कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुनावी सुरक्षामा चुनौती

महोत्तरीमा विस्फोटकसहित तीन जना पक्राउ
धादिङ र कास्कीमा सवारीसाधनमा आगजनी
चुनावमा प्रयोग गरिने गाडी राति प्रहरी चौकी वरपर राख्न निर्देशन

काठमाडौं — विस्फोटक र दस्तावेजसहित प्रहरीले आइतबार नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का ३ जना कार्यकर्ता पक्राउ गरेको छ । जनकपुर ब्युरो सदस्य मोहमद आदन राइन, कार्यालय सदस्य तिलक भनिने प्रानकुमार लामा र मिथिला चौहान पक्राउ परेका हुन् ।

चुनावी सुरक्षामा चुनौती



इलाका प्रहरीका डीएसपी शालिकराम शर्माको कमान्डमा गएको टोलीले उनीहरूलाई बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित ज्ञानप्रसाद पौडेलको घरबाट पक्राउ गरेको हो । उनको घर भाडामा लिएर केही समयदेखि पार्टी गतिविधि सञ्चालन गर्दै आएको प्रहरीले जनायो ।
‘स्थानीय निर्वाचन खारेजी गर’ लेखिएका २ सय थान पर्चा र पोस्टर बरामद भएका छन् । टाइम बम बनाउने तार र २ थान भित्ते घडी, ६ थान डिटोनेटर, टेस्टर, २ बोतल तेजाव र ३ सय ग्राम बारुद बनाउने धूलो फेला परेका छ । यस्तै सोल्डिङ तार, आइरन, कुकर बम बनाउने सामग्री, २ किलो गन्धक, आल्मुनियम फस्फेट, बम पड्काउने योजनासहितका पेन्सिलले स्केच गरिएका नक्सा पनि फेला परेको प्रहरीले जनायो ।

२ थान ल्यापटप, ६ सेट मोबाइल, कांग्रेसको रूख छाप भएका टिसर्ट, वाम साहित्य र पार्टी नवीकरणका फाइललगायत सामग्री पनि बरामद भएका छन् । ती सबै सामग्री प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले आसन्न निर्वाचनलाई बिथोल्ने नियतले गौरिवासमा सेल्टर स्थापना गरी गतिविधि सञ्चालन गर्दै आएको बुझिएको बताए । १७ वटा कार्यालयलाई लक्षित गरी विस्फोट गराउने योजनासहितका गतिविधि सञ्चालन गरिएको प्रहरीको आशंका छ । बरामद नक्साका आधारमा प्रहरीले त्यस्तो आशंका गरेको हो ।

‘रूख छापका टिसर्ट लगाएपछि कांग्रेस कार्यकर्ता भएको भान पर्ने र कार्यालय वा सार्वजनिक कार्यक्रममा सहज प्रवेश हुने भएकाले अवांक्षित गतिविधि गरेर सुरक्षित फर्कने रणनीतिअन्तर्गत त्यस्ता टीसर्ट संकलन गरिएको हुनुपर्छ,’ एसपी लम्सालले भने । अल्मुनियम फस्फेट घातक विषादी हो । लम्सालले भने, ‘मिलिटेन्टहरू पक्राउ पर्न थालेपछि सुसाइटका लागि यस्ता विषादी सेवन गर्छन् । उनीहरूले केको प्रयोजनका लागि राखेका हुन त्यसबारेमा बुझने काम भइरहेको छ ।’

बर्दिवासस्थित इलाका प्रहरीका डीएसपी शालिकराम शर्माका अनुसार प्रहरीले केही समयदेखि ज्ञानप्रसादको घरको गतिविधि नियाल्दै आएको थियो । सिन्धुलीमा विप्लव समूहका केही नेता, कार्यकर्ता पक्राउ परे । उनीहरूको सेल्टर पनि गौरीवासस्थित ज्ञानप्रसादकै घरमा रहेको बुझेपछि छापा मारिएको हो ।

सडक सञ्जालका कारण आवागमनमा सुविधा रहेको गौरीवासलाई विप्लव समूहले प्रान्तीय केन्द्रको रूपमा सञचालन गरेको जिल्ला प्रहरीका अर्का डीएसपी दीपक पोखरेलले बताए । बरामद दस्तावेजको आधारमा पार्टी संगठन बढाउन र सिन्धुली लगायत २ नं प्रदेशमा निर्वाचनविरोधी गतिविधि सञ्चालन गर्न गौरीवासको भौगोलिक अवस्थितिलाई प्रयोग गर्दै आएको स्रोतको भनाइ छ ।

काभ्रेमा सुरक्षा सतर्कता
काभ्रे– चुनाव बिथोल्न सक्ने आशंकामा काभ्रे प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका ४ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । मण्डनदेउपुर–१० का शंकरप्रसाद नेपाल, भोलाप्रसाद नेपाल, धुलिखेल–११ का कान्छा लामा र खानीखोला–५ का रमेश परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज राईले जानकारी दिए । उनका अनुसार सबैलाई सार्वजनिक अपराधमा मुुद्दा लगाएर म्याद थपिएको छ ।

उम्मेदवारको गाडीमा आगजनी
धादिङ– धादिङ कांग्रेसको प्रचारमा गुडेका २ वटा सवारीमा अज्ञात समूहले शनिबार मध्यराति आगजनी गरेको प्रहरीले जनायो । धुनीबेंसी नगरपालिका–५ बटारमा विदुर अकौलियाका घरमा पार्किङ गरिएका कार र जिपमा आगो लगाइएको हो । खानीखोलास्थित इलाका प्रहरीका अनुसार बा१२च १७०३ को नीलो कार र बा१२च १२७६ नम्बरको जिपमा आगजनी गरिएको हो ।

स्थानीय निर्वाचन बिथोल्ने अभियानमा लागेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ । शुक्रबार प्रहरीले महादेवस्थानबाट १२ जना कार्यकर्तालाई निर्वाचनविरोधी पर्चा, पम्प्लेट र चन्दा संकलन गरेको रसिदसहित पक्राउ गरेको थियो ।

अज्ञात समूहले गत २३ गते बिहान पनि थाक्रे –२ स्थित एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारको हाइलक्स गाडीमा आगजनी गरेको थियो । थाक्रेको घटनापछि जिल्लास्थित सुरक्षा निकायले प्रचारप्रसारमा प्रयोग भएका सवारी साधन प्रहरी चौकी नजिक ल्याएर राख्न आग्रह गरेको थियो । त्यसपछि उम्मेदवारहरूले सवारीसाधनहरू खानीखोला, वैरेनी, महादेवबेंसी, गजुरी र जोगीमारास्थित प्रहरी चौकी वरपर राख्न थालेका थिए । शनिबार मध्यरातमा आगजनी गरिएका सवारी साधन भने सडक बिग्रेकाले बाटैमा छाडिएका थिए ।

कास्कीमा पनि
लेखनाथ– कांग्रेसका तर्फबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का वडाध्यक्ष पदका उमेदवारको जिपमा आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गुञ्जमान गुरुङले प्रचारप्रसारमा प्रयोग गरेको ग१ज ६४४५ नम्बरको बोलेरो जिपमा शनिबार राति आगजनी गर्नेलाई प्रहरीले आइतबार पक्राउ गरेको जनाएको छ । उनीहरू माछापुच्छ्रेको सार्दीखोलाबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका तीन जना नेपाल कम्युनिसट पार्टी (विप्लव) का कार्यकर्ता हुनसक्ने प्रहरीले जनायो । सबै कुरा खुलिनसकेको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए । आगोले जिपको अग्रभाग डढेको छ ।

यस्तै प्रहरीले पोखरा लेखनाथ महानगरपालिका ३० र ३२ मा चुनावविरोधी गतिविधि गरेको भन्दै कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्तालाई खुदीबाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा लेखनाथ–३० बस्ने दिव्या गुरुङ, रामजी बराल र राजकुमार सुनार छन् । उनीहरूले चुनावमा भोट हाल्न नजान भन्दै प्रचार गर्दै हिँडेको प्रहरीले जनायो ।

प्रकाशित : वैशाख २५, २०७४ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?