्नै विचार अभिव्यक्त गर्न मुस्किल छ ।’ मिथिला, थाङका होस् या पौभा कलाकृति, यी चित्रमा परम्परागत आर्टको फर्म र स्टाइल पछ्याउनुपर्ने भएकाले पनि यो सिर्जनाभन्दा पनि बढी सांस्कारिक बन्न पुगेको हो ।

समयअनुसार नयाँनयाँ कुरा सिक्ने जोस र सिर्जना बोक्ने युवा यसरी बाँधिन चाहँदैनन् । चित्रकार सरिता डंगोलकै भनाइमा पनि ‘उनीहरूको सिर्जनशील क्षमता र भावलाई परम्परागत कलाभन्दा समकालीन कलाले नै समेट्न सक्छ ।’ त्यस्तै सांस्कृतिक सम्पदाको मिथकीय कुरालाई आधार बनाएर सम्पदाहरूकै कलालाई उतारिरहेका अमन महर्जन पनि कलामा नयाँ विचार, प्रविधि र शैलीलाई भित्र्याउन समकालीन कला नै काफी रहेको धारणा राख्छन् ।

कलामा मानिसको सम्बन्ध, देश र देशभित्र रहेका आदिवासी जनजातिको पहिचान कलामा खोज्ने अर्का कलाकार मनीषलाल श्रेष्ठको चित्र सिरिजमा पनि समकालीन समाजकै झल्को पाइन्छ । ‘समाज आधुनिकतातिर ढल्किरहेको छ,’ उनी भन्छन्, ‘कला पनि समाज र समयअनुसार निरन्तर अघि बढिरहेको हुनाले परम्पराभन्दा केही माथि उठेर नयाँ प्रयोग भइरहेको छ ।’

उनका अनुसार जति पनि सामयिक घटना क्रम छन्, ती सबै कलामा आइरहेका छन् । सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक यी सबै विषयवस्तु कलामै प्रतिबिम्बित भएर आएका छन् । पछिल्लो समय युवाको क्यानभासमा बलात्कार, हत्यालगायत महिला हिंसाका अनेक पक्ष सल्बलाउन थालेका छन् । यी सबै पक्ष समकालीन कलाका विषयवस्तु भएकाले कलामार्फत् समाज रूपान्तरणको प्रक्रिया पनि अघि बढिरहेको उनीहरूको तर्क छ ।

महिला र पुरुषको सम्बन्धलाई परिवारमा सकरात्मक रूपमा लैजान र दिगो सम्बन्ध विस्तारमा खेल्नुपर्ने भूमिकालाई कलाबाटै बुझाउन खोज्ने डंगोल पनि समकालीन कलामा जुन समयमा आफू बाँचिरहेको र जे आफूले अनुभव गरेको ठ्याक्कै व्यक्त गर्न सकिने बताउँछिन् ।

सांस्कृतिक सम्पदामाथि भइरहेको अतिक्रमणलाई अर्का कलाकार इशान परियारले पनि समकालीन चित्रमै देखाएका छन् । नेपालको अहिलेको सन्दर्भलाई परम्परागत चित्रमा देखाउन नसकिने उनको तर्क छ । निश्चित परिधिमा रहने परम्परागत चित्रमा आफ्नो धारणाभन्दा पनि पुरानो पद्धति र विचारलाई ख्याल गर्नुपर्ने उनी बताउँछन् । ‘समकालीन कलामा विचार र अभिव्यक्ति मन खोलेर राख्दै कला तयार पार्ने स्वतन्त्रता हुन्छ,’ उनी भन्छन् ।

परम्परागत कलामा शास्त्र र धर्मलाई जोड्नुपर्ने भएकाले धेरै मिहिनेत गर्नुपर्ने कलाकार तथा कला समीक्षक रमेश खनाल बताउँछन् । ‘समकालीन कलामा जस्तो यसमा विचार सम्प्रेषणको पाटो हुँदैन,’ उनी थप्छन्, ‘पुर्ख्यौली रूपमै यही कला गरिरहेको भए पनि यसमा मौलिक कलाको भित्री इच्छा र समर्पित भाव चाहिन्छ ।’ समकालीन कलामा भन्दा परम्परागत चित्रमा माध्यम पनि कठिन नै रहेको उनको भनाइ छ ।

परम्परागत कला हाम्रो पुर्खाको मौलिक कला भएको बताउँछन्, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य । ‘अहिले नयाँ विषयवस्तु, रङ, साधन र प्रविधिको अध्ययनसँगै युवा कलाकार आधुनिक समयतिर लागेका छन्,’ उनी भन्छन्, ‘पुरानो विधिका कला बनाउने मानिसको अभाव र पुरानो प्रविधिबाट बनाइने स्टोन कलर लोप हुँदै गएकाले पनि नयाँतिर युवा लागेका हुन् ।’

उनका अनुसार परम्परागत कला बनाउन सैद्धान्तिक रूपमा पनि कठिन छ । धार्मिक अभिव्यक्ति दिनेखालका कलाकृति पनि कलाभन्दा धार्मिक महत्त्वले हिसाबले बढी बिक्री हुने उनी बताउँछन् । ‘परम्परागत कलामा हाम्रो आफ्नोपन छ,’ उनी भन्छन्, ‘यसको भिन्न अस्तित्व छ ।’

प्रकाशित : श्रावण २७, २०७६ ०८:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT